बागलुङ/बागलुङ जिल्ला फुटबल संघको आयोजनामा बैखाश २६ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
लिग कम नकआउट चरणमा हुने प्रतियोगिताको लिगमा ८ टोलीले प्रतिष्पर्धा गर्नेछन् भने ५ टोलीले नकआउट चरणको खेल खेल्ने छन् । लिगको अंक तालिकामा पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ भने नकआउट चरणमा विजेता हुने टोली जिल्ला लिगमा बढुवा हुने छ ।
लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् । लिग चरणका खेल बैशाख ३१ देखि जेठ ६ र नकआउट चरणका खेल बैशाख २६ देखि २८ गतेसम्म संचालन हुने जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिलाई जनही ५ हजार प्रदान गरिने छ । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ७ लाख बजेट प्राप्त हुनेछ । अपुग खर्च भने स्थानीय तह र व्यवसायीबाट जुटाईने अध्यक्ष राजभण्डारीले बताए ।
प्रतियोगिताको लागि बागलुङ नगरपालिका वडा नं. २ को कार्यालयले खेलकुद सामग्री सहयोग गर्ने जनाईएको छ । लिग तयारीका लागि प्रत्येक टोलीलाई दुई किस्तामा गरी २५ हजार रुपैया उपलब्ध गराईने छ । पहिलो किस्तामा २० र दोस्रो किस्तामा ५ हजार प्रदान गरिने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए ।
यस्तै, अकआउट चरणमा अमर आदर्श स्पोर्टस् क्लब, तमान युवा क्लब, संयुक्त चार युवा क्लब र बागलुङ एकता क्लब र आदर्श विद्यामन्दिर खेलकुद क्लबले प्रतिष्पर्धा गर्ने छन् ।





