काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ उम्मेदवार बनेपछि उनीसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् । आगामी वैशाख १५ गते निर्वाचनमा एमालेले आईतवार मात्रै सुहाङलाई इलाम-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
ओलीले फेसबुकमा सुहाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गरी जितको शुभकामना दिएका छन् ।
‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्-‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’





