बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘ब्रेक थ्रु’ भयो तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ

‘ब्रेक थ्रु’ भयो तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८०, आइतबार

दमौली / तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा जलस्रोत सचिव सिग्देलले धेरै समय अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाड, बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुलन हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २ सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ ।

मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण २०८३ असार (सन् २०२६ मे) भित्र सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->