पृष्ठभुमिः
आज मे १ को दिन नेपाललगायत विश्वका सबै देशहरुमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । पहिला पहिला यो दिवस मजदुरहरूले र समाजवादीले मनाउँथे । तर अहिले नेपाललगायत धेरैजसो पूँजिवादी देशहरुले पनि मनाउँदा यसको उपदेयता र गरिमामाथि द्विविधा पर्न थालेको विश्लेषण गरिएको छ ।
इतिहासको सार
श्रमिक दिवस सन् १८८९ मे १ देखि अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको छ । त्यस समयमा पहिलो औद्योगिक क्रान्ति सकिएर दोस्रो औद्योगिक क्रान्ति (१८७०–१९१४) सुरु भएको थियो । त्यसैले औद्योगिक क्षेत्रमा लाखौँको संख्यामा मजदुरहरू काम गर्दै थिए । तर उद्योगहरूका मालिक पुँजीपतिहरूले दिनको १६ देखि १८ घन्टासम्म काम लगाउँदा पनि पेटभर खान दिँदैनथे । यस्ले श्रमको फल र सम्मान माथि श्रमिक लाई कुठाराघात भएको थियो । अत्यन्त कम ज्यालामा, श्रमिक मजदुरहरुले ज्यानको बाजी राखेर श्रम गर्न बाध्य थिए । उच्च जोखिम श्रममा श्रमको उचित मुल्य हुदैन थियो । यसैले यो दिवस श्रमिक वर्गको श्रमको सम्मान, समानता र मुक्तिको लागि मनाउन थालिएको इतिहास छ । यहि ऐतिहासिक परम्पराअनुसार श्रमिक दिवस विश्वभर मनाउने गरिएको हो ।
नेपालमा श्रमिक दिवसको विश्लेषण
१०४ बर्षसम्म नेपालमा भने श्रमिक दिवस श्रम गरिखाने मानिसहरुले भन्दा श्रम नगर्ने मानिसहरुले श्रमिक दिवस मनाईरहेका छन् । श्रमिकका नाममा बिदा गरेर कर्मचारी, विद्यालय, विद्यार्थी र नेताहरुले जनताको नाममा काम नगरी तलब, भत्ता खाने, गरि उल्टो श्रमिकलाई शोषण गरिरहेका देखिन्छ । श्रमिकको सहभागिता बिना नै श्रमिकको नाममा स्थानीय स्तरदेखि राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म सरकारी, गैरसरकारी र अन्तराष्ट्रिय निकायहरुले लाखौं खर्चेर यो दिवस मनाउने प्रचलन कायम छ । उता श्रमिक भने श्रम नगरी हातमुख जोर्न अभाव हुने भएकोले आफ्नो दैनिक काम र श्रम गर्न जान्छन् । यति मात्र हैन, श्रमिक दिवसबारे श्रम गरिखाने मानिसलाई थाहा नै दिंदैनन, थाहा पाएपनि बेवास्ता गर्छन् । यसले श्रमिक वर्गको कुनै हित र महत्व राख्दैन । श्रमिक दिवसको गरिमा र मर्म माथि प्रश्न गर्नु सचेत नागरिकको कर्तब्य भएको छ । बरु यसले उल्टो श्रमिक वर्गकै नाममा शोषण भएर मानव अधिकार हनन् गरेको विश्लेषण गरिन्छ । मानव अधिकारको हनन् राज्यले मात्र गर्नसक्छ, यो दिवसको घोषणा र कार्यक्रम विश्वभरका राज्यले नै गरिरहेका छन् । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हरेक ठाउँमा हुने तथ्यलाई नकार्न नसकिएता पनि श्रमिक वर्गमा भने यो समस्या जिउँदो जाग्दो रहेको छ ।
नेपालमा सबैभन्दा धेरै श्रम गर्ने हलि, सबैभन्दा राम्रो फलाउने किसानलाई सम्मान गर्ने परिपाटी देखिएको छैन ।

सीताराम थापा
नेपालमा धेरै बर्षदेखि मनाउदै आएको श्रमिक दिवसको सन्दर्भमा कुरा गर्दा नेपाली श्रमिक भनेको कृषि श्रमिक हुन तर किसानहरु घनिभुत भएको ठाउँमा अहिलेसम्म श्रमिक दिवस मनाएको छैन भन्दा अत्तियुक्ति नहोला । श्रमिक दिवसमा सबैभन्दा धेरै श्रम गर्ने हलि, सबैभन्दा राम्रो फलाउने किसानलाई सम्मान गर्ने परिपाटी देखिएको छैन । श्रमिक भन्ने बित्तिकै नेपालमा भने जातिय आधारमा पद, दलित, गरिब, महिला, सुकुम्बासीहरु हुन । उनीहरुले नै परम्परादेखि आजसम्म श्रमका कामहरु खेतीकिसानी, भारी बोक्नेदेखि सबै श्रम गरेर आम नेपालीलाई पालनपोषण गरे । यति मात्र नभएर सिल्पी पेशा भएका दलितहरुकै सीप र रगत पसिनाबाट आर्जेको मुलुकमा उनीहरुले बजाउने बाजा, सिलाउने कपडा र फलाम तथा काठका बुट्टाहरु सजाउने कर्म आजसम्म गरेका छन् । तर ती सिपको र पसिनाको फलको लागि श्रमिक दिवसमा कहिल्यै सम्मान भएन र सृजनाको लेखाजोखा गरिएन । उनीहरुलाई दास युगदेखि आजसम्म श्रमिक बनाईयो ? अपमानित बनाईयो ? उल्टो श्रम अनुसारको ज्याला नदिएर अपमानित र शोषण गरियो ।
नेपाली घरानाको अर्का श्रमिक भनेको आधा धर्ति ओगटेका महिला, स्त्रीहरु हुन् । उनीहरुलाई आदिम साम्यवाद तथा मातृसत्ता पछि घर र बाहिर श्रमिक बनाईयो । अहिलेका ठूला ठूला रुपान्तरण र परिवर्तनले आज पनि उनीहरु पढेको र महिला सहभागिताको नाममा घरभित्र र घर बाहिर श्रमको बोझ थपिएको छ । श्रम शोषण मन्द बिषको गतिमा अभिबृद्वि बढेको छ । यस अवस्थामा आईपुग्दा पनि घरभित्र र लालाबाला हुर्काउने कर्म र जिम्मेवारी प्रगतिशिल घर परिवारमा पनि महिलाकै भागबिलो लगाईएको हुन्छ । यसले उनीहरुलाई नेपालको श्रमिक इतिहासमा दरिन विवश भएता पनि उनीहरुलाई श्रमिक दिवसमा नेतृत्व, पहुँच र सहभागिता सुनिश्चित कहिल्यै गरिएन । कहिल्यै श्रमिक नारीहरुलाई श्रम र सिपको सम्मान गरिएन । बरु उनीहरुलाई पुरुष प्रधान संरचनाको श्रमिककै भुमिका थोपरियो । नेपालमा ठुला औलामा गनिने सबै राजनीतिक दलका ट्रेड युनियन छन् । तर तिनीहरुले पनि राजनीतिक संरक्षण दिएर यस्तो गलत संस्कृतिको प्रश्रय दिए । श्रमिक वर्ग सर्वहारा वर्गको अधिनायकत्व भनिएको हंसिया हथौडा दलबलले पनि यिनै नारा रट्ने कर्म निरन्तर गरे । बरु यी र यस्तै नारामा सत्ता आसिन भए तर लामो इतिहासको समिक्षाको घडिमा उनीहरुका लागि सत्कर्म गर्न सकेनन्, सापेक्षिक रुपमा परिवर्तन भएको पक्षलाई भने नकार्न सकिँदैन । व्यवस्था परिवर्तन, संविधान र नीति परिवर्तनको आंशिक प्रभावलाई सत्प्रयासको रुपमा सकरात्मक चिन्तन गर्न मात्र सकिन्छ ।
नेपालको सन्दर्भमा अहिलेको रुपान्तरणले पनि श्रमिक वर्गको अधिनायकत्व प्रदान गर्ने त के श्रमिकका लागि न्यायोचित नीति कानून र व्यवहार प्रर्दशन गरी श्रमिक दिवसमा उनीहरुलाई मुल प्रवाहमा ल्याउन सकेको छैन । यसतर्फ आम नागरिक समाज सचेत र सजग भएर आवाजबिहिनहरु भनिने श्रमिक प्रधानमैत्री वातावरण निर्माण गर्न जोडदिनु पर्दछ । श्रमिक दिवसकै नाममा श्रमिक वर्गलाई अपमानित हुने र सम्मानित नहुने कु–प्रथालाई बदल्न एक ढिक्का हुनुपर्दछ । श्रमिक दिवसकै दिनहरुमा हेर्दा श्रम गर्ने महिला वा कामदारलाई कफी बनाउन लगाएर महलमा बसेर कफि पिउँदै सामाजिक संजालमा अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना वा श्रमिकको लागि केही नगर्ने सरकार दलबल भनेर सुकुमार बनेको हातहरुले लेख्नेहरुको ओईरो देख्न सक्नुहुन्छ ।
श्रमिकलाई गाली गरेर चिया कफीको चुश्कि लिंदै महलमा ल्यापटप थिचेर शुभकामना आदानप्रदान मात्र हैन, दिवस मनाएर बचेखुचेको रकम वा भत्ताको पैसाले व्हीस्की बियर पिउने पनि कम छैनन् । यतिमात्र कहाँ हो र ? पढेलेखेका तर वास्तविक र ब्यबहारिक रुपमा शिक्षित नभएका महल र पजेरोबाजहरु बिदाको दिन जनताको तलब पचाउदै श्रमिक दिवसबारे ठुल्ठुला भाषा खेती गरि लेख, कथा लेख्न विवश हुन्छन् । उनीहरु लेख्छन् ‘श्रमिकलाई सम्मान नगरेसम्म र उनीहरुलाई सेवा नदिएसम्म श्रमिकको हक सुनिश्चित हुदैन’ यो दल वा सरकारले श्रमिकको खाँतिर सिन्को भाँचेन, हाम्रो पालो आए श्रमिक वर्ग मालामाल’’ आदि ईत्यादि । यो सुकुमार हातहरुले लेखेर नेपाली ठुला मिडिया हाउस कब्जा गर्छन् । पत्रपत्रिका उनै महलको आलेखमा सिमित दास हुन्छन् । तर श्रमिक वर्गलाई न त यो संरचनाले लेख्न सिकाउँछ, नत कसैले प्रयास गरे । ठुला मिडियाले स्थान आदिम सभ्यतादेखि दास युगिन आरम्भ भएको श्रमिक मानव ब्यापारमा खास उल्लेखनिय सुधार आउन सकेको छैन ।
यी सब हुनुको मुल कारण भनेको हरेक ठाउँमा माफिया छ । राजनीति, अर्थ, शिक्षा, स्वास्थ्य, संस्कृति सबै सबैमा । सबै ठाउँमा भएका माफियाले चलाएको देशमा जो माफियासंग जोडिन उच्च वर्ग वा आसेपासे, वा नातावाद, कृपावाद हुनै पर्छ । अहिलेसम्म वर्गिय हिसाबले जातीय र लिंङ्गिय हिसाबले सबैभन्दा पिँधमा परेको शोषित–पीडित श्रमिक वर्गले माफियासंग समाहित हुनै सक्दैन । एकाध कुनै वादबाट परेछ भने भाग्यको लेखान्तर एउटा श्रमिकले लित्कोपित्को नपाउला भन्न सकिदैन । श्रमिकलाई नै देखाएर उनैलाई प्रयोग गरेर उनकै शोषण गर्ने प्रथालाई नभत्काएसम्म नबदलेसम्म श्रमिक दिवसमा श्रमिकको सम्मान हुने र श्रमिकको लागि नीति बनेर श्रमिक दिवस श्रमिकको पहुँचमा पुग्नै सक्दैन । श्रमिक दिवस श्रमिक वर्गकै नेतृत्व, पहुँच र नियन्त्रणमा हुने दिन कहिले आउला ? अनुमान गर्नसम्म सकिँदैन । बरु श्रम मन्त्रालय, ट्रेड युनियन, सत्ता, परियोजना, विदेशी नियोगमा बसेर श्रमिकको लागि राष्ट्रिय अन्तराष्ट्रिय र स्थानीय स्तरमा समेत उनै माफियाधारी ब्यक्तिहरु सम्मानित हुन्छन् । देशविदेश सयर गर्छन् र श्रमिकको नाउँमा टाउकोमा टेकेर गिर खेल्छन् । उनै माफियाको आसन ग्रहणमा, उनको बाचन र प्रवचन सुन्न, उनकै अरनखटनमा हस्याङ–फस्याङ गर्दै तल बस्न र ताली हान्न भने श्रमिक नै नपुगि धरै छैन । किनकी माफियाले चलाएको संरचनामा यो कायम हुन्छ । आदेश पालना त के माफियालाई प्रश्न गरे जिविकोपार्जन बन्द गरिदिन्छ । माफियालाई फेसबुक वा मेसेन्जरमा केही लेखी दिए रेष्पोन्स छोड्छ वा ब्लक गरिदिन्छ । उसकै कार्यक्रममा ताली पिटेर माफिया सम्मानित भएपछि माफिया पद्वोन्नति हुन्छ । यी सबको माफियावादी ठुला मिडिया हाउसले उसै वर्गको समाचार संप्रेषण गर्छ । बिचरा श्रमिक दिवस मनाउने श्रमिक मानव हो तर उ शोषणमा परिरहेको हुन्छ लगातार । फेरि बर्ष साल फेरिन्छ, संबिधान, कानून बद्लिन्छ तर श्रमिकलाई सम्मान गर्ने र श्रमबाट पालिएका माफियातन्त्रको चंगुलमा श्रमिकले केही पाउँदैन । जबसम्म माफियावाद र माफियातन्त्रलाई श्रमिकले गलाउन र ढलाउन सक्दैनन् । श्रमिक त के श्रमिकको चौकीदार र साना मालिकले समेत केही पाउदैनन् बरु गुमाउँछन् । यसैले आउनुहोस्, श्रमिक दिवसको सार्थकता बुझेर श्रमिकका लागि केही गरौं, श्रमिकले पनि आफ्नै सचेतताबाट सावधानी होऔं । हामी हुनुको फरक र म हुनुको फरक यसैमा जित, यसैमा मृत हुने छ ।
थापा सामाजिक अभियान्ता एवं लेखक हुन।





