
पोखरा / बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन चैत २५ देखि बैशाख ५ गतेसम्म हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ ।
मुल आयोजक समिति तथा उपसमितिसँग आइतवार बसेको बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको आयोजकले जनाएको छ ।
चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिए । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ। सार्वजनिक बसमा ब्यानर राखिएको छ।
महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको छ । यसवर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको लक्ष्य छ ।




