बागलुङ, १३ फागुन– जिल्लामा दादुरा रुबेला बिरुद्धको खोप अभियान शुरु भएको छ । प्रकोप नियन्त्रण र न्युनिकरणका लागि बागलुङका २० हजार बालबालिकालाई यो खोप लगाउन थालिएको हो । आइतबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले धौलागिरि अस्पतालमा आयोजित एक कार्यक्रममा खोप अभियानको शुभारम्भ गरिन् ।
सन् २०२६ भित्र सरकारले दादुरा रोग निवरण गर्ने लक्ष राखेको छ । तर महामारीको रुपमा रोगको संक्रमण देखिने र छिटफुट रुपमा रोगबाट बिरामीको मृत्यु समेत हुने गरेकोले खोप अभियान थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
आइतबारदेखि बुधबारसम्म बागलुङ, जैमिनी र गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकामा खोप लगाइने छ । फागुनको २४ गतेदेखि चैतको ४ गतेसम्म ढोरपाटन नगरपालिकासहित निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा खोप लगाउने आचार्यले बताए । २० हजार ४ सय २४ बालबालिकााई खोप लगाउन झण्डै ८ सय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । त्यस बाहेक ९६ जना चिकित्सक, प्रशासक, सुरक्षा अधिकृत समेतले खोपको अनुगमन गर्नेछन् ।
यसअघि नियमित खोप अभियानमा गत बर्ष १० जना बालालिकाले कुनै पनि खोप नलगाएको भेटिएको थियो । त्यसबाहेक कुनै न कुनै खोप नपुगेका बालबालिका ६ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ





