बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा ८ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा बैसाख पहिलो सातासम्म ३ करोड ८७ लाख मात्रै संकलन गरेको छ । यो ४७ प्रतिशत मात्रै हो । साँढे २ महिनामा बाँकी ५३ प्रतिशत राजश्व संकलन गर्नुपर्ने बाध्यता छ ।
विशेषगरी घरबहालकर उठाउन समस्या हुँदा लक्ष पुरा गर्न नगरलाई कठिन छ । नगरपालिकाको राजश्व शाखाका अनुसार घरबहालकर ९६ लाख २९ हजार मात्रै संकलन भएको छ । जबकी बहालकर १ करोड ६५ लाख संकलन गर्ने लक्ष छ । गतवर्ष संकलित १ करोड ६५ लाखलाई नै चालुवर्ष लक्ष बनाइएको थियो ।
अन्य सबै करसहित गतवर्ष ६ करोड १७ लाख संकलन भएकोमा चालुवर्षको लक्ष भने बढाइएको हो । ‘करको दायरामा ल्याउन सकियो भने वर्षमा १२/१५ करोड संकलन गर्न सकिन्छ,’ राजश्व शाखाका अधिकृत काशीराम शर्माले भने, ‘त्यसका लागि बृहत अभियान संचालन गर्नुपर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले अनिवार्य कर तिर्ने पद्धति बसाल्न नसक्दा लक्ष पूरा गर्न कठिन भएको बताए । उनले थोरै प्रतिशत राजश्वबाट दायरा बढाएर धेरै बनाउने गरी गृहकार्य गरेको बताए ।
बागलुङ नगरभित्र अहिले १९ हजार ३ सय २१ जना मात्रै करदाता छन् । त्यसमा पनि व्यवसाय कर तिर्ने ४ हजार ५ सय जना मात्रै छन् । त्यो संख्यालाई व्यवस्थित गर्न सकेमा दोब्बर बनाउन सकिने कंडेल बताउँछन् । त्यस बाहेक सरसफाई शुल्क सहितको एकीकृत सम्पत्तिकरलाई व्यवस्थित बनाउँदा हालको भन्दा दोब्बर राजश्व संकलन हुने उनले बताए । ‘अहिलेसम्म घरका कोठा एकदुइ हजारमा मात्रै भाडामा लगाइएको छ भन्ने अनुमान छ, त्यो पनि तिर्न आलटाल भैरहेकोले अनुगमन गर्नुपर्ने बाध्यता हुन सक्छ,’ एक कर्मचारीले भने, ‘वास्तविक तथ्यांक निकाल्दा बढी राजश्व तिर्नुपर्नेहरु निस्कन सक्छन् ।’ न्युनतम मूल्यांकन गर्दा पनि राजश्वमा आनाकानी गर्न नहुने उनले बताए ।
तीनचार वर्षदेखि कोरोना संकट र लकडाउनका कारण देखाएर कतिपयले राजश्व तिरेका थिएनन् । गत आर्थिक वर्ष केही छु्टसहित पुरानो राजश्व पनि तिर्न आब्हान गरेकोमा २५ प्रतिशतले मात्रै खोजी गरेका थिए । कार्यालय प्रयोजनका लागि बहालमा लगाएका घरको भने नियमित कर असुल भएको हो । उनीहरुले पनि असुलेको भन्दा आधा सस्तो मूल्य देखाएर कर तिर्ने गरेका हुन् । व्यक्तिगत घरतर्फ ऋण लिनु पर्दा समस्या भएमा मात्र कर तिर्न आउने बढी छन् । कर चुक्ता प्रमाणपत्र बिना काम नहुने अवस्था आएपछि मात्रै कर तिर्न आउने चलन छ ।
बागलुङ बजारको मुख्य सडक छेउमा एउटा सटरको १० देखि २० हजार सम्ममा भाडामा लगाइएका छन् । भाडामा दिइएका भित्री गल्लीका घरका कोठाबाट चार हजार रुपैयाँदेखि ६ हजारसम्म भाडा असुल्ने घरधनीले पनि बहालकर भने नतिरेका हुन् । केहीले न्युन तिर्छन् भने कतिपयले भाडा तिर्नुको साटो राजश्व शाखाका कर्मचारीलाई गालीगलौज गर्छन् । जब बैंकबाट ऋण लिनुपर्ने लगायतका बाध्यकारी समस्या आउँछन् तब कोठाहरु भाडामा नलगाएकोले न्युनतम शुल्क तिरेर कर चुक्ता गर्छन् । नगरपालिकाले भने घरधनीले एउटा सटरको एक हजार रुपैयाँ मात्रै भाडामा लगाइएको छ भन्ने अनुमानको आधारमा कर निर्धारण गरेको छ । त्यहीं कर पनि अधिकांसले तिर्न आनाकानी गरेका छन् । देशभरका धेरैजसो नगरपालिकाले कुल आयको १२ प्रतिशत घरबहाल कर निर्धारण गरेका छन् । बागलुङ नगरपालिकाले ६ प्रतिशत मात्रै कायम गरेको छ । त्यो समेत उठ्न नसकेको हो ।





