मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

क्षेत्रपाल अर्थात् भुमे देवता

क्षेत्रपाल अर्थात् भुमे देवता

जहाँ क्षेत्रपालको पूजा हुन्छ त्यससंगै महाकाली र शिवको पूजा पनि हुनु आवश्यक छ । किनभने यी काली र शिव क्षेत्रपालका मूलशक्ति मानिन्छन् ।


  • लकाश पौडेल
  • चैत्र ३० २०८०, शुक्रबार

हाम्रो देश नेपालमा स्थानीय रूपमा पूजा गरिने देवता भुमे हुन् । भुमे पृथिवी नभएर पृथिवीमा खेतीपाती गर्ने किसानका देवता हुन् । यिनको खास नाम ‘क्षेत्रपाल’ हो । यिनको प्राचीन कालदेखि नै पूजा गरिँदै आएको छ । किसानहरूले खेती लगाउने बेला र खेती उठाउँदा पनि भुमेको पूजा गर्दछन् । रासबाट धान भर्ने बेला पहिलो पाथी भुमेका नाममा छुट्याउने चलन अहिलेसम्म पनि चलिआएको छ । अहिले बागलुङ नगरपालिका वडा नं. १३ बलेवा पाउजाकोटमा रहेको भुमेस्थानको पुर्ननिर्माण हँुदै छ । यसको निर्माणमा समयमा नै पुराना सम्पदाको रक्षा र नयाँ निर्माण गर्दा केही विचार पुराउनु आवश्यक छ । नेपालका कोटहरूमा र मुख्य गाउँ र खेतका फाँटहरूमा भुमेस्थान रहेका छन् । कैया फाँटको हाम्रै खेतमा र अन्य गाउँ र ठाउँमा पनि भुमे स्थान रहेको पाइन्छ । भारतका धेरै ठाउँहरूमा ठुलाठुला क्षेत्रपाल मन्दिर (भुमेथान) छन् । रुकुम जिल्लामा भुमे गाउँपालिका नै छ । भुरे राजाका पालादेखि नै भुमेपाथी उठाउने व्यक्ति (दानी) र भुमेको पूजा गर्ने पुजारी तोकिएका हुन्थे । भुमेपूजाका लागि छुट्टै गुठी पनि छुट्टाइएको पाइन्छ । त्यसको अवशेष अझैसम्म धेरै ठाउँमा पाइन्छ ।
यहाँ भुमे स्थान र देउताको बारेमा केही प्रष्ट पार्ने प्रयत्न गरिन्छ –
१. भैरवहरूको उत्पत्ति र क्षेत्रपाल (भुमे) को परिचय
श्री लिंगपुराण अध्याय १०६ का अनुसार दारुक नामक असुरले ब्रह्माजीसंग ‘पुरुषबाट नमर्ने र कुनै स्त्रीबाट मात्र मर्नसक्ने’ वरदान पाएपछि उसको वध गर्नको लागि माता पार्वतीले महाकालीको एक उग्ररूप धारण गरेर प्रकट भइन् । असुरलाई वध गरेपछि पनि कालीको क्रोध शान्त भएन । अनि कालीकाको क्रोध शान्त पार्नका लागि आफै शिवजी रुद्रभैरवका रूपमा प्रकट हुनुभयो । कालिकाले क्रोधको आवेशमा शिवको रूप भन्ने नचिनेर खड्गले ५२ टुक्रा गरिदिइन् । यिनै ५२ टुक्राबाट ५२ भैरवहरूको उत्पत्ति भयो । यिनै ५२ भैरवहरूले स्तुति, नाचगान गरेर क्रोधित कालिकालाई शान्त गराए । यसपछि भैरवहरूलाई विभिन्न क्षेत्रका रक्षाका लागि खटाइए । यिनै मध्येका क्षेत्रपाल भैरवलाई भूमिको र खेतीपाती गर्ने किसानको रक्षा गर्नेगरी कार्य सुम्पियो । यही समयदेखि किसानहरूले भुमेका रूपमा क्षेत्रपालको पूजा गर्न थालेका हुन् ।
२. भैरवहरूमा प्रमुख भैरवहरू
भगवान भैरव एक रहस्यमयी देवता मानिन्छन् । समाजका अनेक अनिष्ट र दुष्ट आत्माहरूलाई नाश गर्ने, रोगव्याधीबाट बचाउने, सन्तान नभएकालाई सन्तान दिने र बालमृत्युबाट रक्षा गर्ने, मनुष्यको कल्याण एवं सेवकहरूका मनोकामना पूरा गर्ने दयालु देवता भनी हामी भुमेको पूजा गर्दछौं ।
भैरवहरूमा मुख्यतः तीन भैरवहरूलाई विशेष स्थान दिइएको छ । पहिला काल भैरव, दोस्रा बटुक भैरव र तेस्रा क्षेत्रपाल भैरव । पौराणिक मान्यताका अनुसार शिवका रूधिरबाट भैरवको उत्पत्ति भएको कारण भैरवहरूलाई पनि शिवकै अंशावतार मानिन्छ । सुरुका दुई भैरव बटुक भैरव र काल भैरव शिवका गण एवं पार्वतीका रक्षक मानिन्छन् । त्यस्तै क्षेत्रपाल हरेक क्षेत्रका अधिपति मानिन्छन् । कुकुर भैरवको वाहन मानिन्छ । शनिका मूल देवता पनि भैरव हुन् । त्यसैले शनिको आराधना गर्दा र वास्तुपूजा गर्दा क्षेत्रपालको पूजा अनिवार्य गरिन्छ ।
३. क्षेत्रपाल भैरव (भुमे देवता)
धेरैजसो मानिसलाई क्षेत्रपालका विषयमा जानकारी नहुन सक्छ । केवल भुमे भनेर मात्र यिनी लोकमा प्रसिद्ध छन् । यिनी कृषि क्षेत्रका अधिपति देवता हुन् । अनेक अनिष्टबाट बच्न यिनको पूजा गरिन्छ । वास्तु पूजामा यिनको पूजा अनिवार्य किन गरिएको हो भने – वास्तु गृहरक्षाका लागि गरिने शान्ति हो । यसमा क्षेत्रपाललाई मुख्य गृहरक्षक भनिएको छ । यिनको पूजाबाट घरमा सुखशान्ति र भूतप्रेत आदि र अनिष्टबाट रक्षा हुन्छ भन्ने विश्वास गरिन्छ । यिनी किसानका रक्षक र सहयोगी भनेर चिनिन्छन् ।

लेखक
भारत र नेपालका ग्रामीण क्षेत्रमा आज पनि क्षेत्रपालका मन्दिर देखिन्छन् । खास गरेर राजस्थान, उत्तरप्रदेश, विहार र उत्तराखण्डमा र नेपालका थुमराज्यका कोटघरसंगै र प्रमुख गाउँहरूमा क्षेत्रपाल (भुमे) का कैयौं थान पाइन्छन् । क्षेत्रपाल क्षेत्र विशेषका प्रमुख देवता हुन् । जसका अधीन उक्त क्षेत्रका प्राणी, वनस्पति र कृषिक्षेत्र रहन्छन् भन्ने विश्वास गरिन्छ । नेपाल र भरतका अधिकतर गाउँहरूमा क्षेत्रपाल, भैरवनाथ, खेडापति, हनुमानजी, सतीमाई, कालीमाई, सीतलामाई, डिही, ग्रामदेवता, भुमेमष्टो, वीरभद्र, झमाक्री र भुमे झाँक्री आदिका थान वा मन्दिर भेटिन्छन् । यी सबै ग्राम देवता हुन् । क्षेत्रपालको कुनै न कुनै रूपमा ग्रामिण क्षेत्रमा पूजा हुन्छ । स्थानीय नामले पनि कहीं पूजा गरेको देखिन्छ । भगवान भैरवनाथ भनेर कैयौं स्थानमा क्षेत्रपालको पूजा गर्दछन् । जहाँ क्षेत्रपालको पूजा हुन्छ त्यससंगै महाकाली र शिवको पूजा पनि हुनु आवश्यक छ । किनभने यी काली र शिव क्षेत्रपालका मूलशक्ति मानिन्छन् । क्षेत्रपाल र कालभैरव एक रूप हुन् भन्ने पनि छन् तर छुट्टै देखिन्छन् । लोक जीवनमा भगवान क्षेत्रपाल बाबा (भुमे) – भैरव, खेतल, खंडोवा, भैरू महाराज, भैरू बाबा, सिमे, भुमे, मष्टा, मष्टो, वीरभद्र, भुमेझाँक्री आदि नामबाट पनि जानिन्छन् । क्षेत्रपाललाई तराईतिर खेतपाल नामबाट पनि पुकारिन्छ । खेतपालको अर्थ पनि क्षेत्रपाल हो । यिनै क्षेत्रपाल हाम्रा भुमे देवता हुन् । यिनको सेवाबाट अनेक सिद्धि हुन्छ र मन्त्रसिद्धि गर्न पनि यिनैको आराधना गरिन्छ ।
अतः क्षेत्रपाल (भुमे) को पूजा गरी रोट वा नरिवल चढाउनाले मनोकामना पूरा हुने हुँदा बलेवा पाउजाकोटमा नवनिर्मित मन्दिरमा दर्शन पूजा गर्न जाऔं र आशीर्वाद ग्रहण गरी सुख शान्ति प्राप्त गरौं ।
श्री क्षेत्रपाल बाबाको जय ! जय ! ! इत्यलम् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->