बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाईसीले सहकारी पुराण गर्ने

सिवाईसीले सहकारी पुराण गर्ने


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८०, शुक्रबार

बागलुङ/ सहकारीहरुले खराब ऋण भुक्तानी गर्न के के गर्छन् होला ? पत्राचार गर्ने, भेटघाट गर्ने, सूचना प्रकाशन गर्ने र ताकेता गर्ने, नभए धितो लिलामी गर्ने । असल कामका लागि प्रवाह भएको कर्जा समयमा भुक्तानी नभए सहकारीले पुरा गर्ने प्रक्रिया अनेक हुन्छन् ।

केही समययता हरेक दिन अखवारका पानाहरु सहकारीका समस्याले भरिएका हुन्छन् । सहकारीका नाममा भएका ठगीका प्रकरणहरु सार्वजनिक भैरहेका बेला खराव मात्रै होइन, असल काम गरिरहेका सहकारीमा समेत ऋण प्रवाह, असुली, बचत संकलन सबैमा समस्या देखा परेका छन् ।

ऋणीहरुले समयमा साँवा व्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ऋणीहरुको सचेतनाका लागि सहकारी पुराणको योजना सार्वजनिक गरेको हो । ‘पुराणहरुमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अव हामिले सहकारी पुराणमार्फत् सहकारी शिक्षा प्रदान गर्ने योजनामा छौं,’ अध्यक्ष
चण्डीप्रसाद शर्माले भने ‘चलेका पण्डितहरु बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ । ’सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

सहकारी पुराण कुनै धार्मिक कार्यक्रम भन्दापनि सहकारी शिक्षाको कार्यक्रम हुने शर्माले दावी गरे । पुराणमा सहभागिताका लागि ऋण नतिर्नेहरुलाई बोलाइने छ भने अन्य शेयर सदस्यहरुलाई पनि सहभागिता गराइने छ । ‘सहकारी पुराणले ऋण नतिर्नेहरुलाई सद्बुद्धि दिने छ,’ शर्मा भन्छन् ‘नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतना मार्फत् नै ऋण भुक्तानीको बाटो खोजेका हौं ।’

सहकारी संस्थाबाट लिएको ऋण तिर्नुपदैन् भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै शर्माले कुनै एक शेयर सदस्यले लिएका ऋण अरु सयौं शेयर सदस्यको बचत भएकाले नतिरेर सुख नपाउने बताए । सहकारीले ऋण असुलीको नयाँ विधिसँगै बचतको नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ । शेयर सदस्यमा बचत गर्ने बानी विकास गर्नका लागि यो वर्ष संकल्प क्रमिक बचत कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष शर्माले बताए । न्यूनतम दश लाख पुग्नेगरी न्यूनतम ५ वर्षदेखि २० वर्षसम्मको संकल्पम बचत गर्न चाहनेलाई यो योजनामा सहभागि गराइने उनले बताए । न्यून आए भएका शेयर सदस्यहरुले मासिक बचत गर्ने संकल्प गराएर यो बचत सुरु गर्दा उनीहरु धनी बन्ने बाटो खुल्ने शर्माले दावी गरे ।

पत्रकार सम्मेलन सहकारीका सहसचिव सुवास आचार्यको सञ्चालन र उपाध्यक्ष सीता सापकोटा कँडेलको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->