बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान

प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान

चैत २७ गते दिउँसो ३ बजेसम्म समय सीमा


  • लालप्रसाद शर्मा
  • चैत्र २१ २०८०, बुधबार

पोखरा/गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम यही चैत २७ गते दिउँसो ३ बजेभित्र बहुमतसहित मुख्यमन्त्रीमा दावी गर्न आउनका लागि समय सीमा तोकेका हुन । धारा १६८ (२) मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ ।

प्रदेश प्रमुख भट्टले अर्को मन्त्रीपरिषद् गठन नभएसम्मका लागि अहिलेकै मन्त्रीपरिषद्लाई संविधानको धारा १६९ (३) बमोजिम कार्य संचालन गर्नेगरी तोकेका छन । संघीय सरकारमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेसंगै गत फागुन २३ मा माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । त्यसपछि पाण्डे नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो । चैत २२ गते अर्थात् भोली विहीबारभित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो । तर हालको अवस्थामा विश्वासको मत पाउने संभावना नदेखिएपछि पाण्डेले राजीनामा दिएका हुन । संविधानको धारा १६८ को उपधारा २ अनुसार गत बैशाख १५ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । पाण्डे ठूलो दलको हैसियतमा फेरी मुख्यमन्त्री बन्ने दाउमा छन ।

गण्डकी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनिर्णित हुँदा कांग्रेस वा इतर पक्ष कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन हुन सकेको छैन । यसले प्रदेशमा अन्यौलको अवस्था सिर्जना भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका २७ सांसद छन । यसैगरी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकजना स्वतन्त्रबाट जितेर समाजवादी प्रवेश गरेर फेरी स्वतन्त्रमै फर्किएका राजीव गुरुङ (दीपक मनाङे) छन ।

पाण्डेले राप्रका २, दीपक मनाङे र माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजबादीका सांसद फणिन्द्र देवकोटाको मत तान्न प्रयासरत छन । तर राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन । गुरुङ कांग्रेस नेतृत्वकै सरकारमा यही चैत ५ मा मन्त्रीपरिषद्मा सामेल भइसकेका छन । देवकोटालाई माओवादी संसदीय दलको व्हिप लाग्ने भएकाले उनको पनि पाण्डेले साथ पाउने अवस्था तत्काललाई देखिदैन । राप्रपाको चैत २७ गतेसम्म आन्दोलनका कार्यक्रम रहेकाले अहिलेसम्म सरकारमा जाने नजाने वा गएमा कसलाई समर्थन गर्ने भन्ने निर्णय नभएको हो । राप्रपाको टुंगो नलाग्दासम्म पाण्डेले ठूलो दलको हैसियतमा मुख्यमन्त्री हुने रणनीतिमा पुगेका हुन ।

केन्द्रीय सत्ता समीकरण अनुसार एमाले र माओवादी गठबन्धन गरिए पनि गण्डकीमा राप्रपाबिना सरकार गठनका लागि बहुमत पु¥याउन नसक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->