बागलुङ/जिल्ला लिग फुटबल प्रतियोगितामा पावर फिटनेश क्लबसँग बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र) पराजित भएको छ । बुधबार सम्पन्न खेलमा पावर फिटनेश क्लब १–० ले विजयी भएको हो ।
पावर फिटनेशको लागि खेलको ६६ औं मिनेटमा मिलन केसीले गरेको गोल निर्णयक बन्यो । जितसँगै पावर फिटनेश दुई खेलमा चार अंकसहित समुह ‘क’को शीर्ष स्थानमा उक्लिएको छ । पावर फिटनेश पहिलो खेलमा कालिका भगवतीसँग बराबरीमा रोकिएको थियो । बागलुङ कालिकाको दुई खेलमा तीन अंक रहेको छ । बागलुङ कालिकाले पहिलो खेलमा रुद्रेपिपल युवा क्लबलाई पराजित गरेको थियो ।
लिगअन्तर्गत कालिका भगवती युवा क्लब र रुद्रेपिपल युवा क्लब विचको खेल बर्षाका कारण स्थगित भएको छ । उक्त खेल बिहिबार बिहान ८ बजे हुने बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।
यस्तै, बिहिबार दिउँसो पहिलो खेल रामरेखा युवा क्लब र वीर गोर्खाली युवा क्लब विच हुनेछभने दोस्रो खेल गुठी युनाईटेड क्लब र बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) विच हुनेछ ।





