मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

देश विकासका आधारहरु

देश विकासका आधारहरु

स्वदेशमा उत्पादन हुने सानो प्याजको मौलिकता र विशेषता बिर्सिएर चीनबाट ल्याइएको ठुलो प्याजलाई विकास भनेर बुझियो । प्रविधिको प्रयोग गरेर आफ्नो मौलिकतालाई समेत उजागर गर्दै अगाडि बढ्न सकेमा मात्र विकास सम्भव छ ।


  • विजय क्षेत्री
  • चैत्र २७ २०८०, मंगलबार

नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण देश भएकाले पर्यटन हाम्रा लागि वरदान हो । अन्य देशहरुमा पर्यटकीय स्थलहरु करोडौं खर्च गरेर बनाउनुपर्छ । नेपालमा अरु केहि गर्नुपर्दैन, प्रकृतिले दिएको सम्पतिको संरक्षण मात्र गरिदियो भने पुग्छ । हिमाल, पहाड, तराई, डाँडाकाँडा, हरियाली, वनस्पति, जीवजन्तुलाई पर्यटकीय वैभवका रुपमा प्रयोग गर्न सकिन्छ । हाम्रो मौलिकतालाई नै कायम राख्ने हो भने करोडौं खर्च गरेर होमस्टे बनाउनु पर्दैन । हाम्रा हरेक गाउँ पर्यटकीय स्थल हुन् र हरेक घरहरु होमस्टे हुन् । प्रकृतिको सम्पदा र मौलिकतालाई जबसम्म पैसामा रुपान्तरण गरिदैन तबसम्म नेपालको विकास हुन सक्दैन । नेपालको अर्गानिक विकास नै पर्यटनको मुख्य आधार हो । जलश्रोत नेपालको ठूलो विकास शक्ति हो । यहाँको पानीबाट पुरै एशिया झिलिमिली पार्ने बिजुली निकाल्न सकिन्छ । नेपालमा पाइने ५५ प्रतिशत वनस्पतिबाट पेट्रोल निकाल्न सकिन्छ । हावाबाट बिजुली निकाल्ने प्रशस्तै सम्भावना छ । जमिनमुनी पनि उर्जाले भरिएको छ । तर प्रकृतिले दिएको उपहारलाई हामीले सहि रुपमा सदुपयोग गर्न सकेका छैनौं । त्यसैले नै हाम्रो विकास कमजोर छ । प्रविधिसंग जोड्न सकिएन भने समृद्धि सम्भव हुँदैन । अझै पनि हामी प्रविधिको मामलामा कमजोर छौं ।

विजय क्षेत्री
हामी विकासका नाममा विकशित राष्ट्रहरुको नक्कल गरेर आफ्नो मौलिक कुराहरुलाई बिर्सिंदै गइरहेका छौं । हामीसंग जे चिज छ त्यसैलाई व्यवस्थित बनाउनु विकास हो भनेर बुझिएन । स्वदेशमा उत्पादन हुने सानो प्याजको मौलिकता र विशेषता बिर्सिएर चीनबाट ल्याइएको ठुलो प्याजलाई विकास भनेर बुझियो । प्रविधिको प्रयोग गरेर आफ्नो मौलिकतालाई समेत उजागर गर्दै अगाडि बढ्न सकेमा मात्र विकास सम्भव छ । जसअन्तर्गत नेपालमा यार्सागुम्बा खेतीको सम्भावनालाई समेत अध्ययन अनुसन्धान गर्नुपर्छ र यसलाई पनि व्यवसायीकरणतिर लैजान जरुरी छ । विविधता हाम्रो पहिचान हो । यो विकासको शक्तिआधार पनि हो । यहाँ कामकाज, व्यवहार, खेतीपाती, आनीबानी, धर्म, संस्कृति, लवाइखवाइदेखि हरेक कुराहरु हाम्रा रैथाने सम्पती हुन् । तर यिनीहरुलाई विकास प्रक्रियामा कसरी मूलप्रवाहीकरण गर्ने भन्नेबारे स्थानीय सरकारदेखि संघीय सरकारसम्मको एकरुपतापूर्ण नीति कार्यक्रम र व्यवहार हुनुपर्छ । यो कार्यले समविकासको भावनालाई प्रवद्र्वन गर्छ जसबाट समाजमा पछि परेका वर्गहरुलाई माथि ल्याउने सकिन्छ । यसबाट नै समावेशी विकास संभव हुन्छ । गरिबी नेपालमा विकाउ हुने विकासे मुद्दा बनाइएको छ । यद्यपी गरिब कस्तोलाई भन्ने भनेर प्रष्ट हुन सकिएको छैन । खान लाउन नपुग्नेलाई भन्ने हो कि, सोच गरिब भएकालाई गरिब भन्ने हो स्पष्ट हुन जरुरी छ । तर साँच्चिकै भन्ने हो भने नेपालमा गरिब नै छैनन् । गरिब थिए भने त यति धेरै कृषियोग्य जमिन बाँझो हुने नै थिएन । अरुमा आश्रित भएर बाँच्ने बानीका कारण यस्तो अवस्था आएको हो । त्यसैले परनिर्भरताबाट माथि उठ्नका लागि खेतीपाती गर्ने र जनशक्तिको सदुपयोग हुनुपर्छ । विकासका बारेमा जे जति बहस गरे पनि सबै कुरालाई निर्दिष्ट गर्ने भनेको राजनीतिले हो । यहाँ उल्लेख गरिएका सम्पूर्ण क्षेत्रको विकासको नेतृत्व लिने राजनीतिले भएका कारण राजनीतिलाई इमान्दार र विकासमुखी नबनाएसम्म अपेक्षा गरिएको सुधार हासिल गर्न सकिदैन । त्यसैले राजनीतिक दलहरुले आफु केन्द्रमा बसेर होइन, जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । आफु बिग्रिएर गए पनि राजनीतिलाई बिगारेर जानु हुँदैन । युवा पुस्तालाई पालो नदिनु, राजनीति गर्न न्यूनतम पढाइ, ज्ञान, शिप नचाहिनु, राजनीतिक पद्धति खस्किंदै जानु जस्ता कारणले हाम्रो राजनीति विकासमुखी हुन सकेको छैन । राजनीतिलाई एउटा देश विकास गर्ने दरिलो खम्बाका रुपमा बुझिनुपर्छ । एकले अर्काको काम र सोचलाई सम्मान गर्ने संस्कारको विकास हुनुपर्छ । सबै दलको मुख्य एजेन्डाका रुपमा देशको हित भयो भने विकास असम्भव छैन । त्यसैले देशको विकासका लागि राजनीतिक नेतृत्वलाई विकासका आयामहरुको बारेमा प्रशिक्षित गर्न आवश्यक छ । यो कार्य हरेक राजनीतिक दलले गर्नुपर्छ । उनीहरुको मूल एजेण्डा भनेकै सामाजिक र आर्थिक विकास हुनु पर्छ । यसो भयो भने नेपालको विकासले गति लिन्छ र यो गति जुनसुकै दलको सरकार आए पनि रोकिदैन । संसारका कुनै पनि देशको विकासका लागि प्राविधिक शिक्षाको महत्वपुर्ण भूमिका रहन्छ ।
नेपालमा प्राविधिक शिक्षा र व्यवसायिक तालिमको प्रभावकारीता न्यून देखिएको छ । एकातिर बजारले खोजेजस्तो जनशक्ति पाएको छैन, अर्कोतर्फ जनशक्तिले रोजगारी गर्ने ठाउँ पाएको छैन । यो रिक्तता पुरा गर्नका लागि प्राविधिक शिक्षालाई जोड दिनुपर्छ । प्राविधिक शिक्षाले कमाउन सक्ने क्षमता बढ्छ । विभिन्न कारणले पढ्न नपाएका व्यक्तिहरु दक्ष हुन सक्छन र उनीहरुको उत्पादकत्व समेत बढेर जान्छ । यसले देशको जिडीपी बढाउनसमेत मद्धत पुर्याउँछ । सिपविहिन मानिसलाई विकासका काममा जोडेपछि मात्र देश विकास हुन सक्छ । अर्थतन्त्र सुदृढीकरण गर्नका लागि प्राथमिक क्षेत्रको सबलीकरण गर्नु आवश्यक छ । यसका लागि वास्तविक कृषकलाई कृषि कर्जामा सुविधा र सहुलियतको माध्यमबाट उत्प्रेरित गर्नु पर्छ । कृषि बिमाको सहजीकरण गर्दै उत्पादनलाई बजारको सुनिश्चितता दिनुपर्छ । युवा र वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको मनोबल वृद्धि गर्ने वातावरण निर्माण गरी सामूहिक र सहकारी खेतीको प्रवर्धन गर्नु पर्छ । उर्वर भूमिको खण्डीकरणलाई नियन्त्रण गर्दै जग्गा एकीकरण गर्ने पद्धति विकास हुनु पर्छ । कृषिको जग बलियो बनाउँदै उत्पादकत्व वृद्धि गर्नका लागि सम्बन्धित निकाय सबैले अध्ययन, अनुसन्धान, नवप्रवर्तन र कृषि प्रयोगशालाको पर्याप्ततामा ध्यान दिनु पर्छ । उत्पादित कृषि वस्तुको बजार समर्थन मूल्य तोकी युवालाई कृषि पेसामा आकर्षण हुने वातावरणको निर्माण गर्नु पर्छ । कृषिका लागि अनुदान वितरणमा रहेका विविध समस्या क्रमशः हटाउँदै र घटाउँदै लैजानु पर्छ । कृषिमा लाग्ने उत्पादन लागत निरन्तर वृद्धि भइरहेको हुँदा कृषकलाई कुन जमिनमा कुन बाली लगाउँदा ठिक हुन्छ जस्ता कृषि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्छ । अब हामीले आधुनिक कृषि प्रणालीको विकास गरी अर्थतन्त्र बलियो बनाउने ढोका खोल्न सक्नु पर्छ ।
हाम्रो भू–उपयोग योजना अनुरूप भूमि बैंकको अवधारणा कार्यान्वयनमार्फत कृषियोग्य भूमिको व्यापक सदुपयोग गर्नुपर्छ । मौजुदा खाद्य प्रणालीलाई रूपान्तरण गरी दिगो, समतामूलक र उत्थानशील बनाउनु जरुरी छ । आधारभूत खाद्य वस्तुको आत्मनिर्भरता आजको आवश्यकता हो । यसका लागि कृषकका उत्पादनमा नाफाको सुनिश्चितता प्रत्याभूत हुने गरी समर्थन मूल्य तोक्नु पर्छ । कृषिमा उत्पादकत्व बढाउनका लागि सिँचाइ प्रणालीमा सुधार गर्नु पर्छ । यसैगरी प्रकोपजन्य क्षतिको न्यूनीकरण गर्न जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई स्वचालित बनाई पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउनु पर्छ । सबै स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण तथा भू–उपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्छ । भूमि बैंक र भूमि बजारको अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गर्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->