तस्बिर : अर्जुन कार्की
बागलुङ/एक गोलले पछि परेको नतिजा उल्टाउँदै डिफेन्डिङ च्याम्पियन बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले जिल्ला लिग फुटबलको उपाधि रक्षा गरेको छ ।
गत वर्ष बागलुङ भगवती युवा क्लबलाई स्तब्ध पार्दै बालजीवनले जिल्ला लिगको उपाधि जितेको थियो । आइतबार रामरेखास्थित बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी पावर फिटनेस क्लबविरुद्व १–३ गोलको जित निकाल्दै बालजीवन उपाधि रक्षा गर्न सफल भएको हो । पछिल्लो संस्करणको जेसिज कपबाहेक घरेलु प्रतियोगितामा एकछत्र राज गरिरहेको बालजीवन १२ अंकसहित लिगको शिर्ष स्थानमा रह्यो । उपविजेता बनेको पावर फिटनेसले ७ अंकमा चित्त बुझाउनुपर्यो । लिगका तीनै खेलमा अंकविहिन बनेको रामरेखा फुटबल क्लब यसअघि नै रेलिगेसनमा परेको छ ।
पहिलो हाफमा पावर फिटनेस क्लबका वरदान थापाले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए पनि त्यो लामो समय भने टिक्न सकेन् । बालजीवनका मिलन थापाले आर्कषक गोल गर्दै खेल बराबरी गरेका थिए । दोस्रो हाफमा भने पावर फिटनेसले लगातार दुई गोल खान पुग्यो । बालजीवनका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
२–१ गोलले पछि परेपछि पावर फिटनेस खेलमा फर्कन सकेन । आक्रमक खेल खेलेको बालजीवनले खेलको अन्त्यतिर थप एक गोल गर्दै जित सुनिश्चित गर्यो । बालजीवनका लागि विपुल कार्कीले गोल गरेका थिए ।
लिग विजेता बालजीवनले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्राप्त गर्दा उपविजेतामा सिमित पावर फिटनेसले ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा पावर फिटनेसका वरदान थापा उत्कृष्ट खेलाडि घोषित हुँदा बालजीवनका सौगात खड्का उत्कृष्ट गोलरक्षक, धनेन्द्र क्षेत्री उत्कृष्ट रक्षापंक्ति, निश्चल महतले उच्च गोलकर्ता र बागलुङ भगवती युवा क्लब (बागलुङ सुधार केन्द्र) ले फेयर प्लेको पुरस्कार जिते । उनीहरुलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल पस्केका महतले लिगमा ५ गोल गरेका थिए ।
विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नं. १ का सदस्य सोम बोहराले पुरस्कार वितरण गरेको आयोजक जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए ।





