प्राणी भन्नाले पृथ्वीमा जन्म लिएर प्राण धारण गरेका भन्ने बुझिन्छ । श्वास फेर्ने सबै प्राणीलाई सजिव प्राणी मानिन्छ । तिनै प्राणीहरुमध्ये अत्यन्त विवेकशील र पराक्रमी प्राणीमा मानव जातिलाई लिइन्छ । त्यही जातिले पालन वा धारण गर्ने धर्म नै मानव धर्म हो । मानवले आत्मानुशासनको पालन गरेको अवस्थामा मानवताको जग बस्दछ । अन्यथा मानव धर्म नै संकटग्रस्त बन्दछ । मानव जाती संसारमा विजय प्राप्त गर्न जन्मिएको हो भन्ने आवास वर्तमानका मानवीय क्रियाकलाप र उन्नतिका बाटाहरुले संकेत गर्दछन् । मानिस आफू महान बन्ने नाममा आफ्नै वर्ग र समुदायलाई विभिन्न खण्डमा विभाजन गरेको पाइन्छ । मानिसले आफ्नो वर्चस्व प्राप्तिका लागि कहिले धर्मको नाम लिए त कहिले, राजनैतिक, भौगोलिक र जातिगत आधारमा समाजलाई विभक्त गरे । उदाहरणको लागि अहिले आफू ठुलो, महान अनि शक्तिशाली बन्नको लागि यो पार्टी वा त्यो पार्टी भनेर जनतालाई विभाजन गरेर आफू अनुकुल ल्याउने राजनैतिक प्रवृत्ति छ । हो त्यही प्रवृत्ति परापुर्व कालमा देखिएको हुनुपर्छ । किन कि संसार (पृथ्वी) को उत्पत्ती र विकासक्रममा एक मात्र चेतना, विवेक र ज्ञानले पूर्ण प्राणी मानिस थियो । कालान्तरमा मानिसले मानिसमाथी नै शासनको रुप लिएर समाजलाई विभाजन गरेको थियो भन्ने आँकलन गर्न सकिन्छ । जस्तो अहिले राजनैतिक नेताकार्यकर्ताहरुले कांग्रेस, एमाले, माओवादी भनेर छुट्टाछुट्टै झुण्ड बनाएका छन् । हो त्यस्तै झुण्ड एवं धार्मिक सम्प्रदाय स्थापना गरेर तत्कालीन समाज अघि बढेको स्पष्ट हुन्छ । किनकि अहिले विश्वमा देखिएका र स्थापना भएका धार्मिक सम्प्रदायहरुको मुल सार सत्य, न्याय र कर्तव्यनिष्ठतामा आधारित छन् ।
मानिसहरु वर्तमानमा हिन्दु, मुस्लिम, कृश्चियन, बुद्धजस्ता धर्मलाई अवलम्बन गरेर शान्ति, न्याय र सफलताको मार्ग खोजी रहेका छन् । मानिस स्वयंलाई थाहा छैन कि आफू प्रसन्न रहदा भगवानले के खान्छन् । कस्तो रुप धारण गर्छन् । मानिसलाई त यत्ती मात्र ज्ञात छ मेरो दुख र पिरको बाटो पन्छाएर सफा मार्ग देखाउनु ईश्वरको कर्तव्य हो । तथापि मानिस यतिसम्म अन्धो बनिरहेको छ कि, धर्ममा जहाँ आफ्ना हजारौं कुकर्मको दोष एक पलको ढोगभेटमा शुद्धीकरण होस् । र, आफ्नो जीवन सफल बनोस् । तर आफ्ना निजी स्वार्थ पूरा भएपछि भगवानको लय वा विलय जे–सुकै होस् । के मानिसले गरेका सम्पूर्ण कुकृत्यको निर्मूल पार्ने निकाय मठमन्दिर र देवालय हुन् ? या यी शक्तिपिठहरु शान्तिका पर्याय हुन् ? यस्मा पनि दुई मत अवस्य छ । शान्ति प्राप्त गर्ने उपयुक्त स्थान देवालय हुन भने उनै देविदेवताका सान्निध्यमा धर्मका नाममा हुने द्वन्द र काटमारलाई भगवानले कुन रुपमा लिन्छन् ? यसर्थ धर्म स्वयं प्रगतिको मार्ग होइन प्रगतिपथको निराकार रुप मात्र हो । यो साधन नभएर साध्य हो । यस्ले प्राणीहरुले आफ्नो जीवनकालमा गर्ने नराम्रा कर्म र भावहरुमा शुद्धता ल्याएर नयाँ र सकारात्मक आदतहरुको विकास गराउँछ तसर्थ धर्मलाई धारण गर्नुपर्ने सन्देश नीतिशास्त्रमा उल्लेख छ । मानिसले हिन्दु, मुस्लिम र इसाई जुनसुकै धर्म अवलम्बन गरे पनि धर्म आफैमा खराब हुदैनन् । धर्म त्यतिवेला खराब हुन्छ, जत्तिबेला धारण गर्ने व्यक्ति खराब बन्छ । र, धर्मको अपव्याख्या गर्दछ । उदाहरणको लागि आफैले धारण गरेको वस्त्रको इज्जत मेटाउनु वा वस्त्रमाथी स्वयं आक्रमण गरि आफू निर्वस्त्र बन्नु नै धर्म विरोधी बन्नु हो । हामी नीतिशास्त्रहरु पढ्छौं, कथा प्रवचनहरु सुन्छौं, त्यतिबेला धर्मको अधिनमा रहेर आफ्नो जीवन चलेकोमा विश्वस्थ हुन्छौं । हो त्यही समयमा पूर्णतः शान्ति पाएको अनुभुती गर्छौं । सांसारिक माया मात्र केहि समयलाई बिर्सिदा त अथाह शान्तिका भावहरु प्राप्त गरिन्छ, भने एउटा सफल, योग्य र वैज्ञानिक धर्मको अनुशरणबाट अवस्य पनि शान्ति पाइन्छ ।
विश्वमा अनुकरणीय बनेका धर्महरुको मुल सन्देश निराकार परमात्मामा आस्था राख्नु, अनुशासित र सद्भावपुर्ण जीवन ज्यूनु हो । धर्म, अर्थ, काम, मोक्षको शक्ती सामथ्र्यतालाई अंकमाल गरि सत्य, निष्ठा, न्याय र कर्तव्य परायणताको मार्गमा हिंड्नु नै धर्मको अनुकरण गर्नु हो । धर्म बिना मानिसको मनमा दया, माया, करुणा एवं मैत्री भाव उत्पन्न नहुने भएकाले यी भावहरुले स्पर्श गरेका तमाम मनहरु एउटै जाती र धर्मका प्राणी हुन् । त्यसैले संसारमा न त जातहरु फरक छन् न धर्म, मैथुनिय धर्ममार्फत सृष्टिक्रम चलाउनको लागि पुरुष र महिलालाई दुई जातमा विभाजन गरिएको भएता पनि निराकार परमात्मा एवं ईश्वरमा आस्था राख्ने र आफूले गरेका कर्ममा सत् असत् पहिचान गर्न सक्ने प्राणी नै विश्व ब्रह्माण्डमा एक जात रहेको कुरा स्पष्ट हुन्छ । भने धर्ममा पनि भेद छैन । सबै धर्मको मर्म एउटै हुन्छ । फरक त बनाइएको र मानिएको हो । धर्मले मानिसलाई कहिल्यै भिन्न देख्न सक्दैन ।
विश्वमा रहेका प्रमुख धर्म र तिनका धर्म ग्रन्थहरुमा भगवानको भेद छैन । मुस्लिम धर्मावलम्बीको प्रमुख धर्मग्रन्थ कुरान, इसाईको बाइबल र हिन्दुको गितामा अभिव्यक्त सार एउटै छ । धर्महरुमा सबै भन्दा धेरै देवता भएको धर्म हिन्दु हो । त्यसैले यस धर्मलाई बहुल देवतावादको संज्ञा दिइन्छ । यस धर्मलाई अनगिन्ती देविदेवताको शक्ति भएको धर्म मानिन्छ । धार्मिक अभियन्ता र विद्वानहरुले यी अनगिन्ती देवताहरुलाई छुटाछुट्टै विभागका विभागीय प्रमुखको संज्ञा पनि दिने गरेका छन् । यसरी हिन्दु धर्मावलम्बीहरुले तेत्तीस कोटि देविदेवता र तिनका असंख्य अवतारमा विश्वास राख्छन् । कोहि हिन्दुहरुले केवल एक मात्र ईश्वरको पूजा अर्चना गर्नुलाई प्रमुख कर्तव्य ठान्छन् । हिन्दुहरुले यस चराचर जगतमा उत्पन्न भएका हावा, पानी, ढुङ्गा, माटो, वृक्ष, वनस्पति प्रत्येक वस्तुमा ईश्वरको रुप हुन्छ भन्ने प्रचलन छ । हिन्दु धर्मावलम्बीले ‘प्रत्येक वस्तुमा ईश्वर हुन्छ’ भनेर आस्था प्रकट गरिरहँदा मुस्लिम धर्मावलम्बीहरुले आफ्नो धर्मलाई नै एक उत्कृष्ट जीवन प्रणाली मान्नुलाई सकारात्मक मान्नुपर्छ । ‘एउटा मात्र वास्तविक उपास्य एवं आराध्यदेव अल्लाह समक्ष आफ्नो शुद्ध रुप समर्पण गर्नु नै भक्ती हो’ भन्ने प्रचलन रहेको यस धर्मले यो जगत उत्पत्तिको समयमा निराकार स्वरुप रहेको एक तत्वलाई नै ईश्वर अर्थात् (अल्लाह) मानेको बुझ्न सकिन्छ । हिन्दुले पृथ्वीमा उत्पन्न वस्तुहरुलाई ईश्वरले रचना गर्नुभएको हो । त्यसैले यी वस्तुहरुमा परमात्माको आत्मा हुन्छ भनेर पुझ्नु, इसाईहरु परमेश्वरले यो वस्तुलाई स्वयं मेरो रुप मान्नु भन्नुभएको छ भनेर आस्था प्रकट गर्नु र मुस्लिमले त्यहि वस्तुलाई ईश्वरको रचना मात्र हो भन्नुले पनि आन्तरिक गुण मिल्न जान्छ । तसर्थ सबै धर्मशास्त्रको सार एउटै भएकाले धर्म परिवर्तन गरेर पावन देवताको काखमा पुग्ने भ्रम परित्याग गरि आफ्नो सनातन धर्मको परिपालन गर्नु पर्छ ।
विश्वमा स्थापित विभिन्न धर्महरुले आफ्नो मूल मन्त्र मानेका भावहरुमा एकरुपता पाइन्छ । यो ब्रह्माण्डमा परोपकार, सत्य, न्याय, दया, माया, करुणा र मैत्री भावका विपक्षमा कुनै पनि धर्म छैन । यदि यी नीति विहिन कुनै धर्म रहेको खण्डमा फरक धर्म मान्न सकिन्छ । सबै मानिसले मान्ने धर्म फरक फरक हुनु स्वभाविक हुन्छ । तर अस्वभाविक भावहरु जागृत भएको खण्डमा धर्मले विचलन ल्याउँछ । हामीकहाँ मान्ने गरिएका धर्ममा कहिंकतै मातापिता विरुद्धका भाव छैनन्, उपकारी बन्नु, कसैलाई नमिठो वचन नबोल्नु, दुखमा परेका मानिसलाई सहयोग गर्नु, बाबूआमा र अतिथिलाई देवता मान्नु, ससाना बाबुनानीहरुलाई देवताको अंश मान्नु, बालबालिकाको भावलाई सधै शुद्ध मान्नु, सुख र दुखमा साथ दिनु, बिना कारण कसैमाथि अपवाच्य नबोल्नु, कसैको कुभलो नचिताउनु, आफ्नो नीतिशास्त्र र कर्मको पालना गर्नु, सन्तानलाई सहि बाटो हिंड्न मार्गनिर्देश गर्नु, अधर्मको साथ कहिल्यै नदिनु, आफूमा विश्वास गर्ने मानिसको विश्वास कहिल्यै नटुटाउनु, शरणको मरण नगर्नु जस्ता भावहरु मानव धर्ममा रहेका छन् । यो ब्रह्माण्डमा यिनै सामाजिक विषयवस्तु र व्यवहारोपयोगी शिक्षा प्रदान गर्ने हेतुले परापुर्वकालदेखि मानवीय आस्था, सद्भाव र परम्पराहरु चल्दै आए । जो विभिन्न धर्मका मुल ग्रन्थहरुमा सार तत्वको रुपमा पाइन्छन् । जात, धर्म, रितिरिवाज,परम्परा र भगवान फरक हुन् र छन् भन्नेहरुलाई प्रश्न के तपाईहरुको हिन्दु, मुस्लिम, कृश्चियन, बौद्ध धर्महरुमा यी भावहरु भिन्न छन् ? हिन्दुले आमाबाबु र अतिथिलाई देवता मानेको छ । के तपाईंहरुको धर्मले राक्षस मान्छ ? मुस्लिम धर्मले जाडरक्सी (मदिरा) पानलाई वर्जित गरेको छ । के तपाईंहरुको धर्मले खाउँ, समाजमा वितण्डा मच्चाउ भनेको छ ? हिन्दु धर्मले वर, पिपल, आँप, डुम्री, पलास, निम, पान, श्रीखण्ड, स्वामी र तुलसीमा देवताको रुप मानेर संरक्षण गरेको छ । के तपाईंको धर्मले यतिका अक्सिजन दिने र स्वस्थ जीवनको लागि कुनै वृक्ष देखाएको छ ? यदि छ भने देखाउन सक्नुपर्छ । होइन भने सबै धर्म र सम्प्रदायले मानवहरुलाई धर्मका उत्तम बाटाहरु देखाउँदै मानव जीवनलाई सार्थक बनाउन अभिप्रेरित गर्दछन् । त्यसैले आफ्नो सनातन धर्म मानौं । अरुको लहलहैमा लागेर आफ्नो आत्मामा विचलन नल्याऊ । जसरी आफ्नो आमाले सन्तानको कुभलो चिताउनु हुँदैन । त्यसरी नै आफ्नो धर्मले तपाईंको कुभलो परिकल्पना गर्दैन । हाम्रो वैदिक सत्य सनातन धर्मले मानव सेवा र समाजसेवालाई प्रमुख कर्तव्य मान्दछ ।
यसर्थ यो ब्रह्माण्ड हामी मानव जातिका लागि उत्तम संग्राहलय हो । हामी मानवहरु एक अर्कामा परिपुरक भएर बाचौं । मानव धर्म नै उत्तम धर्म भएकाले यो जीवन र संसारमा उत्तम धर्म एवं मृत्यु पछिको उत्तम मार्ग देखाउने मानव धर्मको परिपालन गरौं । अन्यथा इहलोक र परलोकमा समेत अस्थिरताको सिकार बन्नुपर्छ ।। जय मानव धर्म ।।





