बागलुङ/आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीसंगीसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
नयाँ वर्षको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनको अत्याधिक चाप बढेपछि मन्दिर व्यवस्थापन समिति तीन लाइनबाट मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाएको छ । ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएसंगै मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशभरबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चैत्राष्टमी मेला शुक्रबारबाट शुरु भएको हुँदा मेला हेर्न र मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भिड लागेको हो ।
देशकै पवित्र धार्मिकस्थलका रुपमा परिचित बागलुङ कालिका मन्दिरमा बडादशैँं र चैतेदशैँका बेला विशेष मेला लाग्ने गरेको छ । चैत्राष्टमीलाई लक्षित पूजाआजालाई विशेष रुपमा व्यवस्थापन गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । भक्तजनलाई व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन् ।




















