पोखरा / पीडा, दुःख प्रायः सबैले भोगेका विषय हुन् । यीनले मानिसलाई परिपक्क हुन सघाउँछ । निखारता थप्छ । तर, भोगेका विभिन्न घटनाका कारण कतिपयलाई जतिबेला पनि पिरोल्छ । त्यसैलेत पुराना याद भुल्न पाए जीवन सहज हुने थियो कि भन्ने सोच धेरैलाई हुन्छ । प्रविधिको विकाससँगै यस्ता स्मृतिलाई हटाउन सम्भव होला त ?
हुनतः अहिलेसम्म मानिसलाई आवश्यक नभएका स्मृतिमात्र सजिलै बिक्री गर्न वा मेटाउने मेसिन बनिसकेको छैन । तर, त्यस्तो सहज खालको मेसिन भयो भने के होला ? अझ स्मृति बेचेर आम्दानी नै गर्न सक्ने अवस्था आयो भने कस्तो होला । पक्कै धेरैं मानिस आफ्ना स्मृति बेचेर पीडा र यादबाट मुक्त हुन्थे होला । वास्तविक जीवनमा सम्भव भइनसके पनि यो विषय नाटकमा भने सम्भव भइसकेको छ । जुन नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला मञ्चन भइरहेको छ ।

आफ्नो मायालुको प्रतिक्षामा रेष्टुरेन्टमा बसेका युवाको गतिविधिसँगै नाटक सुरु हुन्छ । ढिलागरी उनकी प्रेमिका ‘सम्झना’ आइपुग्छिन् । हसी मजाक, रिस–आवेग, माया–प्रेम उनीहरुले तहाँ देखाउँछ्न । ती युवा सम्झनाको मायाजालमा फसिसके । तर, यसरी मायागरेकी प्रेमीकासँग उनको विछोड हुन्छ । प्रेमिकाको याद भुल्न विभिन्न उपाय खोज्छन् तर सफल हुँदैनन् । अनि उनको याद मेटाउन स्मृति बिक्री केन्द्रमा पुग्न उनी विवश हुन्छन् ।
उनी मात्र हैन, नाटकमा रहेका फरक–फरक पात्र आफ्ना स्मृतिलाई बेच्न स्मृति विक्रि केन्द्रमा पुगेका छन् । सबैका स्मृति एउटै छैनन् । वृद्धाश्रममा बस्न वाध्य आमा जो छोराको स्मृतिले पिरोलिएकी छन्, बाध्यताले यौनकर्मी बन्नुपरेकी युवती, दुईसय पटक स्मृति बेचेर त्यो पैसाले रक्सी खाने पुरुष लगायतकाको भीड तहाँ लागेको छ ।
उनीहरुले स्मृति बेच्नको लागि केही नियम पालना गर्नुपर्ने हुन्छ । १८ वर्ष मुनि र ७० वर्ष माथिकाले स्मृति बेच्न पाउने छैनन्, स्मृति किन्न वा बेच्न आउने महानुभाबहरुले अनिवार्य रुपमा आफ्नो परिचयपत्र लिएर आउनु पर्नेछ । शारीरिक तथा मानसिक रुपमा कमजोर मानिसले स्मृति बेच्न पाउने छैनन्, संस्थाको सदस्यता लिनुभएका महानुभावहरुलाई विशेष सहुलियत हुनेछ, स्मृति बेचेपश्चातको अवस्थाको परिमाणमा संस्था जिम्मेवार हुने छैन । बेचिसकेको स्मृति फिर्ता लिन शुल्क तिर्नुपर्नेछ ।
यी नियमको पालना गरेर स्मृति बेच्न सकिने भनेर जानकारी गराइन्छ । नियम पूरा गरेर बेचेका स्मृतिलाई किन्नेहरुको भीड समेत उस्तै छ । परिचयपत्र नहुँदा स्मृति बिक्री गर्न नपाएर निराश भएर फर्कने समेत तहाँ छन् । स्मृति बिक्री केन्द्रमा प्रवेश गर्नु भन्दा अगाडि नियम पालना गराउन खटाइएका सुरक्षा गार्ड तल्लीन छन् । तर, उनीसमेत पीडाबाट मुक्त भने छैनन् ।
स्मृति बेचेर नयाँ जीवन जीउन खोजेका मात्र होइनन्, स्मृति बेच्न खोज्दा सबै स्मृति नमेटिएर समस्यामा परेकी महिला पनि छन् । ती महिलाले ‘कि पैसा दे कि स्मृति फिर्ता दे’, ‘धोका दिन पाइँदैन न्याय चाहियो’प्ले कार्ड लिएर स्मृति बिक्री केन्द्र अगाडि धर्नामा बसेकी छन् । नाटकको सुरुवात देखि अन्तिमसम्म स्मृति बिक्री केन्द्रमा देखिएका यस्ता दृश्यले दर्शकलाई ध्यान खिच्न सफल हुन्छ । सोचनीयसमेत बनाउँछ । हुनत आफ्ना पुराना यादकै सहारामा वर्तमानमा रमाउने समेत हुँदै नभएका भने होइनन् ।

बुद्धिसागरले लेखेको कथालाई नाट्य रुपान्तरण ऋतेशले गरेका हुन् । ‘यो मेसिन भएको भए हामी के गथ्र्यौ त ? तर, कोही फेरि त्यसको सहारामा पनि त बाँच्छ, यो कुराले छोयो,’ उनले भने । उनले नाट्य रुपान्तरण गरेको एक वर्ष भएको बताए । शब्दहरु मञ्चमा खेल्दा खुशी लागेको उनको प्रतिक्रिया थियो ।
नाटकका निर्देशक ध्रुव पौडेलले पोखराको रंगमञ्चमा फरकधारको नाटक मञ्चन गरौं भन्ने मनसायले यो नाटक जन्मिएको बताए । ‘हामीले आफ्नो तर्फबाट गर्न सक्ने गरिसकिएको छ, यो कोसेली हजुरहरूसमक्ष छोड्दैछौँ,’ उनले भने । आफूले टीम जुटाउने काम मात्र गरेको तथा बाँकी रहेको काम सबै टीमले गरेको हो भन्दै सबैको बराबर मिहिनेत एवं कोशिस रहेको उनले खुलाए ।
नाटक मञ्चन गर्न सहज नभएको भन्दै स्टेज पछाडिको चुनौतीलाई छिचोल्दै मञ्चन गर्न सफल भएको भन्दै नाटक हेरेर माया गरिदिन आग्रह समेत गरे । लेखक बुद्धिुसागर आफुले लेखेको कथा नाट्य रुपान्तरण भएर नाटक मञ्चन हुनु हर्षको खबर भएको बताउँछन् । कलाको एक माध्यम अर्कोमा पुनः सिर्जना हुनु सुखद पक्ष भएको उनको भनाइ छ ।
‘मिथ्या’ उपन्यासका लेखक दीपक पराजुलीले पहिल्यै पढेको कथा नाटकमा आउँदा संवाद कस्तो फममा आउँछ भन्नेमा उत्साहित भएको र असाध्यै राम्रो फममा आएको भन्दै तारिफ गरे ।
नाटकमा प्रमिला तुलाचन, लक्ष्मण डुम्रे, विभु भुसाल, राजेन्द्र अधिकारी, जनक पराजुली, गोविन्दरमण पराजुली, विष्णु तिमिल्सिना, प्रसुना भण्डारी, प्रियंका खड्का, शितला अधिकारी, उमा पुन, कविता घर्ती मगर, सन्देश भण्डारी सेण्डी, सन्देश पौडेल, सुस्मिता काप्री, दुर्गा चौरासियाको अभिनय हेर्न पाइन्छ ।
नाटकमा प्रयोग गरिएको गीत र संगीतले नाटकलाई परिपक्क बनाउन सघाएको छ । जसको लागि मिलन गिरी, आर्जव पौडेल, एलिसा भोग, प्रशान्ती राईले नाटकको सुरुवात हुनु भन्दा अगाडिबाट अन्तिमसम्म आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका छन् ।
शब्द/तस्वीर : राजाराम पौडेल/पोखरा





