बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सडक अलपत्र पारेको विरोधमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

सडक अलपत्र पारेको विरोधमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङको काठेखोलामा मात्रै लोकमार्गको २० किलोमिटर सडकखण्ड पर्छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

बागलुङ / मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडकखण्ड सात वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले विरोधस्वरूप सडक ठप्प बनाएका छन् । एक महिना अघिदेखि चेतावनी दिँदै आएका काठेखोला गाउँपालिकावासीले आइतबार बिहानै देखि यहाँको २० किलोमिटर खण्ड बन्द गरेका हुन् ।

स्थानीयले लोकमार्गको वैकल्पिक सडकसमेत बन्द गरेका छन् । ठाउँठाउँमा रुखसमेत ढालेर सडक बन्द गरेका हुन् । स्थानीयहरू सडकमा धर्नासमेत बसेका छन् । प्रमुख जिल्ला अधिकारी रिजालले भने सडक खुलाउने प्रयास भएको बताए । ‘सांकेतिक विरोध भएकोले केही समय पर्खेर हेरेका छौं,’ रिजालले भने, ‘मुख्यमन्त्रीको समेत ध्यानाकर्षण भएकोले छिट्टै समाधानको बाटो खोज्दैछौं ।’

बागलुङको काठेखोलामा मात्रै लोकमार्गको २० किलोमिटर खण्ड पर्छ । २६ वर्षअघि ग्रामीण सडकका रूपमा खुलेको यो सडक लोकमार्गमा सूचीकृत भएपछि झनै जीर्ण भएको हो । लोकमार्गले खनेर छाडेपछि हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने गरेको छ । यो सडकले गर्दा रुकुम पश्चिमदेखि गुड्ने सवारी र यात्रीले यो खण्डमा मात्र सास्ती भोग्ने गरेका छन् । ठेकेदारले पटक-पटक म्याद थपेर काम नगरेपछि सडक अलपत्र भएको हो ।

धुलाम्मे सडकले गाउँपालिकाका १ हजार बढी घर प्रत्यक्ष मारमा छन् भने सयौं यात्रीले दैनिक सास्ती खेपेका छन् । ‘हाम्रो पटक-पटकको अनुरोधलाई बेवास्ता गरियो,’ वडा नं ६ का अध्यक्ष बृहस्पति कँडेलले भने, ‘हामी धूलो र धुँवाले मर्ने अवस्था आइसकेपछि सडक बन्द गर्न बाध्य भयौं ।’ धुलोले ढाक्दा गाईभैंसीलाई घाँस र पानीसमेत शुद्ध खुवाउन नसकेको उनले गुनासो गरे ।

चार पटक म्याद थपेर पनि ठेकेदार कम्पनीले काम नगरेपछि सडक अलपत्र परेको हो । सदरमुकाम बागलुङ बजा देखि वडा नम्बर-६ को सुल्डाँडासम्मको १३ किलोमिटर भारत सिद्धिसाई संयुक्त निर्माण कम्पनी र सुल्डाँदादेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । सूर्य कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । रद्द भएको ठेक्का लाग्न सकेको छैन ।

पहिलो खण्डको भारत सिद्धिसाई कम्पनीको पनि अन्तिम म्याद सकिएको एक बर्ष काट्यो । २०७३ माघ १४ गतेको ठेक्काले २०७६ माघ १३ गते सक्नुपर्ने यो सडकमा ४ पटक म्याद थप गरिएको आयोजना प्रमुख कल्पना अधिकारीले बताइन् । गत वर्ष माघ १३ मा सकिएको म्यादपछि कंपनीले केही काम गरे पनि अलपत्र बनाएको हो । ‘कानुनबमोजिमका सबै म्याद थप भएर पनि काम नभएपछि रद्द गरिसकेका छौं,’ अधिकारीले भनिन्, ‘अब नयाँ ठेक्काको काम अगाडि बढेको छ ।’ अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएकोले ठेक्का लगाउन नसकिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->