गोर्खा / जिल्ला अस्पताल गोर्खाले मलद्धारभित्र अड्केको औषधिको बोतल शल्यक्रिया गर्दै निकाल्न सफल भएको छ । गोरखा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा १ महिनादेखि किटनाशक औषधिको बोतल अड्केको थियो।
बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएपनि त्यसको संक्रमण शरीरमा फैलिएपछि उनी अस्पताल पुगेका थिए । सोमबार विहान अस्पतालको इमर्जेन्सीमा आएका उनको एक्सरे गरेर हेर्दा मलद्धारभित्र बोतल देखिएको थियो । उनको अवस्था जटिल देखिएपछि तत्कालै अप्रेशन कक्षमा लागि दुरबिनबाट आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया सुरु गरिएको थियो ।
उक्त शल्यक्रिया ३ घण्टासम्म चलेको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषको शल्यक्रिया अस्पतालका सर्जन डा. जितेन्द्र कुमार सिंह र डा. विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा.शम्भु अधिकारी लगायतका टिमले मलद्धारबाट १०×७.५ सेमी को डब्बा निकालेका हुन।
अस्पताल आउँदा बिरामीको अवस्था जटिल थियो शल्यक्रिया पश्चात् बिरामीको होस आइसकेको र हाल बिरामीलाई आइसियु कक्षमा राखी उपचार भैरहेको अस्पतालले जनाएको छ





