बागलुङ नगरपालिकामा यतिबेला वीरेन्द्र–ऐश्वर्य पार्कको औपचारिक उद्घाटन गर्ने चटारो चलेको छ । समिक्षालय पार्कका नामले परिचित यस पार्कमा विश्वका विभिन्न देशका रङ्गिविरङ्गी झण्डाले भरिभराउ गराइएको छ । बाहिरी पर्खालमा बागलुङको पहिचान झल्कने पर्यटकीय स्थानका चित्रहरुले सजाइदै छ । यो झण्डै झण्डाले सजिएको पार्कले छिट्टै नै उद्घाटन पाउने छ । रिबन काट्ने दिन पर्खिरहेको पार्कले अन्ततः नयाँ स्वरुप पाइरहेको छ । पार्कमा शितलता पाउने आशा समाप्त भएर फोटो खिच्नेहरुको भिड लाग्ने पक्का छ ।
पहिलेका शासकहरुले आफ्नो कीर्ति फैलाउन वर, पिपल र स्वामी रोप्थे । चौतारी पोखरी बनाउँथे । तर अहिलेका शासकले पुराना संरचना, धार्मिक औचित्य र महत्व बोकेका वस्तुमाथी कुदृष्टी लगाउने गरेका छन् । बाटोघाटो खन्ने क्रममा होस् या सार्वजनिक सम्पत्तिको संरक्षणमा होस् सबैभन्दा पहिले डोजर चलाइने यिनै सम्पदा माथी हो । यतिबेला देशका धेरै भु–भागमा चौतारी, पोखरी, वर, पिपल र स्वामीका रुखहरु देख्न सकस पर्छ । संघीयताको आँगमन र स्थानीय सरकारको हालीमुहाली भएसंगै सार्वजनिक जग्गामा बनेका र रोपिएका यस्ता सम्पदाको जरै उखेल्ने दिन आए । बागलुङबासीले मध्यपहाडी लोकमार्गमा पर्ने बाङेचौर घुम्टीदेखि अगाडिका वर पिपलको समाप्तीको घाउ बिर्सिन नपाउँदै अहिले समिक्षालय पार्कका वृक्षको मुण्डन देख्नुपर्यो । हिलाम्मे र धुलाम्मे सडकको परिवर्तन छैन । नजिकै भत्किएको सडकले गिज्याइ रहेको छ । धुलो, धुवाँ र वायु प्रदुषणले पर्यावरणीय सन्तुलन बिग्रदो छ । मानिसहरू प्राकृतिक सम्पदामाथी आक्रमण गरिरहेका छन् । राजारानीका प्रतिमा सर्वहारा वर्गको पार्टी माओवादीले २०६२÷०६३ तिरै उडायो । आखिर शालिकले के गरेका थिए । जनआन्दोलनको नाममा वीरेन्द्र र ऐश्वर्यको मुर्ति ढालेपछि यो पार्कले कहिल्यै सुख पाएन । पार्ककै विषयमा राजनीति किन गर्छन् मान्छेहरु ? राजारानीको मुर्ति मास्नु नै बागलुङबासीका लागि दुर्भाग्य थियो । यसको श्रेय माओवादीलाई जान्छ । आखिर माओवादीले राजाको मूर्ति मिल्क्याएर बागलुङमा के परिवर्तन भयो ?
सार्वजनिक स्थानलाई सार्वजनिक नै छोड्नु पर्छ । एउटाले फुल रोप्छ अर्कोले उखेल्छ । राम्रो गरे पनि विरोध नराम्रो गरे पनि विरोध हाम्रो समाज किन यस्तो ? आफ्नोले गरे सबै उचित पराइले गरे अनुचित यो पनि राजनैतिक धर्म होला ।
हाम्रो समाजमा ‘अरु घोडा चडे भनेर आफू धुरी चढ्नु हुँदैन’ भन्ने उखान छ । यो अरुकै देखासिकी र रिसानीको परिणाम मान्न पनि सकिन्छ । चिल्ला चौडा सडकको आवश्यकता पुर्ण गरेका पालिकाहरुले अघि सारेका योजना यहाँ पुर्ण हुँदैनन् । नगरपालिकाले बाह्रै महिना सदरमुकामलाई सडक संजालले जोड्न सकेको छैन । जनताले ६ महिना पैदल हिंड्नु पर्छ । गाडी नै पाए पनि भाडादरको कुनै मापदण्ड नै छैन । बजारबाटै नियाल्न सकिने भिमकाय पहिरोले यत्रतत्र सडक अवरुद्ध छन् । पालिकाले नगरबासिलाई नगर बसमा सवार गराउन असमर्थ रहेको छ । अञ्चल अस्पतालमा बिरामीलाई लाइन बस्न नपर्ने अवस्था कहिलेदेखि आउने ?
सर्वसाधारण जनतालाई आत्मनिर्भर बनाउने नीति कहिले ल्याउने ? स्थानीय उत्पादनलाई बजारीकरण कहिले गर्ने ? बेरोजगार युवायुवतीको भीड कहिले साम्य पार्ने ? अत्यावश्यक सेवाहरु पुर्ण हुने दिन अझै कहिले आउँछ ? यी प्रश्नको जवाफ कस्ले खोज्ने र कस्ले दिने ? यी यावत् समस्याले गिजोलीरहेको परिवेशमा के यो लगानी जायज होला ? काठमाण्डौंमा बालेनले गर्न खोजेका सबै काम यहाँ लागू गर्न खोज्नु मुर्खता हो । उनको पालिका समृद्ध छ । संघीय राजधानी हो । उल्लेख्य आम्दानी हुन्छ । खर्च गर्छन् । स्वभाविक छ । पोखरालगायत ठुला पालिकाहरुले मारेको फड्को यहाँ खोज्नु बेक्कार छ । धरानले उघारेको स्वाबलम्बनको मार्ग अपनाउन सकिन्छ ।
सकिन्छ आवश्यकता हेरौं । सकिदैन जनताको करको दुरुपयोग नगरौं । बजारमा पानीको हाहाकार छ । सडकको अवस्था दयनीय छ । के अब पार्कमा गरिएको लगानीले यी अत्यावश्यक समस्या समाधान होलान् ? बजारबासीले शुद्ध पानी पिउन नपाए नि हावा त पाएका थिए । धार्मिक मान्छेले तिनै वरपिपलमा जल चढाउँथे । अब त्यो आस्था कहाँ खोज्ने ? मानिसहरू मन बहकाउन पुग्ने स्थान र बालबालिका रमाउने पार्कमा न रुख रहे न सुन्दरता रह्यो । उल्टै हरियाली पार्कका रुखबिरुवाको बलिदानीमा झण्डा फहराइनु दुर्भाग्यपुर्ण छ ।
अव्यवस्थित शहरीकरण, बढ्दो जनसंख्या र उच्च सवारीसाधनको भीडका बीच वायू प्रदुषणको न्यूनीकरणमा ध्यान दिनुपर्नेमा बजारको मध्य भागमा अवस्थित पार्कलाई झण्डामा सिमित गराइनु दुःखद् छ । ऐश आराममुखी जीवनशैलीले बजार क्षेत्रको जमिन प्लटिङ र पुर्वाधार निर्माणले बजारमा सानो हाट बजार भनौं या फुटपाथका लागि जग्गा रहेन । व्यवसायीक प्रवद्र्धन र स्थानीय उत्पादनको प्रचारप्रसार गर्न व्यापार मेला गर्ने जग्गा नपाएर उद्योग वाणिज्य महासंघले दुख पाइरहेको छ । पालिकाले भएको पार्कलाई समेत फरक परिचय दिदै छ । सार्वजनिक सभा समारोह गर्न कि सडक नै बन्द गर्नुपर्छ कि पार्टी प्यालेस धाउनुपर्छ । बागलुङ बजारको मुटुमा रहेको वीरेन्द्र ऐश्वर्य पार्कको नामले परिचित समीक्षालय पार्क सबै कार्यका लागि उपयोगी थियो । अघिल्लो वर्ष पुष्प रोपेर पुष्प बाटिकामा रुपान्तरण गरिएको थियो । जहाँ बजारबासीले बिहान–बेलुकी खुल्ला स्थानको अनुभुति गर्न पाएका थिए । सो पार्कमा बागलुङ नगरपालिकाको दृष्टि पुग्दा सर्वसाधारणले मन भुलाउने एक मात्र स्थान गुम्न पुगेको हो । भने जनताको करको दुरुपयोग भएको गुनासो चौतर्फी छ । पालिकाको यो निर्णयले तमाम सर्वसाधारणको सितल छहारी मात्र गुमेन बजार क्षेत्रको स्वच्छ पर्यावरण पनि गुमेको महशुस भएको छ ।
‘देखासिकी गर्नु रिस नगर्नु’ भन्छन् । यहाँ देखासिकी त भयो तर पुर्वाग्रह अधिक देखिन्छ । आखिर शासकहरुले किन विवादित कार्यद्वारा लोकप्रियता हासिल गर्ने जमर्को गर्छन् ? आफ्नो हुँदाखाँदाको सुन्दर पर्यावरणलाई ध्वस्त पारेर झण्डा ठड्याएर आखिर के हुन्छ ? हुन त आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पार्कमा झण्डा राखिएको होला । तथापि ‘घरमा खाने चामल छैन पाहुनालाई घ्यू’ भन्याझैं सर्वसाधारण आवश्यक पुर्वाधारको अभावमा रुमलिएका छन् । सरकार पर्यटक खोजी रहेछ । के यो कार्य सफल होला ? जनताको चासो, गुनासो र चाहनाको किन सम्बोधन हुँदैन ? पालिकाले बजारकेन्द्रित खर्चिला योजना अघि बढाइरहँदा पालिकाले समेटेका दुर्गम गाउँका जनता निराश छन् ।
अघिल्लो वर्ष खुला व्यायामशाला खुल्ला स्थानमै निर्माण गरियो महिना दिन नपुग्दै ध्वस्त भयो । अहिलेको यो योजनाले के कती स्याबासी पाउँछ हेर्न बाँकी नै छ । हामीले विकासका योजना ल्याउँदा प्रतिपक्षको साथ पाउने गरी ल्याउन जरुरी हुन्छ । स्थानीय सरकारले जनताको आवश्यकतालाई मध्यनजर गरेर योजना बनाउनु पर्छ । अन्यथा राजनैतिक नारा ‘यो पटक यसै पटक’ भन्या जस्तै हुन्छ ।
केही समय अघि लाखौं रुपैयाँ खर्चेर मर्मत गरिएको पार्कका लागि अहिले पुनः लाखौं खर्चिएर रुख काट्नेदेखि झण्डा फहराउने सम्मका गतिविधि चलेका छन् । हुन त विदेश पलायन हुनुपर्ने बाध्यताको भुमरीमा परेका नागरिकहरुको कमी छैन । पार्कले पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा लाइन बस्ने युवायुवतीलाई आफू पुग्ने देशको झण्डा चिन्ने अवसर भने दिनेमा विश्वस्त हुन सकिन्छ । पार्कमा आर्कषण थप्ने प्रयास भएको बुझाइ हुन सक्छ । रुखको जरा जिवित रहुन्जेल रुख भएकै मान्ने कानुनी व्यवस्था भएर होला मुण्डनको औपचारिक विरोध नभएको । तथापि नयाँ आयामको सुन्दरताका लागि यथास्थितिको सुन्दरता मास्नु जायज वा नाजायज छुट्याउने जिम्मा नागरिक र सरोकारवालाको हुन्छ ।





