तस्बिर : अर्जुन कार्की
बागलुङ/सोमबारदेखि बाङेचौर खेल मैदानमा शुरु जिल्ला लिग फुटबलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) ले विजयी शुरुवात गर्दा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब बराबरीमा रोकिएका छन् ।
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगको पहिलो खेलमा बागलुङ कालिकाले रुद्रेपिपल युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्यो ।
खेलको १ मिनेटमै रुद्रेपिपलका विजय बोहोराको आत्माघाति गोलको मद्धतले अग्रता लिएको बागलुङ कालिकाले खेलको ११ र १३ औं मिनेटमा मनिक श्रेष्ठले गोल गरेका थिए । रुद्रेपिपलका सन्तोष थापाले सान्त्वना गोल फर्काए । जितसँगै बागलुङ कालिकाले तीन अंक बटुलेको छ ।

सोमबार नै भएको दोस्रो खेलमा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । पावर फिटनेशका लागि बरदान थापाले दुई र मनोज खत्रीले एक गोल गर्दा कालिका भगवतीका सोनाम पुनले लिगमा पहिलो ह्याट्रिक आफ्नो नाममा लेखाए । बराबरीपछि दुवै टिमले एक÷एक अंक बाढेका छन् ।
लिगअन्तर्गत मंगलबार पहिलो खेल रामरेखा फुटबल क्लब र गुठी युनाईटेड क्लब विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा क्लब र बाल जिवन खेलकुद क्लब विच हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले जानकारी दिए ।
जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा ८ टिमको सहभागिता रहनेछ । लिगको समूह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन्भने समूह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब छन् ।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले गरेका थिए ।





