बागलुङ/शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुद्रेपिपल युवा क्लबमाथि ०–२ गोलको जित निकाल्दै पावर फिटनेस ७ अंकसहित समूह ‘क’ बाट लिगको फाइनलमा पुगेको हो । कालिका भगवती युवा क्लबमाथि सनसनीपूर्ण जित निकालेको रुद्रेपिपल पावर फिटनेससंग निराश पुन पुग्यो ।
पावर फिटनेसको फाइनल यात्राका लागि वरदान थापाले खेलको २७ र टिटश विकले ५८ औं मिनेटमा गोल गरे । पावर फिटनेसले आगामी आइतबार हुने फाइनल भीडन्तमा समूह ‘ख’ को विजेता टोलीसंग प्रतिष्पर्धा गर्नेछ । समूह ‘ख’ मा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ६ अंकसहित समग्र लिगको दोस्रो स्थानमा छ । उपाधि दाबेदार मानिएको बालजीवनले शनिबार रेलिगेसन जोनमा रहेको रामरेखा फुटबल क्लबसंग खेल्दै छ । दुई खेलमा नमिठो हार व्यहोरेको रामरेखालाई रेलिगेसनबाट जोगिन बालजीवनलाई हराउनै पर्ने दबाब हुनेछ । लिगमा निकै नै फितलो खेल प्रदर्शन गरेको रामरेखालाई बलियो टोली बालजीवनलाई पराजित गर्न भने त्यति सहज हुने छैन । लिगको अर्काे सशक्त टोली गुठी युनाईटेडलाई फराकिलो गोल अन्तरले पन्छाउँदै बालजीवनले रवाफ देखाईसकेको छ । रामरेखासंग बराबरी मात्रै खेले बालजीवनको फाइनल यात्रा सुनिश्चित हुनेछ ।
समूह ‘क’ अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा बागलुङ कालिका युवा क्लबले कालिका भगवतीलाई २–४ गोलले पराजित गरेको छ । बागलुङ कालिकाको जितमा मनिक श्रेष्ठले दुई, अर्जुन खत्री र पुकार फगामीले एक÷एक गोलको योगदान गर्दा कालिका भगवतीका लागि रोशन लामिछाने दुई गोल फर्काए । जितसंगै बागलुङ कालिकाले ६ अंक जोड्दा कालिका भगवती १ अंकमै सिमित हुनुपर्यो ।
लिगको छैठौं दिन शनिबारको पहिलो खेल रामरेखाविरुद्व बालजीवन र द्रोस्रो खेल गुठी युनाईटेडविरुद्व वीर गोर्खाली युवा क्लबबीच हुने लिग आयोजक जिल्ला फुटबल संघका कोषाध्यक्ष सूर्य लामिछानेले जानकारी दिए ।





