विश्व मानचित्रमा नेपाल सानो देश हो । विकासोन्मुख देशहरुको सुचिमा रहेको यस देशमा अथाह प्राकृतिक सौन्दर्यको प्रादुर्भाव भएको पाइन्छ । विश्वका कुनै पनि कुनामा खोजेर नभेटिने सुन्दरता भएकाले अहिले नेपाल पर्यटकको उच्च प्राथमिकतामा पर्दछ । विशेषतः हिन्दु धर्मका अनेकौं देविदेवता, ऋषि महर्षीहरुको उत्पत्ति स्थल नेपाल हो । उनीहरुले ध्यान, साधना गरेर सिद्दी प्राप्त गरेको र बौद्ध धर्मका प्रणेता भगवान गौतम बुद्धको जन्मस्थल भएकाले पनि धार्मिक पर्यटकहरुको उल्लेख्य उपस्थिति यहाँ हुने गरेको छ । यसर्थ नेपाल विश्वको धार्मिक इतिहासमा वैदिक सत्य सनातन हिन्दु र बौद्ध धर्मको प्रादुर्भाव भएको देव भुमी हो । प्रकृतिको अनुपम भण्डार मानिने हाम्रो देश प्राकृतिक र साँस्कृतिक सम्पदाले युक्त छ । प्राकृतिक सौन्दर्यताले विश्वको ध्यान आकृष्ट पार्न सक्ने सामथ्र्य भएको यो भुमि सिता, भृकुटी र विधेहराज जनकको भुमी हो । आफूभन्दा ६५ गुणा ठूलो विश्व सम्पन्नता र शक्तिशाली मुलुकको परिचय पाएको चीन र २२ गुणा ठूलो देश भारतका बीचमा अवस्थित भुपरिवेष्टित यो देश आफैंमा जल सम्पदाले पुर्ण छ । वैदिककालका ऋषिमहर्षिहरुको अनुकरणमा विभिन्न वंशका राजा महाराजाहरुले शासन गरेको, राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहद्वारा एकिकृत गरि नेपाल राज्य निर्माण भएको यस देशमा धेरै परिवर्तनहरु भएका छन् । तथापि कानुनतः स्वतन्त्र राष्ट्र भए पनि नेपाली जनताले पूर्णतः स्वतन्त्रता पाएको अनुभुति आज पनि गर्न पाएका छैनन् । देशको आमूल परिवर्तन गर्न भनेर बनेका तमाम प्रगतिशील संयन्त्रका नायकहरु भ्रष्टाचारका अनेकौं स्वरुपहरुमा लिप्त बन्दा देशको आर्थिक अवस्था चौपट भएको छ । बजेट निर्माणमा उत्पादनमूलक क्षेत्रलाई विशेष प्राथमिकता नदिइदा देश परनिर्भर बनेको छ । राजनैतिक पुर्वाग्रहपुर्ण सामाजिक, साँस्कृतिक र धार्मिक द्वन्द्व, संर्घष र हिन तत्वहरुको बोलकबोलका कारण सामतामुलक, सद्भावपुर्ण र सहिष्णु समाज विकृत बनेको छ । देशमा शान्ति, सुशासन र अमनचयनका भावहरु विलिन बन्दै गएका छन् । नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकलाई मुर्तरुप दिन संविधान र सरकार दुवै असफल देखिन थालेका छन् ।
स्वतन्त्रताका खातिर विगतदेखि हालसम्म निरन्तर राजनैतिक आन्दोलन, संघर्ष र युद्धहरू भए । देशले विभिन्न कालखण्डमा निरंकुश सत्ता सम्पन्न शासकदेखि‚ बहुदलीय प्रजातन्त्र र राजतन्त्रसम्मको अनुभव ग¥यो । २००७ सालदेखि २०४६/४७ हुँदै २०६२/६३ सालको बाटो भएर आजको दिनमा आइपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश ग¥यो । परिवर्तनशील धरातलमा नेपालले छुट्टै अस्तित्व कमायो होला । तर विडम्बना कृषिप्रधान देशले कृषिको जनजीवन र जनजिविकाको मर्म बिर्सिदा परनिर्भरता बढ्दै गएको स्पष्ट छ । राजनैतिक दलले जत्ती मात्रामा क्रान्तिकारी झण्डा बोकेर लोकतन्त्र र गणतन्त्रका नारा लगाए त्यति नाराहरु कृषि क्रान्तिका लागि लगाएको भए नेपाल अवश्य समृद्ध बन्थ्यो । विकसित देशहरू प्रकृतिको उचित सदुपयोग गरेर सम्पन्न बन्दै गए । तर नेपालीले प्रकृतिका विरुद्ध डोजर चलाएर सम्पन्न बन्ने दाउ खोजिरहेका छन् ।
राजनैतिक दलहरुले फरकफरक समयमा आयोजना गर्ने संघर्षबाट आखिर नेपाली जनताले हत्या, हिंसा, बेरोजगारी, गरिबी, शोषण, दमन, विभेद, भय र त्रासबाहेक अरु के नै पाए र ? सर्वहाराको उत्थानका नारा लगाउनेहरु सत्तामा पुगे पुँजिवादको श्रीपेच लगाए । बारिको स्याउ कुहिएर मल बनिसक्यो सरकार मलकै खोजीमा छ बजार खोज्दैन । भागो उत्पादनलाई कानुनको जञ्जिर लगाउने सरकारले उखुको आगोमा तराई रापिंदा जलस्रोतले धनी देशका किसानलाई आशुको बलिदानीमा निभाउ भन्छ ।
जनताले दूध र तरकारी बेच्ने बजार नपाउँदा उनीहरु भिन्न देशमा खाना र खाजाको सूची बनाउँदै छन् । समाजवादका नाममा प्रगतिशीलहरु पुँजीवादको आड लाग्दा कृषि क्षेत्र कित्ताकाट र प्लटिङको सिकार भएको छ । उत्पादित वस्तुहरूमा बिचौलियाको मनोमानी छ । किसानले नुहाएर शरीर पुछ्न रुमाल नपाउँदा बिचौलियाहरु सिरकमा गुटमुटिएका छन् । अन्ततः गरिबका नाराभित्र पुँजीवादले मौलाउने अवसर पाएको छ । के यो अन्याय होइन ? यस्का विरुद्ध को बोल्ने ? कस्ले विरोध गर्ने ?
माया के हो प्रदेशिएका सन्तानको बाटो कुर्ने आमाबालाई सोध्नु पर्छ । दुख के हो खाडीमा पसिना बगाउने युवालाई सोध्नु पर्छ । देशमा समृद्धिको बाजा बजाएर विदेशमा सयर गर्ने नेतालाई के थाहा । आखिर देशको माटोको टीका लगाएर पराइको भुमिमा रगत र पसिना बगाउनेलाई पो ज्ञात होला तर विडम्बना हामी नेपालीका निरीह अनुहारको परिचय खोज्ने शासक नेपाल आमाले जन्माइनछिन् । त्यसैले हामी देशको असल र स्वाभिमानी सपुत जन्मिने आशामा पटकपटक मरेर बाँचिरहेछौं ।
परिष्कृत समाजमा मानिस आफैले परिवर्तन चाहानु स्वभाविक रहन्छ । नेपालमा पनि यावत् परिवर्तन र विकासका रुपहरु उद्घाटित भइरहदा केही दीर्घकालीन समस्याहरु देखा पर्न थालेका छन् । आफुलाई प्रगतिशील भन्नेहरूको प्रगतिमा खोट देखेपछि समाजले सत् गति नपाएको बुझिन्छ । देशको विकासमा प्राकृतिक र साँस्कृतिक सम्पदाका यावत् पक्षले सबल भुमिका खेल्दा खेल्दै आर्थिक, सामाजिक र राजनैतिक समस्याहरुले देशलाई गाल्दै गइरहेका छन् । पछिल्लो समय सरकारको नीति कमजोर बन्दा जनता निराश देखिन्छन् । राजनैतिक अस्थिरताका कारण तमाम समस्या उत्पन्न भएका छन् । शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीमा समेत राजनीतिको बृहत् रुप देखा पर्दा सर्वसाधारण आधारभुत आवश्यकताबाट समेत बन्चित हुने अवस्था आएको छ । शिक्षक, डाक्टर, कलाकार, धर्मगुरु, सामाजिक अभियान्ता, ससाना व्यवसायी र सर्वसाधारणहरु छुट्टाछुट्टै राजनैतिक वृत्तमा उभिंदा सामाजिक विकृतिहरु देखा परेका छन् । राजनीति बिना मानिसका कुनै पनि कार्य सफल नहुने भएका छन् । बढ्दो बेरोजगारी र आर्थिक संकटका कारण चोरी, डकैती र बलात्कारका घटनाहरु सर्वत्र छन् । संघिय सरकारदेखी स्थानीय तहसम्म राजनैतिक भागबन्डाका कारण मानवीय अस्तित्व समाप्त भएको छ । राजनैतिक नाम बाहेक अन्य पद र पदिय मर्यादाको पालना शून्य भएको छ । सरकार आफैं ऋण खोजेर पालिदै छ । प्रकृतिको काखमा जन्मिएका जनताले मरुभूमिमा श्वास फेर्ने प्रयत्न गर्दै छन् । देश रित्तिदो छ । शासकहरुले फरकफरक स्वादमा शासन गरिरहेका छन् ।
भविष्यको कुरा गरौं भने देशमा यस्तै अवस्था भइरहे अनगिन्ती समस्याहरुको सामना गर्नै पर्छ । कालान्तरमा गाउँ रित्तिने छन् । खेतबारी बाँझो हुनेछ । परनिर्भरताले मानिसहरू रित्ता बन्नेछन् । सम्पन्न भनिएकाहरु पनि हातमुख जोर्न दसतिर दाह्रा ङिच्याउनु पर्ने छ । सहर बजारमा अभावै अभाव सिर्जना हुने छ । हत्या, हिंसा, आतंक र चोरीजस्ता यावत् समस्याले चारैतिर कोलाहल उत्पन्न हुने छ । युवा वर्गको विदेश मोहका कारण समाजमा गुहार माग्न गाह्रो हुनेछ । मृत्यु संस्कार एकाघरको हुने छ । जन्ममा शिशुको लागि आमा बाहेक दोस्रो व्यक्ति खोज्न पाइने छैन । विवाह, व्रतबन्धमा उपस्थित भिड र खोक्रो आडम्बरी पनले मानिस हातमुख जोर्न नसक्ने हुने छन् ।
केही समयमा गाई, गंगा, तुलसी, वर, पिपल, चौतारी पोखरी सबै ध्वस्त हुने छन् । नदि दोहन र अव्यवस्थित बाटोघाटो निर्माणले तिव्रताले प्रकृति बाढी, पहिरो, भूक्षय, अतिवृष्टी, अनावृष्टी र अल्पवृष्टिको सिकार बन्ने छ । मुल्यवृद्दिले आकाश छुने छ । पाँच सय र हजारका नोटले दुइओटा सामानको कल्पना गर्न पाइने छैन । एकातर्फ सरकारी जागिर खाने मानिस नै हुने छैनन् । अर्कोतर्फ सरकारी जागिरेहरुले कसैलाई टेर्ने छैनन् । उनीहरूलाई बोल्ने फुर्सद हुने छैन । शैक्षिक बेरोजगारीले समाजमा विध्वंस निम्तिने छ । सर्टिफिकेट बोकेका मानिसहरु नै व्यवहार शून्य बन्ने छन् । खराब राजनैतिक विरासतले समाजमा विखण्डन निम्तिनेछ । धार्मिक स्वतन्त्रताले उचाई छुँदा घर परिवार र छिमेकमा बोलचाल बन्द हुनेछ । राजनैतिक आस्थाका आधारमा परिवारका सदस्यहरुमै पानी बाराबारको अवस्था सिर्जना हुने छ ।
विदेशी वस्तुको आयातले स्वदेशी उत्पादनले बजार गुमाउने छन् । आयातित वस्तु र मानवीय सौखिनपनका कारण अर्थतन्त्रमा ठूलो गिरावट आउनेछ । मानिसको स्वार्थीपनले गर्दा समाजमा सद्भाव गुम्ने छ । सामाजिक एकता र भाइचाराको सम्बन्ध शुन्यतामा जानेछ । सामाजिक, धार्मिक, वर्गीय र जातिय द्वन्द्वका प्रसस्त नमूनाहरु देखा पर्नेछन् । बेरोजगारी समस्याका कारण सामाजिक विसङ्गती, अन्याय, अत्याचार, शोषण, दमन र भ्रष्टाचारमुलक गतिविधिहरु देखा पर्ने छन् । समाजमा हुने खानेको बोलवाला चल्ने छ । राम्रा, पढेलेखेका र असल मानिसको अस्तित्व मेटिनेछ । खराब कार्यमा उद्दत मानिसहरूको रजाइँ चल्ने छ ।
छुट्टाछुट्टै राजनैतिक संघसंगठनमा आवद्ध चिकित्सक, शिक्षक र सामाजिक अभियान्ताको संकुचित सोचाइले धेरै व्यथितीहरु देखिने छन् । डाक्टरले आफ्नो संगठन बाहिरका बिरामीलाई रुचाउने छैनन् । शिक्षकहरुको राजनीतिले समाजमा ध्रुवीकरण देखा पर्ने छ । राजनैतिक रुपमा गठित सामाजिक संघसंस्थाहरुले पार्टीको झण्डा नै गाडेर विज्ञापन गर्ने छन् । व्यावसायिक संगठनमा राजनीति हाबी हुँदा पार्टीगत कार्यकर्ताका छुट्टाछुट्टै पसलहरु स्थापना हुने छन् । सरकारी कर्मचारीहरुले आफू निकटका व्यक्तीबाहेक अन्यको काममा मोटो रकमको साहरा खोज्ने छन् । व्यापार व्यवसाय र सरकारी कार्यालयहरुमा बिचौलियाको मनोमानी चल्ने छ । प्रहरी प्रशासन राजनैतिक विचारधाराका आधारमा स्वचालित बन्ने छन् । अन्ततः देशमा झनै विकराल अवस्था सिर्जना हुनेछ ।
यी र यस्ता समस्याको समाधानमा सरकार उदार होइन उद्दारमा जुट्नुपर्छ । गरिबीको नाम नै नरहने गरि उनीहरुका आवश्यकतालाई साकार पार्नुपर्छ । वास्तविक किसान र गरिब जनताको निक्र्याैल गरि उनिहरुका समस्या समाधानमा सारथि बन्नुपर्छ । उत्पादनशिल वस्तुको वृद्धि, विकास, प्रवर्द्धन र निर्यातमा जोड दिनु पर्छ । स्वदेशमै रोजगारीका तमाम अवसरहरू सिर्जना गर्नुपर्छ । देशमा उत्पादित कच्चापदार्थलाई समुचित प्रयोगको दायरामा ल्याउनु अनिवार्य हुन्छ । स्वदेशी कृषक र तल्लो दर्जाको काम गर्ने कामदारलाई विशेष प्रोत्साहन स्वरुप सरकारले सहुलियत दिनु पर्छ र उनीहरुले उत्पादन गरेका वस्तुको जिम्मा सरकार स्वयंले गर्नु पर्छ । शैक्षिक बेरोजगार र विदेश पलायनको समस्यामा शैक्षिक माफियाहरुको उचित निगरानी र कारवाही गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने राजनीतिलाई पुर्णतः निशेध गरिनु पर्छ । देशमा उत्पादित शैक्षिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणमा जोड दिनुपर्छ । प्राकृतिक स्रोत साधनको संरक्षण र संवर्धनका लागि दीर्घकालीन विकासका नीतिहरु बनाइनु पर्छ । नागरिकका आधारभूत आवश्यकता पुर्ण गर्न सरकार सदासर्वदा प्रतिबद्ध हुनुपर्छ ।





