बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्थानीय उत्पादन : घट्दो व्यापार, बढ्दो तनाव (फोटाे फिचरसहित)

स्थानीय उत्पादन : घट्दो व्यापार, बढ्दो तनाव (फोटाे फिचरसहित)


  • रामृकृष्ण बोहरा
  • बैशाख ४ २०८१, मंगलबार

बागलुङ/बागलुङको वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका लाल बहादुर विक निगालोबाट बनेका डाली र नाङ्लो बिक्री गर्न बागलुङ कालिका भगवती मन्दिर मन्दिरमा लाग्ने चैत्राष्टमी मेलामा आएको चार दिन भयो । तर, सोचे जस्तो व्यापार नहुँदा विक खिन्न मुद्रामा भेटिए । ‘पहिले २५ हजार रुपैयाँसम्मको नाङ्ला/डालीको बिक्री गरिन्थ्यो, अहिले सोचेजस्तो व्यापार छैन’ विकले भने, ‘प्लाष्टिकका सामाग्रीको प्रयोग गर्ने बढ्दो प्रचलनले गाउँघरमा उत्पादित वस्तुले बिक्री ह्वात्तै घट्यो ।’ पछिल्लो समय मेलापर्वमा स्थानीय उत्पादनको व्यापार घट्दा यही पेशामा आश्रित परिवारलाई जीविकोपार्जनमा सामस्या भएको विकले गुनासो सुनाए ।

आरने पेशाबाट परिवार पालेका बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका ७२ वर्षिय बल बहादुर विकले यसपालिको मेलामा थोरै मात्र घरायशी काममा प्रयोग हुने कृषि औजार ल्याएर आएको सुनाए । विक भन्छन्, ‘सोचे जस्तो व्यापार छैन, धेरै सामाग्री लिएर आउँदा गाडी भाडा समेत तिर्न नपुग्ने अवस्था छ ।’ आधुनिक भान्साका सामान बहुउपयोगी हुँदा स्थानीय स्तरमा उत्पादन हुने झाँगा, हसियाको प्रयोग घट्दै गएको विक बताउँछन् ।

चैत्राष्टमी मेलामा बागलुङको ताराखोला, माझखर्क, काठेखोला गाउँपालिकाको तंग्राम, वडिगाडको जलजला, तमानको लामेला, धादिङ र तनहुँबाट घरायसी र कृषिमा प्रयोग हुने सामाग्री बिक्रीका लागि ल्याउने गरिन्छ । तीनदेखि कालिका मन्दिर परिसरमा दारका ठेका बिक्रीका लागि बसेका चितवन चलविरेका मिलन सुनार गाउँघरमा वस्तुभाउ पाल्ने प्रचलन हट्दै गएपछि ठेकाको व्यापार सुस्ताएको बताउँछन् । बजार अहिले सिल्टेका डेका सस्तो मुल्यमा पाइने हुँदा ठेकाप्रति उपभोक्ताको रुची घटेको विकको बुझाई छ ।

‘बसाईसराईले गाउँबस्ती हरेक दिन रित्तिदै जानु, बढ्दो वैदेशिक रोजगारले युवा पलायन हुँदा परम्परागत कृषि सामग्री लोप हुन थाले’ कुश्मा नगरपालिका वडा नं. ७ दुर्लुङ चोकबाट कृषि औजार र ठेका बिक्रीका लागि कालिका मन्दिर परिसरमा ग्राहक कुरिरहेका मन बहादुर विकले भने, ‘मेसिनसरी उपकरणप्रति आर्कषण बढ्दा स्थानीय उत्पादनमा रुची घट्दै गयो ।’ स्थानीय उत्पादनको घट्दो व्यापारले परम्परात पेशा लोप हुनुका साथै जीविपोर्जनमा समस्या आएको विक बताउँछन् । स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रर्वद्वन गर्न गाउँघरका सिंहदरबारले कुरा धेरै काम थोरै गर्दा स्थानीय उत्पादन लोप हुँदै गएको गलकोट नगरपालिका वडा नं. ४ नरेठाँटीका मादल व्यवसायी अमृत बोहराको बुझाई छ । बोहराले प्रश्न गर्दै भने, ‘गाउँघर र मेलापातमा झाम्रो र दोहोरी चल्न छाड्यो, कस्ले मादल डम्फु किन्ने ?’

कला, संस्कृतिसंगै स्थानीय उत्पादनलाई प्रवद्र्वन गर्ने उदेश्यले गरिने मेला महोत्सवमा चर्चा धेरै भएपनि प्रोत्साहन र प्रवद्र्वनमा सरोकारवाला निकायले खासै चासो नदेखाएको बोहराको गुनासो छ । स्थानीय उत्पादनको प्रयोगलाई बढाउन सके गाउँघरमै स्वरोजगार सिर्जना गर्नुका साथै बढ्दो पुँजी पलायन रोक्न सकिने व्यवसायीको तर्क छ ।

मेला महोत्सवमा हुने व्यापारबाट परिवारको गर्जाे पार्ने व्यवसायी स्थानीय उत्पादनमा अपेक्षाकृत रुपमा आर्कषित नहुँदा फुर्सदिला देखिन्थे । पुख्र्यौली पेशाबाट आश्रित परिवारलाई भान्सा र कृषि क्षेत्रमा प्रयोग हुने सामग्रीको व्यापार घट्दा वैकल्पिक पेशा अपनाउनुपर्ने विकल्प नरहेको व्यवसायी बताउँछन् । प्लाष्टिकजन्य सामाग्रीको प्रयोग कम र परम्परागत सामाग्रीको बढाउन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने मादल व्यवसायी बोहराको राय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->