पोखरा/क्रिकेटर अर्जुन कुमाल र तेक्वान्दोकी सुस्मिता थापा मगरले पोखरा स्पोट्र्स अवार्ड प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० उनीहरु सम्मानित भएका हुन् । मञ्चले हरेक वर्ष वर्षभर खेलेका खेलका आधारमा महिला तथा पुरुष खेलाडीलाई अवार्डबाट सम्मानित गर्दै आइरहेको छ । क्रिकेटका अर्जुन वर्ष उत्कृट पुरुष तथा आइटीएफ तेक्वान्दोका सुस्मिताले वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेका हुन् । उनीहरुले अवार्डसँगै टेल्जीको इलेक्ट्रिक स्कुटर हात पारे ।
अर्जुनले टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारीलाई पछि पार्दै अवार्ड जिते भने सुस्मिताले आर्चरीका अनुश्का शेरचन र भलिबलकी अरुणा शाहीलाई पछि पार्दै अवार्ड जितिन् ।
यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी अवार्ड ब्याडमिन्टनकी दिलाशा रानाले हात पारिन् । उनले क्रिकेटकी ज्योत्सिका मरासिनी र एथलेटिक्सका बादल कार्कीलाई पछि पार्दै अवार्ड जितिन् ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले हात पारे । उनले क्रिकेटका रिजन प्रजु र टेनिसका निरज थापालाई पछि पार्दै अवार्ड जिते । उत्कृष्ट उदीयमान र उत्कृष्ट प्रशिक्षक दुवैले अवार्डसहित समान ३५÷३५ हजार रुपैयाँ हात पारे ।

गण्डकीको खेलकुदमा आफ्नो जिवन योगदान दिएकी एथलेटिक्सकी निर्णायक तथा प्रशिक्षक इन्द्रा मल्ललाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई चाँदीको करुवासहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो भने वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ । उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो भने गण्डकीको फुटबलमा निरन्तर योगदान दिँदै आएको सहारा क्लब पोखरालाई उत्कृष्ट खेल क्लबबाट सम्मानित गरिएको छ ।
सम्मानित हुँदै इन्द्रा मल्लले आफुले खेलकुदमा गरेको लगानीको प्रतिफल प्राप्त गरेको बताइन् । उनले आफुले कहिल्यै नसोचेको खुसी खेलकुद पत्रकार मञ्च गण्डकीले दिएको सुनाइन् । यस्तै प्रशिक्षक रमेश केसीले आफूलाई निकै खुसी लागेको बताए । उनले खेलकुदमा आफ्नो उर्जावान समय बिताइरहँदा अवार्डले थप जिम्मेवारी र हौसला थपेको सुनाए ।
खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष स्पोट्र्स अवार्ड प्रदान गर्दै आइरहेको छ । गण्डकी प्रदेशको खेलकुदको विकास र प्रवद्र्धन खेलाडी र खेलकर्मीबाटै भएका कारण आज गण्डकीको खेल यो स्थानमा आइपुगेको हो । अवार्डले गण्डकीको खेलकुदमा समेत कोशेढुंगा सावित गरेको छ ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अवार्ड आठौं संस्करणसम्म आइपुग्दा उचाइ छोएको बताए । खेलाडी र खेलकर्मी गण्डकीको सान भएको भन्दै हजारौं अस्पतालभन्दा एक खेल मैदान बढी उपयुक्त रहेको उनले बताए । कामबाट सफलता चुम्नुपर्ने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा अझ प्रतिस्पर्धा हुनुपर्ने र सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी रहेको र त्यसको एउटा पक्ष खेलकुद रहेको बताए । महानगरले खेलाडी उत्पादन गर्नका लागि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिरहेको सुनाए । पोखरा स्पोट्र्स अवार्डलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।





