पोखरा / पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्धेश्यले केन्द्र स्थापना गरेको हो ।
अघिल्लो पाँच वर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गरिन् ।
उनले स्थानीय तहका विवादमा सिधै अदालत पुग्दा पैसा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलापमार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भूमिका खेल्ने बताइन् ।
न्यायिक समितिका सदस्य कालिदास पोखरेलले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए ।
वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदासले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताए । न्यायिक समितिले महागनरका ३३ मध्ये चार वडामा मेलमिलाप केन्द्र स्थापना हुुन सकेको थिएन ।





