नेपालको सुप्रसिद्ध पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको छुट्टै रौनकता छ । परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूका पावन संकल्पमा देवदेश श्रीनेपालकै इतिहासमा पहिलो पटक यस महायज्ञको आयोजना गरिएको हो । फाल्गुण ९ गतेदेखि पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा विशेष धार्मिक अनुष्ठानका साथमा भजनकृतन, धान्यमौलो पुर्ण गर्ने नवीन कार्य, विविध राष्ट्रिय सम्मेलनहरु र शालिग्रामको चर्चासहित गण्डक क्षेत्रको महत्वलाई प्रकाश पारिदै आइएको छ । अनन्त श्रीब्रह्माण्डीय महायज्ञमा देशका विभिन्न क्षेत्रबाट भक्तजनहरुको बाक्लो उपस्थिति भईरहेको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको यस स्थानले स्वामी कमलनयनाचार्यको समसाथ र सत् प्रेरणा पाएको छ । जसको कारण देशविदेशमा यस भुमिले चर्चा कमाउन सफल भएको छ । वैदिक सत्य सनातन धर्ममा आस्था राख्ने विविध सम्प्रदायका भक्तजनहरुलाई जोड्ने सेतुको कार्य यस महायज्ञले गरेको छ । भने समुदायमा रहेका संघसंस्था, क्लबहरु र आमा समुहहरुलाई एउटै सुत्रमा आबद्ध हुने अवसर पनि प्रदान गरेको छ । जसबाट धार्मिक र साँस्कृतिक एकताको सन्देश प्रवाह भएको पाइन्छ ।
यतिबेला पन्चकोटको महायज्ञ विशेष सामग्रीले देशका धेरै स्थानहरु ओगटेका छन् । शहर बजारदेखि गाउँ गाउँसम्म गठित महायज्ञका समितिहरु, धार्मिक अभियन्ताहरुको मनोभावना र श्रद्धालु भक्तजनहरुको मनमस्तिष्कमा महायज्ञ सफलताका लागि दान र सहयोगका भावनाहरु जागृत भएका छन् । देशका विभिन्न स्थानबाट सहभागी भक्तजनहरुको उपस्थितिले बागलुङ बजारक्षेत्र र महायज्ञस्थल भरिभराउ छ । गण्डकी प्रदेश सरकारको सदाशयता र समर्थनमा विशिष्ट व्यक्तिहरुको आवागमनले कार्यक्रम स्थलको सौन्दर्यात्मकतामा थप हौसला मिलेको अनुभव गर्न सकिन्छ । महायज्ञ स्थलको वस्तुस्थिति, स्वयंसेवक परिचालन र भक्तजनहरुको स्वागत सम्मान जस्ता व्यवस्थापकीय पक्षमा देखिने सौहार्दताले मन नै फुरुङ्ग हुने देखिन्छ । भक्तजनहरुको सहजताका लागि दैनिक सामूहिक भोजनको व्यवस्थापन गरेर आयोजकले निकै ठूलो पुण्यको कार्य अगाडि बढाएको देखिन्छ । दैनिक जसो महायज्ञमा उपस्थित हुने हजारौं मानिसहरुलाई आवश्यकता अनुरुप फलफूल, भोजन, आवास, चिया र खाजाको व्यवस्थापन गर्नु त्यति सजिलो होइन नै, तथापि भगवानको अनुकम्पाबाट स्वामीज्यूको सत् संकल्पद्वारा सबै सबैमा भोजन गराउन सफल भएको पाइन्छ भने महायज्ञको अन्य वस्तुस्थिति हेर्दा साँच्चिकै स्वर्गीय आनन्द अन्त कतै छ भने त्यो कल्पनाभन्दा बाहिर हुने देखिन्छ । तसर्थ ‘एक पटक पुगौं, यसै पटक पुगौं ।। दान गरौं, पुण्यार्जन गरौं ।।’
घरघरबाट उठौं, महायज्ञमा सहभागी बनौं, समृद्धिको परिकल्पनामा जुटौं । यज्ञमा तन, मन, धन र वचनले सहयोग गरौं । राष्ट्रोन्नती, आर्थिक वृद्धि, कालीगण्डकी र शालिग्रामको संरक्षण, पर्यटकीय गन्तव्यको प्रचारप्रसार र समग्र विश्वशान्तिको कामना गरौं । विश्व जलसम्पदा संरक्षणको प्रतीक स्वरुप निर्माणाधीन १५५ फिट अग्लो विशाल श्रीविश्वशान्ति गण्डकी कलशको निर्माण कार्यमा सहयोगी बनौं । यस क्षेत्रको धार्मिक र साँस्कृतिक महत्वलाई प्रकाश पार्ने मुल उद्देश्यसहित विश्वको ध्यान नेपालतर्फ आकृष्ट पार्न यो कार्य महत्वपूर्ण मानिएको छ । गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य एवं यस पावन भूमिको महत्वलाई विश्वभर रहेका मानवहरु समक्ष पुर्याउन यो कार्य उत्कृष्ट छ । धार्मिक महा उत्सवका रूपमा सञ्चालित यस महायज्ञमा व्यास गुरुहरुका मुखारविन्दबाट भगवानका गुणानुवादहरु श्रवण गर्न पाइन्छ । महायज्ञमा २५ फिट अग्लो धान्यमौलो (प्रतिष्ठित पञ्चश्री स्वर्णस्तम्भ) मा २१ हजार ५ सय ५५ संकल्पकर्ताहरुबाट प्रतिव्यक्ति १ क्वीन्टलका दरले धान अर्पण भइरहेको छ । धान्याचलको चारैतर्फ नवकन्याहरूको उचाई बराबरका मौलाहरू राखिएको छ । ती नवदुर्गा प्रतीक मौलाहरू नवधान्यले पुर्ण गराइने भएको छ ।
महायज्ञको अर्को आकर्षणका रुपमा विशाल होम कुण्ड रहेको छ । जहाँ हजारौं श्रद्धालु भक्तजनहरुबाट संकल्प गराई श्रीपञ्चमहालक्ष्मी मातालाई प्रशन्न तुल्याई राष्ट्रको उन्नति, आर्थिक विकास, वायु प्रदुषण न्यूनीकरण, जलसम्पदाको संरक्षण, विश्व शान्तिको सन्देश प्रवाह, वैयक्तिक कार्यसिद्धिका लागि जडिवुटी, वनौषधी, नवधान्य, सप्तरस, पञ्चमेवा, पञ्चामृत, पञ्चपुष्प आदि ५४ प्रकारका हवनीय द्रव्यहरू राखि नरिवल होम गरिदै आइएको छ भने सर्वकार्यसिद्धिका लागि पञ्चकुण्डात्मक होमको पनि व्यवस्था गरिएको छ । जस्मा धूपी, चन्दन, देववृक्षका समीदामा–खीर, कुराउनी, पञ्चमेवा र घ्यू–मह–चरुद्वारा विशेष होम भइरहेकोे छ ।
आत्मसम्मानका लागि राष्ट्रसम्मान, नेपालीको टोपी नेपालको शान इतिहास रचौं ! आँट गरौं, विश्वमा नेपालीको टोपी प्रचार गरौं ।। भन्ने नाराका साथ नेपाली टोपी स्वर्ण दान गर्ने अवसर पनि महायज्ञमा प्रदान गरिएको छ ।
यस दानमा यज्ञ स्थलमा उपलब्ध नेपाली टोपीको तौल बराबरको स्वर्ण मूल्य दान गर्नु अनिवार्य रहन्छ । सुन, चाँदी, काँच, पित्तल, राङजस्ता, फलाम, तामा आदि अष्टधातु बराबरको आफ्नो तौललाई महातुला दानको मान्यताअनुसार भक्तजनहरुले आफ्नो इच्छा एवं सामथ्र्य अनुरुप दान गरेर पुण्यार्जन गर्न पाउने छन्भने आफ्नो तौल बराबरको तेल, द्रव्य, अन्न, वस्त्र, घ्यू, चिनी, मिस्री, मह, नरिवल, फलफूल र पञ्चमेवा जस्ता वस्तुहरुलाई पनि तुलादानको रुपमा ग्रहण योग्य मानिएको छ । त्यसै गरेर भूमिदानका लागि भुमिको उचित द्रव्यमान दान गर्न पनि श्रद्धालु भक्तजनहरुमा अपील गरिएको छ ।
विश्वमै दुर्वल रुपमा आयोजना हुने यस किसिमको ब्रह्माण्डीय महायज्ञको पावन अवसरमा सवा ५ करोड दीप–प्रज्ज्वलनसहित ४ वेद, १८ पुराण, श्रीरामायण, श्रीमहाभारत, श्रीभगवद्गीता, उपनिषद् लगायत अन्य पौराणिक ग्रन्थहरुको पाठ–परायण हुनेछन् । तसर्थ ब्रह्माण्डमा रहेका र पुजाअर्चना गरिदै आइएका देवीदेवता, नदी, तीर्थ, पितृपुर्खाको सम्मानका लागि यस धार्मिक कार्यमा सहभागी हुन पनि अनुरोध छ । श्रीपञ्चमहालक्ष्मीमाता श्रीमुक्तिनाथ भगवान्, गण्डकी माताका साथै आ–आफ्ना ईष्टदेव, कुलदेवको प्रसन्नता र मुक्तिका लागि आआफ्नो तर्फबाट सक्दो पाठ, स्तुति, जप, ध्यान, स्नान र दान गर्न सर्वत्र खुल्ला रहने यस महायज्ञ स्थलमा विशेष आकर्षणका रूपमा भजनकृतन प्रवचनसहित विविध राष्ट्रिय विकासका सम्मेलनहरू समेत आयोजना गरिदै आइएको छ । जसमा उर्जा विकास, शिक्षा प्रणाली, न्यायिक पद्धति, आत्मनिर्भरतामुखि कृषि, अर्थतन्त्रको विकास, समावेशीताको सिद्धान्त, समाजसेवा र समाजसेवीको प्रभावकारिता, पत्रकारिता, सुशासन लगायतका विविध पक्षमा हुने राष्ट्रिय विकासका सम्मेलनमा सहभागि बनौँ भन्ने नारा पनि यस महायज्ञले समेटेको छ ।
ब्रह्माण्डीय महायज्ञ तथा राष्ट्रिय विकास सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्नुहुन सबैमा अपिल गर्दछौँ । सेवा गरौं ! सुखी बनौँ ! भन्ने महामन्त्र सहित यस महायज्ञमा आउनुहुने भक्तजनहरुको सेवार्थ खाद्यान्न, फलफूल, तरकारीलगायत उपभोग्य वस्तु एवं आवासीय सामाग्रीहरु उपलब्ध गराएर पुण्यार्जन गर्नुहुन अनुरोध गरिएको छ ।
समग्र नेपाल र नेपालीहरुको पहिचान बन्न सक्ने यो भुमी आफैमा देवभुमी हो । सर्वसिद्धिधामका रुपमा परिचित यस भुमीमा दस वर्षको अन्तरालमा अहिले अनन्तश्री ब्रहमाण्डिय महायज्ञको आयोजना गरिएको छ । महायज्ञमार्फत कालीगण्डकी र त्यहाँ पाइने शालिग्रामको संरक्षण, प्रचारप्रसार, मुस्ताङको दामोदर कुण्डदेखि त्रिवेणी धामसम्मको देवभुमिको धार्मिक महत्वको खोजी गर्ने र तत् सम्बन्धि विषयमा सबैको ध्यान आकृष्ट पार्न महत्वपुर्ण योगदान रहने छ ।
आन्तरिक रुममा नवनिर्मित भौतिक संरचनाको सम्पन्नता र निर्माणाधीन शान्ति कलशको पुर्णताका लागि श्रद्दालु भक्तजनहरु, दानदाता, संघसंस्था, प्रदेश र संघीय सरकार प्रमुखहरूलाई समेत तन, मन र धनले सहयोग गर्न आग्रह गरिएको छ । महायज्ञको माध्यमबाट सामाजिक, धार्मिक र साँस्कृतिक एकता, सामाजिक सद्भाव, विश्वशान्ती, राष्ट्र उन्नती र मानव रक्षाका लागि एकजुट हुन सहयोग पुग्ने छ । भने, समग्र विश्व ब्रह्माण्ड, नेपाल भुमी, गण्डकी प्रदेश, धौलागिरी अञ्चल र बागलुङ जिल्लाको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रर्बद्धन, आर्थिक विकास र सम्बृद्धिको लागि पनि यो कार्य अतिफलदायी हुने छ । लक्ष्मिको प्रसन्नताबाट आर्थिक क्रियाकलाप सहज हुने धार्मिक र पौराणिक मान्यता अनुसार समग्र ब्रह्माण्डसहित बागलुङको उद्योग, व्यापार व्यावसाय र अर्थतन्त्रमा सहयोग पुग्ने यो कार्य आजको आवश्यकता पनि हो । जस्का लागि आआफ्नो स्थानबाट यो पुण्य कर्ममा सहभागी बनौं । पुण्यार्जनका साथै समग्र ब्रह्माण्डको उन्नति र शान्तिका लागि प्रार्थना गरौं । जयश्री मु्क्तिनाथ ।





