पोखरा/कास्की प्रहरीले पोखरामा कास्कीमा मोडिफाइ (स्वरुप परिवर्तन) गरी चलाएका ६ सय ८१ मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगो निकाल्ने बनाइएका मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले भदौ २५ गतेदेखि आइतबारसम्म गरी सात महिनाको अवधिमा सो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको हो । यस्तै कारवाहीमा परेको ती मोटरसाइकलहरुबाट ७ लाख ४२ हजार ७ सय रुपैयाँ जरिवाना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । उनका अनुसार फागुन १७ देखि २० गतेसम्म कडाइका साथ चेकजाँच गर्दा ५९ वटा मोटरसाइकल मोडिफाइ गरेको भेटिएको थियो ।
प्रहरी प्रमुख थापाका अनुसार पहिलोपटक मोडिफाइ भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाइनेछ । तर, यसअघिसमेत कारवाहीमा परेकालाई भने यातायात कार्यालयमा थप कारवाहीका लागि पठाउने थापाले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाइने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी, पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ । मोटरसाइकल मोडिफाइ गराउने वर्कसपलाई वान्टेडको सूचीमा राख्ने तयारी पनि भइरहेको छ ।





