बागलुङ/छिमेक लघुबित्त बित्तीय संस्था बागलुङद्वारा आयोजित तीन दिने अचार बनाउने तालिम शनिबार सकिएको छ । तालिममा शाखाका करिब ३७ जना ग्राहक सदस्य तथा अभिभावक सहभागी भएका थिए ।
तालिममा गाउँघरमा उपलब्ध माछा तथा मासु, च्याउ, अकबरे खुर्सानी, अमला, लप्सी, गुन्द्रुक र भटमासरबदामको अचार बनाउन सिकाईएको थियो । छिमेक लघुबित्त बित्तीय संस्था बागलुङका शाखा प्रबन्धक सरोज अधिकारीका अनुसार, तालिममा अचार प्याकिङ, लेबलिङ गरी सिल गर्न र मूल्य निर्धारण तथा बिक्रीवितरण गर्ने कला सम्बन्धि जानकारी गराईएको थियो ।
तालिमको अवलोलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायले स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीलाई सदुपयोग गर्न सके रोजगारीका लागि भौतारिन नपर्ने धारणा राखेका थिए ।
लघुवित्तले उद्यमशिलतातर्फ अग्रसर गरेकोप्रति प्रशंसा गर्दै नगरप्रमुख श्रेष्ठले उद्यममा लाग्ने जो–कसैलाई सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्वता समेत जनाएका थिए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै श्रेष्ठले भने, ‘कार्ययोजना बनाई योजना तर्जुमा गर्नु अगावै नगरपालिकामा बुझाउनुहोला ।’
तालिममा सहभागी बिजया लक्ष्मी निउरे उपाध्यायले तालिम फलदायी बनेको बताउँदै तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सम्पुर्ण सहभागीलाई आग्रह गरेकी थिइन् । तालिमको सहजीकरण नवलपुरकी महिला उद्यमी बसुन्धरा सुबेदीले गरेको र समापन कार्यक्रमको संचालन विष्णु न्यौपानेले गरेको संस्थाका अध्यक्ष अधिकारीले जानकारी थिए ।





