बागलुङ/धौलागिरि एकीकृत ग्रामीण बिकास केन्द्र (डिआइआरडिसी) ले विभिन्न प्राविधिक सिकाइअन्र्तगत तीन प्रकारका तालिम शुरु गरेको छ ।
युवालाई स्वदेशमै रोजगार बनाउने, उनीहरुको सीपको सम्मान गर्ने र उत्पादित सामाग्रीको बजारीकरण समेत गर्नेगरी संस्थाले हरेक ४ महिनामा तालिम संचालन गर्दै आएको छ ।
बुधबार बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले सीमपूलक तालिमको उद्घाटन गर्दै सीपमूलक तालिम सहितको शिक्षा बिना अबका बिद्यार्थी बजारमा बिक्न नसक्ने बताए । उनले शिक्षाको लगानी कमजोर हुनुमा प्राविधिक ज्ञान कमी भएको बताए । उनले आगामी दिनमा शिक्षामा बढाइने लगानीबाट प्राविधिक क्षेत्रमा लगाउनुपर्ने सुझाव समेत दिए ।
तालिमका लागि लग्जेम्बर्सबाट आएका बेन्जामिन ड्याकपले अहिलेसम्म डिआइआरडिसीले गरेको कामबाट सन्तुष्ट भएको बताए । उनले सही स्थानमा लगानी परेकोमा खुसी व्यक्त गरे ।
डिआइआरडिसीका अध्यक्ष केवी रानामगरको अध्यक्षता, भूपाल चालिसेको संचालन र शालिकराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा लग्जेम्बर्सकै तासा, पूर्व बिद्यार्थी बिपना बिक र तालिमका लागि आएकी बहिरा बिद्यार्थी होसन अलीले धारणा राखेका थिए ।
४ महिनासम्म चल्ने मेटल वर्क तालिममा १५ जना, इलेक्ट्रीसियन तालिममा १५ जना र टेलरिङमा ३२ जना सहभागि छन् । तालिममा सिलाइतर्फ पार्वती परियार, इलेन्ट्रीसियनतर्फ मुकुन्द पौडेल र मेटलवर्क तर्फ दिनेश बिकल्पले प्रशिक्षण गर्नेछन् ।





