मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : उद्घाटनपछिको अवस्था

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : उद्घाटनपछिको अवस्था

पोखरा एयरपोर्टलाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक चपेटामा धकेलिदियो । जसले गर्दा आजसम्म पनि यहाँबाट भारतका सहरमा उडान हुन सकेको छैन ।


  • आनन्दराज मुल्मी
  • बैशाख १६ २०८१, आइतबार
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः राधिका कँडेल÷ रासस

२०७९ पुस १७ गते प्रधानमन्त्रीले हतारमा उद्घाटन गरे । नेपालमा जस लिनका लागि उद्घाटन र शिलान्यास गर्ने गरिएको थुप्रै उदाहरणहरु सहितका आयोजना हरु छन् । अझ अचम्मलाग्दो कुरा एउटै आयोजनाको शिलान्यास र उद्घाटन कैयन व्यक्तिहरूले कैयनपटक गरेका उदाहरणहरू प्रशस्त छन । यो विमानस्थल चाहिँ हतारमै शिलान्यास हतारमै उद्घाटन सम्पन्न भएको हो । किनभने, २०७२ चैत्र ८ गते नेपालले ऋण पाउने गरी एक्जीम बैंकसँग सहमति भएको २२ दिनपछि शिलान्यास गरिएको थियो । त्यसरी नै निर्माण कार्य पूरा नभइ चिनियाँ विदेशमन्त्रीको २०७९ चैत्र महिनामा नेपाल भ्रमणताका पोखरा विमानस्थल सम्पन्न भएको भनी नेपालका परराष्ट्रमन्त्री लाइ हस्तान्तरण गरिएको थियो । त्यस निर्माणको बेलासम्म लगभग ९० प्रतिशत काम मात्र सम्पन्न भएको थियो । थुप्रै महत्वपूर्ण कामहरू जस्तैः पानी निकासको व्यवस्था, एकतर्फको ढिस्को भत्कने क्रम नरोकिसकेको, डाँडा काटने काम पूरा नभएको र अझ महत्वपूर्ण काम फोहोर थुप्रिने ल्यान्डफिल्ड साइट त्यहाँबाट कता सार्ने भन्ने कुरा यकिन नभएको, जाइकाले कोलपाटनमा निर्माण गरिएको ठूलो पानी ट्याङ्कीलाई व्यवस्थित गर्न नसकेको, जहाज अवतरण र उडान गर्न आवश्यक यन्त्रहरू जडान नगरिएको, कार्गो भवन, जहाज मर्मतसंभार गर्न चाहिने ह्याङगर, जहाजलाई चाहिने हवाइ इन्धन भण्डारण व्यवस्थित हुन नसकेको आदि महत्वपूर्ण कामहरु बाँकी रहँदा छिटो नेपाल सरकार लाई हस्तान्तरण गर्न खोज्नु र नेपाल सरकारले पनि काम बाँकी हुँदाहुँदै पनि स्वीकार गर्नुको पछाडी राजनीतिक बाध्यताको कारण हो वा के हो बुझ्न कठिन छ ।
गडबडीको आशंका व्यापक भइरहेको अवस्था, यस्ता गतिविधि हुनुले थप शंका जन्माउनु स्वभाविक हो । तैपनि विमानस्थल संचालन हुने भयो भन्ने आशाले नयाँ रक्तसंचार भइरहेको थियो ।निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले यस विमानस्थललाई आधार बनाएर भारतका केही सहर, नेपालकै अन्य सहरहरुमा सिधै उडान सञ्चालन गर्ने घोषणा अनुरुप अनुमतिका लागि नेपाल सरकारसमक्ष अनुरोध गरी पठाएको प्रचार भइसकेको थियो । तर, सरकारी संयन्त्र प्राधिकरण र नेपाल वायुसेवाले कुनै प्रकारको व्यावसायिक योजना कुनै प्रचार–प्रसार गरेन । उद्घाटनका अवसरमा कुन सहरबाट जहाज अवतरण गर्ने, कुन वायुसेवाले नियमित हवाइ सेवा संचालन गर्ने हो कुनै कार्यक्रम जानकारी गराएन । तैपनि हवाइसेवा अन्य देशका सहरहरुमा संचालन हुने कुरामा ढुक्क थियौं ।

लेखक आनन्दराज मुल्मी ।

आनन्दराज मुल्मी
तर, जब प्रधानमन्त्रीले उद्घाटन गर्ने दिन नजिकिँदै थियो, कुन सहरबाट उडान–अवतरण गर्ने हो वा पोखराबाट उडने भन्ने जिज्ञासा रहिरह्यो । यस्तै अन्योलताका बीच उद्घाटन भयो – पोखरा महानगरपालिकाले पालिकाभर छुट्टी दियो । सबै नागरिकलाई आफ्नो आन्दोलनले सार्थकता पाएको अनुभूति तथा आन्दोलनको दबाबमा निर्माण सम्पन्न भइ उडानयोग्य भएकोमा आफैले गौरवान्बित महशुस गरेको क्षण थियो । आन्दोलनमा, बहसमा, जुलुस, ¥यालीमा, सहभागी भएकाहरु उद्घाटनको क्षणको पनि साक्षी भए । स्वामित्व लिन र अपनत्व देखाउन आतुर बने । तर उद्घाटनका दिन न कुनै जहाजहरु यात्रु बोकेर विदेशबाट आए, न कुनै यात्रु बोकेर विदेशतर्फ उँडे । यो पोखरेलीहरुको लागी अचम्मित बनाएको क्षण थियो । सुरुमा क्षेत्रीय भनेर उद्घोषण गरेको सरकार र प्राधिकरणले क्षेत्रीय नभनिकन ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ भनेर नामाकरण ग¥यो । जुन त्यसबेलाका सिँहदरबारमा बस्नेहरुको प्राधिकरण पोखरामा विमानस्थल बनाउनु हुँदैन भनेर लाग्ने कर्मचारी संगठनसँग आवद्ध कर्मचारीलाई गतिलो झापड दिएको अनुभव भयो ।
तर, त्यही उद्घाटन गरेको क्षण बोल्ने बेलामा नेपालस्थित राजदूतावासका प्रतिनिधिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चीनको ‘वेल्ट एण्ड रोड इनिसियटिभ’ कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएको हो भनेर बोले । जुन सरासर झुट थियो । पहिलो यो विमानस्थल निर्माण गर्ने सहमति सन् २०११ मा नै नेपाल सरकारको पर्यटन मन्त्रालय र ठेकदारको रूपमा कामगर्ने सिएएमसीबीच भइसकेको थियो । सन २०१२ मा इपिएस मोडलमा निर्माण गर्न नेपाल सरकारले टेण्डर आह्वान गरिसकेको थियो र चिनियाँ प्रधानमन्त्रीले विमानस्थल निर्माण गर्न ऋण सहयोग गर्ने घोषणा गरेका थिए । चीनको बिआरआई कार्यक्रम २०१३ मा मात्र घोषणा गरेको थियो र २०१७ मा चीनका राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमण आउदा प्रस्ताव गरिएका ६५ वटा आयोजना कार्यक्रममध्ये ९ वटा आयोजना बीआरआई सहयोगअन्तर्गत निर्माण गर्ने सहमति भएको थियो र त्यो ९ वटा कार्यक्रममा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समाविष्ट थिएन । तैपनि त्यस उद्घाटन कार्यक्रममा उपस्थित रहेका तत्कालीन अर्थमन्त्री र वर्तमान प्रधानमन्त्रीले यो विमानस्थल बीआरआई कार्यक्रमअन्तर्गत पर्दैन भनेर भनेनन् । यहीँबाट सुरु भएको थियो–विमानस्थल भूराजनिति, कुटनीतिबाट प्रभावित भएको आशंका । सबैलाई थाहा भएकै थियो–चीनको बीआरआई कार्यक्रम भनेको आफ्नो राजनैतिक प्रभाव विश्वका सबै महाद्धिपमा विस्तार गर्ने औजार हो । उसले बीआरआईअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएर (ऋण र अनुदान) त्यो देशमा चीनको उपस्थितिलाई मजबुत बनाउने रणनीतिलाई नेपालको छिमेकी देश भारतले जहिले पनि असहमती जनाएको र यसले द्वन्द्व बढाउन सक्ने अभिव्यक्ति दिँदै आएको थियो । यद्यपि, भारत र चीन दुबै बीआरआईमा काम गरिरहेका थिए र त्यो अहिले पनि छ । आर्थिक रूपमा दुई देशको व्यापारिक गतिविधिहरू तीब्ररुपमा बढी रहेको पाउँछौ । यदाकदा भारत–चीन सीमामा खटपट र एक अर्काबीच सीमाभित्र प्रवेश गर्ने गरेको, सेनालाई धपाइएको कुरा बारम्बार हामी सुन्दै आएका छौं । तर, दुई देशको तुलनामा सानो देश नेपालको प्रमुख सहरमा बनेको यो विमानस्थललाई चीनले भूराजनीतिक विवादमा पारिदियो । जसले गर्दा नेपालले आजसम्म पोखराबाट भारतका सहरहामा उडान गर्ने अनुमति पाउन सकिरहेको छैन । पोखराबाट बनारस र नयाँ दिल्ली उडान गर्न तयार भएर बसेको बुद्ध एअरले उद्घाटन भएको १४ महिनापछि पनि कुनै उडान तालिका बनाउन पाइरहेको छैन । यतिका समय बितिसक्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको जहाजहरु न पोखरा विमानस्थलमा पाइला टेके न त उडान तालिका बारे चासो लिए । नागरिक उड्डयन प्राधिकरणको त कुरा गर्न परेन । निर्माण सुरू भएको दिनदेखि आजसम्म कसरी संचालन गर्ने भनेर चिन्ता नै लिएन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->