मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विश्व स्वास्थ्य दिवस–२०२४ ले दिन खोजेको सन्देश र केही प्रतिक्रिया

विश्व स्वास्थ्य दिवस–२०२४ ले दिन खोजेको सन्देश र केही प्रतिक्रिया


  • नरनाथ पाण्डे
  • चैत्र २५ २०८०, आइतबार

पृष्ठभूमि

विश्व स्वास्थ्य दिवस विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको दिन अर्थात् अप्रिल ७ तारिख (यसवर्ष चैत्र २५ गते) का दिन संसारभर भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । सन् १९४८ सालमा स्थापना भएको विश्व स्वास्थ्य सङ्गठनको प्रथम स्थापना दिवस भने सन् १९५० देखि अप्रिल ७ तारिखका दिन मनाउन सुरु गरेको इतिहास छ । यसवर्ष विश्व स्वास्थ्य दिवस मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने नाराका साथ मनाइँदै छ । यसवर्ष तय गरिएको यो नाराले स्वास्थ्य प्राप्त गर्नु सबै मानिसको नैसर्गिक वा जन्मसिद्ध अधिकार हो भन्ने कुराको चेतना जागृत गर्नका लागि जोड दिएको छ । त्यसो त नेपाल लगायत संसारका १४० वटा देशका लिखित संविधानमा समेत स्वास्थ्यलाई नैसर्गिक अधिकारका रुपमा राखिएको छ । संविधानमा यस्ता व्यवस्था गर्दैमा के संसारका सबै मानिसले आफ्नो अधिकारको सदुपयोग गर्न पाएका छन् त भन्ने विषयमा अब व्यापक बहस गर्नु जरुरी छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर यस आलेखमा स्वास्थ्यलाई जन्मसिद्ध अधिकार मानिएको छ तर स्वास्थ्य सेवा प्राप्तिको अवस्था के कस्तो छ भन्ने सम्बन्धमा अन्तरक्रिया होस् भन्ने उद्देश्यले यो आलेख तयार गर्ने जमर्को गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यको अपूर्ण परिभाषा

विश्व स्वास्थ्य सङ्गठनले सन् १९४८ मा दिएको स्वास्थ्यको परिभाषामा कुनैपनि व्यक्ति स्वस्थ हुनका लागि शारीरिक, मानसिक र सामाजिक रुपले पूर्णरुपमा तन्दुरुस्त हुनु हो भनेको छ । यो परिभाषा अहिलेको अत्याधुनिक समयसम्म आधिकारिक परिभाषाको रुपमा स्थापित भएको छ । यस परिभाषामा निकै कमीकमजोरी रहेको कुरा त्यतिबेलै रेनि डुबोस भन्ने विद्वानले व्यक्त गरेका थिए र तत्पश्चात पनि धेरै अत्याधुनिक र सर्वमान्य परिभाषा आएका छन् तैपनि विश्व स्वास्थ्य सङ्गठनले हालसम्म पनि यो परम्परागत परिभाषालाई परिमार्जन गरेको छैन । विश्व स्वास्थ्य सङ्गठन विश्वभर स्वास्थ्य सम्बन्धी नीति निर्माता र अनुगमन गर्ने प्रमुख संस्था हो तापनि यसले आफ्नो सङ्कुचित स्वास्थ्यको अवधारणालाई सच्याउन तयार नहुनु कुनै रहस्यमय विषय हुनसक्छ नत्र किन आजसम्म पनि यो परिभाषामा परिमार्जन गरिएको छैन ? त्यतिबेला दिएको परिभाषामा व्यक्ति स्वस्थ हुनमा शारीरिक, मानसिक र सामाजिक पक्षलाई मात्र भनिएको छ । के स्वास्थ्यका अरु आयामहरू छैनन् ?

आध्यात्मिक, आर्थिक, आनुवंशिक, वातावरणीय जस्ता पक्षहरूलाई यो परिभाषाले कतै सम्बोधन गरेको छैन । व्यक्तिको स्वास्थ्य के स्थिर अवस्था हो ? यो परिभाषामा स्वास्थ्यलाई स्थिर अवस्था भनिएको छ, स्वास्थ्य स्थिर अवस्था नभई निरन्तर परिवर्तन वा तलमाथि भइरहने गतिशील अवस्था हो । त्यस्तै स्वस्थ हुनु भनेको पूर्णरुपले तन्दुरुस्त हुनु हो भनिएको छ, जुनकुरा मापन गर्न सकिने कुनै आधार र पारामिटर छैन । यसलाई रेनि डुबोसले व्यक्तिको स्वास्थ्य पूर्ण कहिल्यै हुँदैन, पूर्ण स्वास्थ्यको अपेक्षा राख्नु मृगतृष्णा जस्तै हो भनेका थिए । यसैगरी त्यति ठुलो संस्था र विद्वानहरू रहेको संस्थाले स्वास्थ्यलाई परिभाषित गर्दा स्वस्थ हुन गुणस्तरीय जीवन हुनुपर्छ भन्ने कुनै कल्पना गरेको छैन । यिनै तर्कहरूको आधारमा के भन्न सकिन्छ भने विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषा नै अपूर्ण रहेको छ ।

स्वास्थ्य सेवामा पहुँच

अहिलेको उत्तर आधुनिक युगसम्म आइपुग्दा प्रविधिका कारण निकै खोज र अनुसन्धानले गर्दा मानिस हरेक कुरामा जानकार रहेको छ । स्वास्थ्यका सबालमा मानिस झन् सशक्त तवरले नयाँ खोजमा उद्धत रहेको छ । मानिसले गरेका अनुसन्धानले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै आएको छ भन्न सकिन्छ । अङ्ग प्रत्यारोपण त के कुरा टेस्ट ट्युब वा प्रयोगशालामै बच्चा जन्माउन सक्ने अवस्थामा मानिस पुगेको छ । स्वास्थ्य क्षेत्रमा यति प्रगति हुँदैजाँदा मानिसले स्वास्थ्य सेवाको कति उपयोग गर्न सकेका र पाएका छन् त भन्ने सवाल महत्वपूर्ण हुनजान्छ । दुनियाँमा अहिले पनि मानिसहरूका बीचमा हुँदा खाने र हुने खानेबिच फराकिलो खाडल रहेको छ । स्वास्थ्य सेवा निकै महङ्गो र नेपाली जस्ता गरिबीको रेखामुनि रहेका जनताका लागि त साधारण स्वास्थ्य सेवाको पहुँचमै समस्या रहेको छ । कठिन भौगोलिक परिवेश, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धति र साँस्कृतिक परिवेशका कारण मानिसहरूले अझै स्वास्थ्य सेवा सहज तरिकाले प्राप्त गर्न सकेका छैनन् । धनीमानीहरूका लागि स्वास्थ्य सेवाको उपभोग गर्नु सामान्य भएतापनि आर्थिक पछौटेपनमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको उपभोग गर्नु दुर्लभ रहेको छ । संसारका धेरै देशहरूमा अझैसम्म पनि स्वास्थ्य उपचारका लागि साधारण सिटामोल र जीवनजलको अभावमा जीवन गुमाउनु परेका मानिस थुप्रै छन् । पर्याप्त खाना नपाएर कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि घट्ला भन्दा बढ्दै गइरहेको तथ्याङ्कले मानिसको अशिक्षा र चरम गिर्दो आर्थिक अवस्थाको सहजै मूल्याङ्कन गर्न सकिन्छ । यस्तो अवस्थामा देशको संविधानमा स्वास्थ्य सबैको नैसर्गिक अधिकार भनी लेख्नुको औचित्य के रह्यो र ?

यसवर्षको विश्व स्वास्थ्य दिवसको सन्देशका सम्बन्धमा

व्यक्तिको स्वास्थ्य अवस्थालाई निर्धारण गर्ने तत्वहरू जैविक, भौतिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विषयवस्तुमाथि विश्लेषण गरेर हेर्दा के मानिसले अहिले मेरो स्वास्थ्य मेरो अधिकार भनेर बोल्न मिल्ने अवस्था देखिन्छ त ? नियम कानुनमा त प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यको प्रतिकूल हुने खालका क्रियाकलापका विरुद्ध स्वास्थ्य संरक्षण गर्न पाउने व्यवस्था होला । तर मानिसले नै गराएका प्रदूषण र त्यसले व्यक्तिको स्वास्थ्यमा पारेका वा पार्नसक्ने असरबारे कहीँकतै कारबाही गरेको देख्न सुन्न र भोग्न पाइएको छैन । वास्तवमा सबै मानिसले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने, शिक्षा पाउनुपर्ने, सूचना पाउनुपर्ने, शुद्ध खानेपानीको प्रयोग गर्न पाउनु पर्ने, स्वच्छ हावामा सास लिन पाउनुपर्ने, असल पोषण प्राप्त गर्न पाउनुपर्ने, सुरक्षित र गुणस्तरीय आवास व्यवस्था भएको हुनुपर्ने, कार्यस्थल र वरपरको वातावरण स्वच्छ हुनुपर्ने र भेदभाव विरुद्ध समेत स्वतन्त्र हुन पाउनुपर्ने आधारभूत स्वास्थ्यका विषयवस्तु हुन् । कम्तीमा पनि यस्ता सुविधा सबैले पाउनुपर्ने अधिकार पनि हुन् । तर त्यस्तो आभास कहिँकतै पाइएको छैन जुन बिडम्बना पनि हो ।

विश्व स्वास्थ्यको वर्तमान सङ्कट, कर्तव्य र अधिकार

अहिले संसारमा उत्पन्न भइरहेका नयाँ नयाँ रोगहरू र प्राकृतिक प्रकोपका कारण धेरै मानिसहरूको मृत्यु भएको छ भने बाँचेकाहरू पनि अधिकांश अपाङ्ग भई बाँच्नु परेको छ । सँगसँगै संसारमा द्वन्द्व, हत्या, हिंसा, आतङ्क, लडाईं, झै–झगडा, हतियारको होडबाजी आदि चलिरहेको हाम्रा सामु छर्लङ्गै छन् । यस्ता क्रियाकलापले पृथ्वीमा अतिक्रमण भएर जलवायु परिवर्तन, पशुपन्छीको विनाश, जमिनको उर्वरा क्षमतामा ह्रास तथा खेतीपातीमा प्रतिकूल प्रभाव परिरहेको हाम्रा अगाडि छर्लङ्ग छ । ओजोन तहको विनाशका कारण सूर्यबाट आउने विकृत विकिरणहरू सोझै पृथ्वीमा पर्दा त्यसबाट हुने क्षति सोचनीय विषय बन्नुपर्ने भएको छ । पृथ्वीमा भएको औद्योगिक क्रान्तिले वातावरणमा अतिक्रमण भएको छ । फलस्वरुप पृथ्वीमा कार्बन डाइअक्साइड जस्ता हानिकारक ग्यासको मात्रा बढेर वायु प्रदूषण हुँदा मानिसमा श्वासप्रश्वासका रोगहरू देखापरिरहेका छन् भने अर्कातिर हरितगृह प्रभाव परी पृथ्वीको तापक्रम बढिरहेको छ ।

गतवर्ष सन् २०२३ लाई इतिहासकै सर्वाधिक तातो वर्ष भनेर घोषणा गरिएको छ भने यो वर्षमा पनि उक्त रेकर्ड अझै तोडिन नसक्ने कुनै आधार देखिँदैन । ग्लोबल वार्मिङ्का कारण वातावरणीय अनुकूलनमा प्रभाव पर्दा कतिपय जलचर र थलचर प्राणीहरूका लागि समस्या भएर डाइनोसर लोप भए जस्तै अन्य जीवहरू पनि लोपोन्मुख हुने क्रममा रहेका हुनसक्छन् । त्यस्तै पृथ्वीको तापक्रम बढ्दा हिमालका हिउँ पग्लिएर समुद्र सतह बढ्न जाने देखिन्छ । समुद्रको सतह थोरैमात्र बढेपनि त्यसबाट उत्पन्न हुने दैवीप्रकोपका कारण जनधनको अपुरणीय क्षति हुने सुनिश्चित छ । यतिमात्र होइन, वायु प्रदूषणका कारण अम्लिय वर्षा हुने सम्भावना छ । यदि अम्लिय वर्षा भयो भने पृथ्वीमा रहेका वनस्पति, पशुपन्छी र खेतीपातीमा सोझो प्रभाव पर्ने छ भने मानिसको स्वास्थ्यको अवस्थामा पनि जटिलता थपिने छ । विश्व स्वास्थ्य सङ्गठनको यस्ता विषयमा ध्यान आकर्षण भएको छ कि छैन ? यदि अवस्था यस्तै रहने हो भने कीटजन्य रोगहरू बढ्ने, विकिरणका कारण मानिसको जीनमै प्रभाव परी भविष्यमा रोगी सन्तानहरू जन्मने सम्भावना रहन्छ । यस्तै आन्तरिक र बाह्य वातावरणका कारण भविष्यमा मानव सभ्यता नै जोखिममा पर्नसक्ने सम्भावना देखिन्छ । अब यस्तो अवस्थामा म स्वच्छ वातावरणमा बस्न पाउनुपर्छ, स्वच्छ हावामा श्वास फेर्न पाउनुपर्छ, स्वस्थ पानी र खाना खान पाउनुपर्छ, रोग लाग्नबाट बाँच्न पाउनुपर्छ र रोग लागिहालेमा छिटो उपचार पाउनुपर्छ किनकि स्वस्थ भएर बाँच्न पाउनु मेरो जन्मसिद्ध अधिकार हो भन्नेकुरा कहाँ, कसले र कहिले सम्बोधन गर्ने होला ?

अतः दिवस मनाउनु मात्र कर्तव्य पूरा भएको ठान्ने अहिलेको मानव जगत्ले यस पृथ्वीमा बस्दा आफ्ना पनि केही कर्तव्यहरू छन् भन्नेकुरा किन बुझ्न नसकेका होलान् ? जहाँ अधिकारका कुरा गरिन्छ त्यहाँ कर्तव्यका कुरा पनि आउने गर्छन् । यहाँ हामीले आफैं जल, थल र वायु प्रदूषण गराइरहेका छौं । हामीले गर्ने कामबाट निस्कने प्रदूषण, हाम्रा शरीरबाट निस्कने फोहरको समुचित विसर्जन, भान्छा तथा घरायसी कामकाजबाट उत्पादन हुने फोहरमैलाको व्यवस्थापन हामीले अरुलाई र यो धर्तीलाई असर नहुने गरी विसर्जन गरेका छौं त ? के हाम्रो आचरण र सोच स्वस्थकर छ ? के हाम्रा सांस्कृतिक प्रचलनका प्रदूषण हामीले व्यवस्थापन गरेका छौं । यी कुराहरूको बारेमा समेत नागरिक सचेत हुनु जरुरी छ । हामीमा विद्यमान म एकजनाले गरेर के हुन्छ र भन्ने मानसिकता त्याग्न जरुरी छ । यसो गरेमात्र हामीले हाम्रो स्वास्थ्य रक्षा गर्न पाउनु हाम्रो अधिकार हो भन्न सुहाउँछ कि ?

लेखक डा. पाण्डे मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् । (सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->