म्याग्दी/उद्योग वाणिज्य संघ म्याग्दीमा सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
आइतबार राती सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवाल, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, द्धितिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ, सचिब मोतिलाल पौडेल, सहसचिव टेकप्रसाद सापकोटा र सहकोषाध्यक्ष बाबुराम आचार्य चयन भएको मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले बताए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका थिए । सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै श्रेष्ठले संस्थाको नीतिनियम अनुसार उद्योगी व्यवसायीको हकहित र सुरक्षासँगै संस्थाको गरिमा बढाउने गरी काम गर्ने बताए ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, जीवनबहादुर विश्वकर्माले बधाई ज्ञापन गरेका थिए । निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्षलगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना गरेका थिए ।





