बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

औलोका बिरामीको पहिचानमै समस्या

औलोका बिरामीको पहिचानमै समस्या


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

म्याग्दी/स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुँदा समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ति र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ ।
विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा वार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताए ।
उनका अनुसार म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताए । जिल्लाभर स्वास्थ्य संस्थामा पर्याप्त प्रयोगशाला नभएको अवस्थामा स्वास्थ्य कार्यालयमा दरबन्दी अनुसारको जनशक्ती भएमा सहज हुने प्रमुख ठकुराठीको भनाई छ ।
म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङबाहेक अन्नपूर्ण गाउँपालिकामा २, रघुगंगा गाउँपालिकामा २, मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन । दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा वर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताए ।
जिल्लामा निजी स्वास्थ्य संस्थाको प्रभावकारी समन्वयको अभावका कारण पनि शंकास्पद बिरामीको पहिचानमा समस्या भएको र सचेतनामुलक अभियानको अभावका कारण रोगीले समेत समयमै उपचार नपाउने अवस्था रहेको छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ मा १२ जना, ०७८÷७९ मा १३ जना र २०७९÷०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो । यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्षमुनिका बालबालिका रहने गरेका छन् ।
संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीवि मात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ । टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->