बागलुङ बजारको मुटु समिक्षालय चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा नगरपालिकाले बागलुङको पहिचान झल्काउने चित्र क्यानभासमा उतार्न थालेको छ । रैथाने प्रजातिका वरपिपल, रुद्राक्ष लगायतका रुखका हाँगा काटेर विश्वभरका झण्डा फहराएपछि चर्काे आलोचना खेपेको नगरपालिकाले पार्कको पर्खालमा चित्र बनाउन थालेपछि भने सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उप–प्रमुख राजु खड्काले नगरपालिकामा पदभार ग्रहण गरेको आगामी जेठ ६ गते दुई वर्ष पुरा हुँदैछ । सोही अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको हुँदा पार्कभित्र पुननिर्माणको काम चलिरहेको छ ।

सौन्दर्यकरणअन्तर्गत पार्कको पुननिर्माण गरिरहेको नगरपालिकाले पहिलो चरणमा प्रवेशद्वारको पर्खालमा बागलुङका चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल बागलुङ कालिका भगवती मन्दिर, बाघ, एसियालकै लामो झोलुङ्गे पुल ‘कालीगण्डकी गोल्डेन ब्रिज’, धौलागिरि हिमश्रृंखला र बौद्व धर्मसंग सम्बन्धित मानेका चित्र क्यानभासमा उतारेको छ । बागलुङलाई रङ र कुचीको माध्यमबाट परिचित गराउने काम भने चित्रकार मिलन खत्री र रन्जित श्रेष्ठले गरिरहेका छन् । पर्खालमा चित्र पोत्ने काम चलिरहँदा टक्क अडिएर अवलोकन गर्ने र सेल्फी खिच्ने यात्रीहरुको भीड समेत पार्क परिसरमा बढ्न थालेको छ । शहरको सौन्दर्यकरणसंगै चित्रकलालाई प्रोत्साहन गर्ने उदेश्यले नगरपालिकाले पर्खाल रंगाएको हो ।

नगरस्थित धार्मिक तथा पर्यटकीय स्थल र परम्परागत मेला पर्वहरुको संरक्षण र सम्वर्धन गर्दै पर्यटन पुर्वाधारको विकासलाई संस्थागत गरी व्यवस्थित रुपमा अघि बढाउन ‘उपप्रमुख पर्यटन विकास कार्यक्रम’लाई प्रभावकारी रुपमा संचालन गर्न चालु आर्थिक वर्षका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले यसअघि धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका सम्पदा र पर्यटकीय क्षेत्रको चिनारीका लागि क्युआर कोडको व्यवस्था गरिसकेको छ ।










