
पोखरा विमानस्थलबारे धेरै कुराहरु उठिरहेका छन् । उद्घाटन भएको १४ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय सहरहरुमा सिधै व्यावसायिक उडान हुन नसक्दा अन्योलता छाएको छ । पोखरेलीहरू सिधै उडान गरी अन्य सहरमा पुग्न सकिने र विदेशबाट सिधै पोखरा झर्न सकिने सपना पूरा हुन अझ कति समय लाग्ने हो भनेर प्रतिक्षारत रहेका छन् ।
त्यसमाथि महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले औल्याएको त्रुटि र कैफियतहरु, त्यसलाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणसम्बन्धी कागजात कब्जामा लिइ अनुसन्धान भइरहेको अवस्थाले अनेकन आशंकाहरु जन्माएको छ । यतिधेरै पैसा खर्च नहुनुपर्ने, ठूलो रकमको ऋण रकम लिनुमा, डिजाइनिङदेखि पूर्ण भयो भन्ने अवस्थासम्म पारदर्शिताका अभाव र सबैभन्दा ठूलो कुरा नियमन गर्ने संस्था नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारीको गैरजिम्मेवारी व्यवहार र भनाइका कारणले विमानस्थल निर्माण प्रक्रिया सधँै शंकाको घेरामा रहेको थियो । त्यसैले कैफियतहरु धेरै नै छन् भन्ने आशंका र टिप्णीहरु विभिन्न संचार माध्यमहरुमा आइरहेको पाउँछौ । र,यी यस्ता छन्–
१. निर्माण कार्य सुरु अगावै डिजाइनिङ मोडल र बनोटबारे स्पष्ट जानकारी थाहा नहुनु ।
२ धावन मार्ग मौजुदा सतहभन्दा माथि हुनुपर्नेमा उल्टो माटो झिकेर गहिरो बनाउनु ।
३– न्यूनतम ३ हजार मिटर धावन मार्ग हुनुपर्ने मान्यता विपरित २५०० मिटरमा सीमित गर्नु
४ धावन मार्ग अस्फाल्ट (अलकत्रा) को नबनाइ ढलानको बनाउनु ।
५. इन्धन भर्न आवश्यक पर्ने भण्डारण सुविधाहरू नबनाइनु ।
६. जहाज मर्मत गर्न चाहिने ठाउँ हैंगरको सुविधा नबनाइनु ।
७. अन्तर्राष्ट्रिय विमानस्थलबाट सामानहरु ल्याउने÷पठाउने काम हुने तर कार्गोको लागि व्यवस्था नहुनु ।
८. पर्याप्त ठाउँ हुँदाहुँदै पनि २४ वटाभन्दा बढी जहाज पार्किङ गर्न नसकिने बनाउनु ।
९ पर्याप्त पानी निकास व्यवस्था र पूर्वतर्फ ढिस्को खन्दै जाने अवस्थालाई पूर्ण ध्यान नदिनु ।
१० आन्तरिक र वाह्य टर्मिनल भवन साँगुरो सानो भइ प्रतिक्षा गर्न पर्याप्त व्यवस्था नहुनु ।
११ टर्मिनलबाट सवारी साधन भएको ठाउँसम्म आउन–जान पानी परेको बेलामा भिज्नुपर्ने ।
१२ प्राविधिकहरुको भनाइ अनुसार ठूला जहाजहरु पूरा यात्रुसहित अवतरण गर्न असहज भएको ।
१३ जहाजहरु अवतरण गर्ने बखत धावनमार्ग नजिकै रहेको अग्लो पानी ट्याङकी अवरोध देखिनु ।
१४ निर्माण सम्पन्न भएपछि कुन सहरहरुमा जहाज उडान गर्ने वा कुन सहरहरुबाट आउने योजना नबनाउनु ।
१५ नेपालकै दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वायु कम्पनीहरुले यसलाई वेवास्ता गर्नु ।
१६– प्राधिकरणले यही विमानस्थलमा अवतरण र उडान गर्नुपर्ने नियमन नगर्नु चासो नदिनु ।
१७ भारतका पूर्व सहरहरुतर्फ जान सहज भएतापनि पश्चिमका सहरहरुतर्फ जान असहज हवाइ बाटो ।
१८ भारत विश्वस्त गराइ पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने हवाइ बाटो खोल्नुपर्ने ।
१९ ट्रान्जिट प्यासेन्जरलाई उपयुक्त प्रावधान गरिनुपर्ने ।
२० अन्तर्राष्ट्रिय विमानस्थल पहिचान दिन न्यूनतम सुविधाहरु सम्पन्न गर्न काम सुरु गर्नुपर्ने ।
२१ चिया–चमेना खानको लागि पनि अपर्याप्त ठाउँ तथा पोखराका उत्पादन प्रदर्शन गर्ने ठाउँ अभाव ।
२२ आजभोलि अन्तर्राष्ट्रिय विमानस्थल आफैमा सानो बुटिक सहरको रुपमा विकसित भइरहेको सन्दर्भमा पोखरा विमानस्थल भित्रबाट हेर्दा सरासर ठूलो वेयरहाउस जस्तो भान हुने आदि ।
यी सबै कमजोरीहरुलाई हटाइ एउटा आकर्षण र प्राविधिक रुपमा योग्य विमानस्थलकै रुपमा सञ्चालन गर्न प्राधिकरणले सम्पूर्ण ध्यान दिन जरुरी छ ।
यो विमानस्थल संचालन नगरी सुखै छैन । जसरी भएपनि गर्नुपर्छ, गर्न सकिन्छ ।
१ यदि साँच्चिकै प्राविधिक पक्ष हवाइजहाजको लोड क्यापिसिटी पूर्णरुपमा अवतरण गर्न नसकिने हो भने निर्माण क्रममा गरेको त्रुटिलाई दण्डित गरिनुपर्छ र दुवै सीएएमसी र क्यानका कमजोरीहरु यकिन गरी क्षतिपूर्तिसहित प्राविधिकरूपले योग्य बनाउनुपर्छ र
२. धावनमार्ग २५०० मिटरलाई थप गरी ३००० मिटर बनाउन काम सुरु गरिहाल्नु पर्छ ।
३. अन्तर्राष्ट्रिय विमानस्थलको लागी सबै प्रशासनिक प्राविधिक पूर्वाधार पूरा गरिनुपर्छ ।
४. हवाइ सझौता भएका मुलुकलाई हवाइसेवा संचालनमा प्रोत्साहित गरी पोखरा उडान गर्न संझौता गरेका मुलुकलाई पोखरा उडान गर्न भन्नुपर्छ ।
५ हवाइ कम्पनीहरूले त्रिभुवन विमानस्थलमा उडान थप गर्न चाहेमा पोखरा विमानस्थलबाट अवतरण र उडान गर्न अनुमति दिनुपर्छ ।
६. नेपाल सरकारले नेपाल वायुसेवा र हिमालय वायुसेवालाई अन्य देशका सहरमा उडान गर्ने तालिका मिलाउन र पोखरालाई आधार बनाइ उडान गर्न निर्देशन दिनु पर्दछ ।
७. नागरिक उड्डयन प्राधिकरणलाई प्रभावकारी बनाउन, नेपालको हवाइ सुरक्षाको चासो लाइ संबोधन गरी नेपाली आकाश सुरक्षित बनाउनसमेत दुईवटा भिन्दाभिन्दै निकायको खाँचोलाई ध्यानमा राखी असहयोगी कर्मचारीलाई हटाइनुपर्छ ।
८. अहिले सुन्नमा आएको पोखराबाट पश्चिमतिरको हवाइ रुट नेपाल प्रवेश गर्न कपिलवस्तु, नेपालगंज –रूपडैया क्षेत्र अनुमति दिन नेपालको प्रभावकारी कुटनीतिक वार्ताबाट भारत सरकारसँग सहमति गर्ने प्रयास गरिनुपर्छ ।
९ भारत र चीन साच्चिकै हितैषी हुन् भने पोखरा विमानस्थल संचालन गर्न दुवै मुलुकले हार्दिकताका साथ ठूलो मन देखाउनु सक्नुपर्छ । दुवै देश विश्वका ठूला अर्थतन्त्र भइसकेको सन्दर्भमा नेपाललाई पनि माथि उठाउन सक्दो सहयोग गर्नुपर्दछ ।
१०. पोखराबाट पश्चिम उडानगर्न असहज भइरहेको अवस्थामा हाल मौजूद रहेका पूर्वतर्फ उत्तरतर्फको हवाइ बाटोबाट व्यावसायिक उडान गर्न तालिका बनाइहाल्न सरकार र प्राधिकरण गम्भीर हुन जरुरी छ । अन्तर्राष्ट्रिय उडान तालिका घटीमा ५÷६ महिना अगाडी सार्वजनिक गर्न सकियो भने मात्र यात्रा तालिका बनाउन सकिन्छ । र, २०२४ को पर्यटन मौसम सेप्टम्बर, अक्टोबर, नमेम्बर, डिसेम्बरसम्म यात्रा गर्न सहज हुने छ ।
११ अहिले तत्काल निम्न क्षेत्रहरूमा उडानका सम्भावनाहरु विधमान छन् ।
क – पोखरा–पटना–पोखरा ।
ख –पोखरा –बागडोरा – पोखरा
ग – पोखरा– ढाका पोखरा ।
घ – पोखरा– नयाँ दिल्ली–पारो– पोखरा
ङ पोखरा– चेङ्दु – पोखरा ।
च पोखरा– कुनमिङ – हङकङ – कुनमिङ– पोखरा
छ पोखरा– मानसरोवर– पोखरा ।
ज पोखरा– कुनमिङ– हनोइ कुनमिङ पोखरा
झ पोखरा– बैंकक– पोखरा ।
ञ पोखरा– कआलम्पुर – पोखरा
ट पोखरा– बैंकलोर– पोखरा ।
ठ पोखरा– ल्हासा– पोखरा
१२ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लाई सुचारु गर्न पोखरा र यसको वरपर क्षेत्र, गण्डकी प्रदेशमा आर्र्थिक क्रियाकलापहरूलाई घनिभूत रूपमा तीव्र पार्नेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ । विभिन्न तहका सरकारहरुले योजनावद्ध कामको थालनी गर्न जरुरी छ । ठूला अन्तर्राष्ट्रिय सम्मेलन, सभा आयोजना गर्ने स्थलको रूपमा विकसित हुन जरुरी छ । कमसेकम पोखरा प्रदुषणमुक्त, अपराधमुक्त हरियाली सुन्दर सहरको रूपमा स्थापित गर्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय विमानस्थल पोखराको भविष्य हो । पोखरालाई अन्तर्राष्ट्रिय शहरको रुपमा स्थापित गर्न सकिने कडी हो । पोखरालाई विश्वको मानचित्रमा अझ स्थापित गर्ने माध्यम हो । अनि पोखरेलीलाई धेरै र ठुला अवसरहरु उपलब्ध गराउन सक्ने आधार हो । हामीसबै यसको लागी प्रयत्नशिल रहौं । अब भाषणमा मात्र सीमित नभइ, मागपत्र बुझाएर औपचारिकतामा मात्र सीमित नभइ प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट गरेर ज्ञापन पत्र बुझाउनेले मात्र पर्याप्त हुँदैन । यसको संचालनमा देखापरी रहेको व्यवहारिक चुनौती समाधान गर्न पोखरामा रहेका सबैको क्रियाशिलता समाधान गर्न सकिन्छ भन्ने अठोटसहित नियमित हवाइसेवा संचालन भइसकेपछि दिनुपर्ने सुविधाहरु, बनाउनुपर्ने पूर्वाधारहरुबारे सबैले तदारुकता देखाउन जरुरी छ । पोखरा महानगरपालिका गण्डकी प्रदेश सरकार, व्यावसायिक संघ–संस्थाहरु सबैभन्दा पढी क्रियाशिल हुनुपर्ने आवश्यक छ ।
पोखरा विमानस्थल केवल पोखरा मात्र हैन, गण्डकी प्रदेशलाई आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्ने अझ योभन्दा नेपालको आर्थिक प्रगतिमा योगदान पुयाउन सकिने प्रोडक्टका रूपमा स्थापित गर्न लाग्नु पर्दछ । जहाँसम्म यो विमानस्थलमा धेरै पैसा लगानी भयो, ऋण को सावा ब्याज तिर्न गाह्रो भयो । इपिसीमा उल्लेखीत शर्तविपरित सीएएएमसीलाई करछुट, अधिक आम्दानीको बाटो खोलिदिएको, सम्झौता अनुसार निर्माण कार्य नभएको आदिबारे प्रश्न उठिरहेको सन्दर्भमा जाँच अनुसन्धान गरिरहेको अदुअआ ले स्पष्ट गरिहाल्छ । भ्रष्टचारजन्य गतिविधि भएका छन भने संलग्नहरुलाई कठघरामा उभ्याएर सजाय दिनै पर्दछ । जो संलग्न र सहयोगी छन्, सबैलाइ नाङ्गेझार पार्नुपर्दछ ।
जबसम्म विकास आयोजनाको नाममा, खरिदको नाममा, परामर्शको नाममा भ्रष्टचारजन्य कार्य गरिन्छ, विचौलियाहरुको नाममा आर्थिक अनियमितता गरिन्छ, तबसम्म यो मुलुकले तीव्र गतिमा अगाडी बढन सक्दैन । देश सधँै पछिद्ध नै पर्छ । अन्योलग्रस्त नै रहन्छ । आम नागरिकको जीवनस्तर उठने काममा बाधा परिरहन्छ, यसबारे राज्यले गम्भीरतापूर्वकलिइ सुशासन कायम राख्न कुनै कसर बाँकी राख्नु हुँदैन ।





