पोखरा/कास्कीको पर्यटकीय गाउँ धम्पुसमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । मिलन युवा क्लबको आयोजनामा माछापुच्छे्र गाउँपालिका ७ मा रहेको मिलन युवा क्लबले बुधबारदेखि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ललित पुनले जानकारी दिए । गाउँका युवा युवतीहरलाई ककीकृत गर्दै सामाजिक , शैक्षिक र आर्थिक स्तरवृद्धि गराउन सचेतना जगाउने उदेश्यका साथ धम्पुस उत्सव गर्न लागिएको पुनले बताए ।
अन्तर कास्की जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमीफाइनलमा हार व्यहोर्ने दुई टिमलाई समान १०÷१० हजार रुपैयाँ प्रदान गरिनेछ ।
क्लब स्तरीय महिला भलिबल प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले २५ हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रौढ भलिबल प्रतियोगिता (३५ वर्षमाथि) को विजेताले खसी र दोस्रो हुनेले बोका प्राप्त गर्नेछन् । भलिबलको पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन भने, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन ।
यस्तै सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० र तेस्रोले पाँच हजार रुपैयाँको साथमा मायाको चिनो प्राप्त गर्नेछन् ।
पुरुष रक्काकसीको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ तथा छेलो प्रतियोगिताको विजेताले पाँच हजार र उपविजेताले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियागिताको मुख्य इभेन्ट पुरुष वडा स्तरीय भलिबलमा २५ टिमको सहभागिता रहने अनुमान गरिएको छ । चार दिनसम्म चल्ने धम्पुस उत्सवमा ९ लाख २० हजार आम्दानी र ८ लाख ९४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगितालाई माछापुच्छे्र गाउँपालिका वडा नम्बर ७ ले आर्थिक सहयोग गरेको छ ।




