
भनिन्छ, एक वर्षमै उत्पादन खोजिन्छ भने फुल रोपौं । दस वर्षका लागि सोचे अन्न रोपौं, सय वर्षका लागि सोच्नु छ भने रुख रोपौं र अनन्तकालका लागि सोच्नुहुन्छ भने बालबालिकामा विद्या रोप्नु पर्छ ।
बालबालिकाहरु भविष्यका कर्णाधार हुन् । विद्यालय उमेरका तिनै बालबालिकाहरुलाई हामी शान्ति क्षेत्रका रूपमा चिन्दछौं । किनकी बालबालिकाहरुलाई वर्तमानमा उचित वातावरण प्रदान गर्न सके भविष्यमा राम्रो प्रतिफल पाइन्छ । उनीहरुलाई देख्दा एउटा सानो व्यक्तित्व देखिए पनि कालान्तरमा देशको सर्वोच्च निकाय सम्हाल्न पुग्ने व्यक्ती उनै हुन् । अहिले उपयुक्त पृष्ठभूमिमा हुर्किन पाए र सिकाइले पुर्ण भए, देशले नै उचित निकास पाउनेमा विश्वस्त हुन सकिन्छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध सुमधुर बन्न सके उनीहरुको चौतर्फी विकासमा सहयोग पुग्छ । तसर्थ उनीहरुमा लुकेर रहेको अन्र्तनिहित क्षमताको पहिचान गरि प्रष्फुटन गराउनु हामी सबैको कर्तव्य ठर्हछ ।
बालबालिकाको पहिलो पाठशाला घर हो । पहिलो गुरु आमा हुन्छिन् । जन्मघर र जन्मदिने आमाबुबा मानसिक रुपमा स्वस्थ र शैक्षिक भए बालबालिकाको मनोभावना शुद्ध हुन्छ । जस्लाई विद्यालयको सहायताबाट परिष्करण गर्न सकिन्छ । बालबालिकाहरुको चौतर्फी विकास हुन उनीहरुलाई मानसिक रुपमा शुद्ध गराउनु आवश्यक हुन्छ । जहाँ उनीहरु हिंड्ने बाटो, उनीहरुले देख्ने परिवेश र उनीहरुले अवलम्बन गर्ने हरेक प्रकारका कार्यशैली पनि शुद्ध हुनुपर्छ । प्रेरणा र हौसलाको अभावमा उनीहरु निराश बन्छन् । तसर्थ उनीहरुको बाल्यकाल शुद्ध र उर्जाशिल बनाउन व्यक्ति, परिवार, समाज, समुदाय र सरोकारवालाहरुको भुमिका महत्वपूर्ण बन्छ । समाजले शिक्षकहरूलाई उपयुक्त वातावरण प्रदान गरेर सहयोगी बन्न सके र उनीहरुलाई प्रोत्साहन गराउन सके शिक्षकले विद्यार्थीको अबोधपनलाई परिपक्वताको मार्गमा हिंडाउन सक्छन् । समाजमा एक जना शिक्षक असल भए दश जना विद्यार्थी योग्य बनाउँछन् । तर त्यही एक जना शिक्षक खराब भयो भने विद्यार्थी मात्रै नभएर सारा समाज, समुदाय र राष्ट्र नै खराब हुन्छ । विश्व बजारमा बिक्न सक्ने प्रतिभाहरु भविष्य मात्र होइन सर्वत्र शैक्षिक विरासत नै धरासायी बन्छ । तसर्थ बालबालिकाहरुलाई उत्कृष्ट शैक्षिक परिवेश निर्माण गर्नु हामी सबैको दायित्व हुन्छ ।
भनिन्छ, एक वर्षमै उत्पादन खोजिन्छ भने फुल रोपौं । दस वर्षका लागि सोचे अन्न रोपौं, सय वर्षका लागि सोच्नु छ भने रुख रोपौं र अनन्तकालका लागि सोच्नुहुन्छ भने बालबालिकामा विद्या रोप्नु पर्छ । सरकारले अनन्तकालको मार्गचित्र कोर्छ भने देशमा व्यवहारोपयोगी शिक्षाको विगुल फुक्नु पर्छ । विगतका पिडादायी शैक्षिक गतिविधिका अगाडि वर्तमानको शैक्षिक अवस्था निकै राम्रो छ । विद्यार्थीहरुलाई आवश्यक पुर्वाधारहरु सर्वत्र पाइन्छन् । उनीहरुले आमाबुबा, घर, परिवारदेखि राज्य संयन्त्रबाट पनि उचित वातावरण पाएका छन् । तर समय जति अत्याधुनिक र प्रविधिमैत्री बन्छ । त्यति नै सेवासुविधा र चुनौतीहरु पनि थपिदै जान्छन् । हामी र हाम्रो भावीपुस्ता यसबाट बच्नु र बचाउनु आवश्यक छ । सर्टिफिकेटधारी शिक्षा र शैक्षिक मापदण्डले विश्व बजारमा बिक्न सक्ने शिक्षा नबन्ने खतरा वर्तमानमा देखिन थालेको छ । व्यवहारोपयोगी शिक्षा आजको आवश्यकता भए पनि नैतिक शिक्षाको अभावमा बालबालिकाहरुले समाज सापेक्षित शिक्षा आर्जन गर्न सकिरहेका छैनन् । सरकारको फितलो नीति, अभिभावकको कमजोर मानसिकता र शिक्षकको अन्र्तमुखी प्रवृत्तिले विद्यार्थीहरु विकृत बन्दै गएका छन् ।
हामीहरुले स्वतन्त्र रूपमा सोच्ने र गर्ने व्यवहारले पनि बालबालिकाहरुको मानसिकतामा ठूलो असर पार्छ । स्वच्छ, शान्त र भयरहित वातावरणमा समय सापेक्षित शिक्षा प्रदान गर्न सके भविष्यमा देशले कोल्टो फेर्छ नै, तर अहिले नेपालमा शिक्षा क्षेत्रलाई र विद्यालय उमेरका बालबालिकालाई सारथी बनाएर मात्रै सामाजिक, साँस्कृतिक र राजनीतिक गतिविधि सञ्चालन हुन थालेका छन् । एकाग्रतामा रहेका बालबालिकालाई फरक पृष्ठभूमिका कार्यक्रममा सहभागी गराउनु कत्तिको जायज छ ? बालमैत्री अवधारणाले पालिका र वडाका जनप्रतिनिधिहरुलाई तताइरहँदा यत्रतत्र देखापरेका बालअधिकार विरुद्धका गतिविधिले कस्तो आगतलाई स्वीकार गर्ला ? पछिल्लो समय देशैभरी सञ्चालन हुने मेला महोत्सवहरुमा विद्यार्थीहरुका पंक्तिले रङ्याइएका हुन्छन् । घरबाट पढ्न पठाइएका बालबालिकालाई आयोजकको निम्तामा धुलाम्मे सडक र ध्वनि प्रदुषणभित्र हिंड्न बाध्य पारिन्छ । अन्य दिन महंगो शुल्क तिर्नुपर्ने विद्यार्थीहरुले पहिलो दिन कार्यक्रमको शोभा बढाइदिन र भाषण सुन्न आफ्नो पढाइ छोड्नु पर्छ । जस्का कारण महोत्सवभर बालमनोविज्ञान रमाइलोमा भुलिरहेको हुन्छ । विभिन्न शिर्षकमा आयोजना हुने धनधान्याञ्चल महायज्ञमा उद्घाटन कार्यक्रमकै शोभाका खातिर दिनभरको अध्ययन कार्य अबरुद्ध पारिन्छ ।
विद्यार्थीकै खेल हुन, ‘खेल नै जीवन हो’ ‘स्वास्थ्यका लागि खेल हो’ भनेर नारा लगाउने पालिकाहरुले विभिन्न रनिङ शिल्ड प्रतियोगिताका नाममा धुलाम्मे सडक र चौरमा विद्यार्थी जम्मा गरेर शैक्षिक गतिविधिलाई नै अस्वस्थ बनाइरहेका छन् । आफ्नो रवाफ देखाउन खेलको संसारभन्दा बाहिर रहेका खेलमा रुचि नराख्ने बालबालिकालाई खुल्ला मैदानमा उभ्याउनु कत्तिको जायज छ ? यस्तै वडा र पालिकाहरुले आयोजना गर्ने विविध कार्यक्रमहरुका ¥यालीहरुमा विद्यार्थी उपस्तिथिलाई अनिवार्य ठान्न थालिएको छ । समाजमा रहेका आमासमुह, संघ संस्थाहरुले सरसफाइ कार्यक्रम आयोजना गरेको सिको गर्दै सार्वजनिक स्थानहरूको सरसफाइमा विद्यार्थीको प्रयोग हुनु अस्वाभाविक छ । यस्ता कार्यक्रममा विद्यार्थीलाई उपस्थित गराउनु गलत होइन, तर विद्यालय उमेरका बालबालिकाहरुलाई कोठा, घर र विद्यालय परिवेश सफा गर्न लगाउनु पर्छ । यसरी सार्वजनिक कार्यमा लगाउँदा उनीहरुको मनस्थितिमा ह्रास आउने सम्भावना हुन्छ भने निरन्तरको अध्ययन कार्यमा अवरोध सिर्जना हुन्छ । सामाजिक संघ संस्थाहरुले प्रारम्भ गर्ने प्रभातफेरी, जातिगत पहिचान र विभिन्न दिवसका अवसरमा आयोजना गरिने जातिय ¥यालीबाट फर्किएका बालबालिकाले पनि अध्ययनमा मन लगाउन नसक्ने निश्चित छ । सम्झौँ त हाम्रो मनोभावनामा स–साना कुराले कत्ति प्रभाव पार्छ । बिहानदेखि बेलुकीसम्म हुने सुक्ष्मातिसुक्ष्म घटनाहरुले हाम्रो मनलाई कति अस्थिर बनाउछ । बिहानको घटनाले दिनभर उदास मन लिएर हिंड्नुपर्छ भने बेलुकीको कुनै गल्तीले रातभर निद्राबाट टाढिनु पर्छ । यसरी नै यी बालशुलभ मन र अबोधपनमा उल्लेखित कार्यक्रमले कति प्रभाव पार्छन् होला ? के सामाजिक सचेतना भनेर आयोजित कार्यक्रममा पुस्तक बोकेका विद्यार्थीलाई उभ्याउँदैमा उनीहरु सचेत बन्लान् ? या भरपुर मनोरञ्जन र बाहिरी वातावरणमा भ्रमित मात्रै होलान् ? विचार गरौं त ।
कतै कतै त राजनैतिक कार्यक्रममा पनि विद्यार्थी सहभागीता भनेर समाचार आउँछन् । पार्टीको झण्डा मुनि आवद्ध भएर निरसिला भाषण सुन्ने विद्यार्थीको भविष्य के होला ? पहिले पहिले भाषण सुन्न मानिसहरू जाने गर्थे । राजनैतिक होस् या गैर राजनैतिक विशिष्ट व्यक्तिहरुका भनाइहरु प्रेरित हुन्थ्ये । मानिसहरूले रुचाउँथे । तर वर्तमानमा विदेश मोहले एक त गाउँ ठाउँ र सहर बजारमा मानिसहरुको उपस्थिति न्यून छ । तसर्थ पनि बालबालिकाहरुको निश्कलङ्क मनलाई प्रयोग गरेर ठुलाबढाहरु रमाउने वातावरण सिर्जना भईरहेका छन् । विद्यार्थीहरुको जत्थामा भाषण गरेर होइन उनीहरुलाई माया, ममता र हौसला प्रदान गरेर उनीहरु सिर्जनाहरु फुल्ने अवसर प्रदान गर्नुपर्छ । हुनतः नेपाल यस्तो देश हो जहाँ गरिब जनताको ढाड सेक्ने गरी बढाइएका पेट्रोल, डिजेल र ग्यासको मुल्यमा असहमति जनाएर विरोध गर्न विद्यार्थी चाहिन्छ । लाखौं खर्चिएर निर्माण गरिएका चलचित्रहरुको विज्ञापन र प्रदर्शनमा समेत विद्यार्थी प्रयोग गर्न थालिएको छ । फिल्म हलमा चलाउन सके चलचित्र नसके विद्यार्थीलाई फाइदा हुने डकुमेन्ट्री भनेर तिनै विद्यार्थीको भविष्यमाथी खेलबाड गरिन्छ । राम्रो, सामाजिक विकृती, विसङ्गती र विद्यालय उमेरका बालबालिकामैत्री छ भन्दिए भैगो, हेर्नै पर्ने, अभिभावकले लगानी गर्नै पर्ने अनौठो छ ।
यस्ता विविध प्रकारका कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुमा तत्कालका लागि उर्जा भरिए पनि दीर्घकालीन असर अवश्य हुन्छ । निरन्तरको अभ्यासबाट सिकारुहरुको सिकाइले पुर्णता पाउँछ । तर विभिन्न सभा समारोहमा केही समय रमाएका र पुलकित बनेका बालबालिकाहरुले तत्कालै पढाइमा ध्यान केन्द्रित गर्न असम्भव नै हुन्छ । सबै ठाउँमा विद्यार्थी खोजी रहँदा उनीहरुको पढाइमा असर अवश्य गर्छ । तसर्थ यी र यस्ता गतिविधिबाट विद्यार्थीलाई बाहिर ल्याउनु नै आजको आवश्यकता हो भने बालमैत्री अवधारणाले पनि बालबालिकालाई अधिकार गराउनु पर्नेमा जोड दिन्छ । तसर्थ बालबालिकालाई प्रयोग गर्नुपुर्व उनीहरुको मनोभावना र मनोविज्ञानलाई बुझ्न जरुरी छ । सम्मीलित गराउनु नाजायज अवश्य होइन परन्तु कार्यक्रमहरु फाइदामुखी बनुन् ताकी विद्यार्थी, अभिभावक र शिक्षकले चुनौती महशुस नगरुन् ।




