बागलुङ/चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङले कक्षा १२ को परीक्षालाई मध्यनजर गरेर सर्वाधिक राशीको हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको छ । साविकको धौलागिरी अञ्चलका माध्यामिक विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको हो ।
माध्यमिक तह कक्षा १२ को परीक्षामा समावेश हुनसक्ने सम्भावित प्रश्नहरुमा आधारित प्रतियोगिता गर्न लागिएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए । प्रतियोगिता चैत १७ गते विद्यालय प्राङ्गणमा सञ्चालन हुने छ । प्रतियोगिताको यो तेस्रो संकरण हो ।
कक्षा १२ को व्यवस्थापन संकाय र बिज्ञान संकायका विद्यार्थीको बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ । विज्ञान संकायतर्फ दश समुह र व्यवस्थापन संकायतर्फ १६ समुह प्रतियागितामा सहभागि हुने श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा छिमेकी जिल्लाहरु म्याग्दी र पर्वतबाट पनि विद्यालयहरु सहभागि हुने छन् । चार चरणमा प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १८ हजार र तेस्रो हुनेले १२ हजार रुपैयाँ नगदसहित पुरस्कार पाउने छन् । बिज्ञान र व्यवस्थापन दुवै संकायका पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा कक्षा १२ को पाठ्यक्रममा आधारित प्रश्नहरु सोधिने भएकाले परीक्षामा विद्यार्थीलाई यसले सहयोग गर्ने उनको बुझाई छ ।





