मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गौतम बुद्ध र हाम्रो पहिचान

गौतम बुद्ध र हाम्रो पहिचान

गौतम बुद्वले मानिसहरु दुखी, गरिब, असहायहरूको दुःख निवारण गर्न लाग्नु पर्ने भन्दै सामाजिक न्यायको पक्षमा जोड दिएका छन् ।


  • माधव चापागाई
  • जेष्ठ १० २०८१, बिहिबार

बौद्ध दर्शन मानव जातिको कल्याण र विश्व शान्तिको लागि प्रसिद्ध छ । बौद्ध धर्मका प्रणेता शाक्यमुनी गौतम बुद्धद्वारा प्रतिपादित यस दर्शनबाट सम्पुर्ण मानव जाति नै प्रभावित भएको पाइन्छ । राजसी सुखमा बाल्यकाल ब्यतित गरेका बुद्धले संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित गरे । अन्ततः दुःख निवारण सम्बन्धि महाज्ञान बाँड्न सफल भए । वैदिककालमा धर्मको डर देखाएर मानिसबाट मनग्य दान माग्ने चलन थियो । ब्राह्मणवादमा रुमलिएको समाजमा ब्राह्मणहरुको एकलौटी बोलवाला चल्थ्यो । मानिसहरु सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनाको यहि तथ्यलाई आत्मसाथ गर्दै बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । त्यति बेलै बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरूको आडमा समाजमा हिंसा विरोधी मत बलियो देखिन थाल्यो । यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्श गर्न थाले र यस्तै परिवेशमा बुद्धको जन्मले सार्थकता पायो । यसर्थ आजभन्दा करिब अढाई दशक अगाडि लुम्बिनीमा जन्मिएका बुद्धले संसारमा शान्तिको सन्देश प्रवाह गरेको कुरा अवगत हुन्छ ।

धन सम्पत्ति र ऐश आरामका भोका मानिसहरुको दिनचर्याबाट आतङ्कित यस संसारलाई शान्ति, मैत्री, करुणा र समानतामा आधारित विचारले प्रभावित तुल्याउने दर्शन बौद्ध दर्शन हो । निश्चित वस्तुको उपयोगितालाई परित्याग गरेर अनिश्चित वस्तुको सेवा गर्दा निराश बनेका मानिसलाई आशाको मार्गमा डो¥याउने उत्तम मार्ग बौद्ध मार्ग हो । सांसारिक मोहको जञ्जालबाट बाहिर निस्किने सोचको विकास गरि परोपकारी कार्यमा लाग्न अभिप्रेरित गर्नु यस दर्शनको मुल ध्येय हो ।

अत्याधुनिक युगको प्रवेशसंगै आवश्यकताहरु थपिदै जाँदा भौतिक दुनियाँले मानव मनलाई सन्तुष्टि प्रदान गर्न असमर्थ भएको यो परिवेशमा मानव मनहरु अतालिएका छन् । जस्का कारण धर्ती माताले असत् कर्महरुको बोझ बोक्न विवश छिन् । मानिसहरूमा व्यविचार मात्रै उत्पन्न हुँदा एकातर्फ पृथ्वी नै संकटमा परेको छ भने अर्कोतर्फ वैमनस्यताले मानवीय अस्तित्व नै धरासायी बन्न पुगेको छ । आफू ठुलो, महान र सम्पन्न बन्ने होडमा एकले अर्काको अस्तित्व स्वीकार नगर्दा विश्वमा हत्याहिंसा, अन्याय, अत्याचार, चोरीचारी पैठारी जस्ता विसंगतपुर्ण कार्यहरू सिर्जना भएका छन् । यी सबै दुश्कार्यको नियन्त्रण गर्न बौद्ध मार्ग अपरिहार्य छ ।

बुद्ध शब्दले अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भन्ने बुझिन्छ । बुद्ध स्वयं शान्तिका अग्र दुत हुन् । हाम्रा राष्ट्रिय विभुती हुन् । हाम्रा पहिचान हुन् । बैशाख शुक्ल पूर्णिमाको दिन जन्म लिएका र यसै दिन महाप्रस्थान समेत भएकाले बौद्ध धर्मावलम्बीहरुले यस दिनलाई विशेष रुपमा लिने गर्दछन् । बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिदै आएको छ । यस दिन विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुले उनिप्रती सम्मान गर्छन् । बौद्ध धर्म र बुद्धसंग सम्बन्धित दर्शनहरुको विचार विमर्शसहित विविध कार्यक्रम हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

सानैदेखि गम्भीर स्वभावका उनले मानव जीवन के हो ? मानिस किन र कसरी रोगी बन्छ ? किन बुढो बन्छ ? अनि मानिस किन मर्छ? जस्ता कुराबाट बैरागी बन्न पुगेर संसारलाई निस्सार देख्न थाले । बुद्धले सांसारिक मोह र गृहस्थ जीवन परित्याग गरि दुःख निवारणको सत्यमार्ग पैल्याउने उद्देश्यले विभिन्न ठाउँमा तपस्या गर्दै हिंडे । संसारप्रति उत्पन्न वैराग्यताले बोधगयामा पुगेपछि जवाफ पायो । संसारमा आफ्नो भन्नु केही छैन । दुखको जड भनेको मान्छे आफैं हो । भन्ने भाव सिर्जित भयो । त्यसपछि आफ्नो सम्पुर्ण जीवन आदर्श मार्गमा बिताए । जुन विश्वका लागि अनुकरणीय बन्यो । भारतमा बुद्ध धर्मको प्रचारमा महत्त्वपूर्ण योगदान सम्राट अशोकले गरेका थिए । बुद्धको अनुशरण गर्ने प्रथम व्यक्ति सम्राटले बौद्ध धर्मलाई राजकीय धर्म बनाए । यसबाट बुद्ध धर्मको उत्थान हुन गयो । बुद्धले संसारलाई ‘अत्ता हि अत्तनो नाथो’ अर्थात् आफ्नो मालिक आफैं हो । ‘जीवन र जगत् हरेक क्षण परिवर्तनशील छ, अनित्य बोध यसको आधार हो’ भन्ने उपदेशहरु विनय, धम्म र त्रिपिटकमा संग्रहित छन् ।

लेखक माधव चापागाई
बुद्धको मुल मन्त्र दुःख मुक्तिको मार्ग पहिल्याउनु हो । दुःख मुक्तिको उपाय बिना संसार कमजोर बन्छ । तसर्थ यसको जड पहिल्याउनु अनिवार्य ठानियो । शिक्षामा शील, समाधि र प्रज्ञाको मार्गमा पुष्टि हुने चार आर्य सत्यहरूलाई अवलम्बन गर्नु पर्ने ठानियो । जसमा दुःख, दुःखको कारण, दुःखको निवारण र दुःखको निवारणको मार्ग सत्य पर्दछन् । जीवनमा दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध गर्नु, दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध गर्नु, दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार बुझ्नु, दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना गर्नु भन्ने उपदेश उनले दिएका छन् । यसर्थ यस संसारमा अहिंसाको पाठ सिकाउने र युद्ध, आतंक, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्ध महान छन् । तसर्थ मानिसहरू एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा बुद्धलाई श्रद्धा र सम्मान गर्दछन् ।

उनमा मपाईत्वको भावना कहित्यै देखिएन । आफ्नो ज्ञानलाई बाह्य जगतमा प्रशंसाको भोको बनाएनन् । सबै धर्ममा समभाव प्रकट गर्ने उनी सामाजिक न्याय र समानताका अभियन्ता थिए । उनले आफ्नो सम्पूर्ण जीवन शान्ति र मानव कल्याणमा बिताए । उनले न कसैको आलोचना गरे न निन्दा नै, यसर्थ उनी सामाजिक सद्भाव, एकता र सहिष्णुताका प्रतीक थिए । संसारमा स्थापित जति पनि सिद्धान्त, दर्शन र मत मतान्तरहरू छन् । मानिसहरूले यी सबैमाथि समिक्षा गर्न सक्छन् । बौद्ध दर्शन निकै व्यापक र नैष्ठिक दर्शन हो । तसर्थ मानिसहरू यस दर्शनको सापेक्षतामा समर्पित छन् ।

विश्वमा राजनीतिक स्वार्थका कारण सिर्जित हिंसात्मक घटनाले गर्दा मानव जीवन अत्यन्तै दुःखित हुनुपरेको यथार्थ विदितै छ । अहिलेको विश्वमा सहमति, सहकार्य र सहअस्तित्वमा आधारित भएर शान्ति खोज्नु आवश्यक छ । हातहतियारको प्रयोगबाट शान्ति खोज्ने दाउपेच औचित्यहीन सिद्ध हुँदै छ । यसर्थ बुद्धले अघि सारेका विचारहरुलाई विश्व सामु पुयाउन सके शान्ति स्थापना हुने बलियो आधार बन्न सक्छ । जसका लागि बौद्ध दर्शन आवश्यक छ ।

बौद्ध दर्शन मानवले गर्ने ईश्वरिय उपासना मात्र नभई अन्तस्करणको आवाज, सत् गुण चरित्र वा विशेषताले युक्त भएको पाइन्छ । यस दर्शनमा दान, शील, नैष्क्रम्य, प्रज्ञा, वीर्य, क्षान्ति, सत्य, अधिष्ठान, मैत्री, र उपेक्षा जस्ता विषयलाई मुल मन्त्र बनाइएका छन् । त्याग, नैतिक गुण, अनाशक्ती, ज्ञान, उत्साह, सहनशीलता, यथार्थ वचन, प्रतिज्ञा, समताभाव र मध्यस्थताजस्ता पारमिताहरूको कार्यन्वयनले समाजमा शान्ति स्थापना हुने देखिन्छ ।प्राणीप्रति अनुकम्पापूर्ण हृदयले परोपकार र कल्याणको भाव जागृत गराउनु यस दर्शनको सार हो । यसर्थ विश्व हित र सुखको कामना गर्ने बौद्ध दर्शनमा जनआस्था बढ्दै गएको पाइन्छ ।

बुद्धले प्राणीहरू परोपकारी बनून्, अधर्म र असत्मार्गबाट सत्मार्गमा ल्याउन प्रेरित गर्नु, आफ्नो सुख र शान्तिका लागि इतर प्राणीहरूलाई डर, भय र त्रास नदेखाउनु, वैरभावबाट कहिल्यै शत्रुता शान्त हुँदैन । मैत्रीभावबाट मात्रै शान्ति प्राप्त हुन्छ । प्रेम, करुणा र सहानुभूतिबाट सत् चरित्रको निर्माण हुन्छ । महिला शसक्तिकरणबाट सामाजिक सुधारको अभियान सुरु गर्नुपर्छ । स्त्री पुरुषमा समभाव प्रदर्शन गर्नुपर्छ । प्रेम र स्वतन्त्रता दुवै सँगैसँगै हिँड्छन् भने स्वतन्त्रता विनाको प्रेम जेलको बन्दी जस्तो हुन पुग्छ । तसर्थ पति पत्नीको प्रेमलाई पवित्र प्रेमको संज्ञा दिनु, मानव जीवनमा श्रमको निकै महत्व हुन्छ । त्यसैले हामीहरु निरन्तर परिश्रमी बन्नुपर्छ । हाम्रा शाश्वत ईश्वर माता, पिता र गुरुको सेवा र उचित आदर सत्कार गर्नु, सबै मानिसलाई असल सङ्गतको लागि प्रेरित गर्नु, मित्रतामा स्थिरता हुनुपर्छ । धनी गरिब, सफलता असफलता र सुख दुःख जस्ता अवस्थामा समान व्यवहार प्रदर्शन गर्नु, दुखमा नआत्तिनु सुखमा नमात्तिनु, सद्गुणी मानिसहरूसँग सम्बन्ध विस्तार गर्नु, असत् कर्मलाई कहिल्यै प्रश्रय नदिनु, राष्ट्रको उन्नतिका लागि विदेश नीति शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा आधारित बनाउनु, एउटा देशको विकास र सुरक्षा नीति अरू देशहरूको गरिबी र असुरक्षाको कारण बन्नु हुँदैन । जनतालाई सार्वभौम मानी शासन गर्नु, उनीहरुको संकटमा हातेमालो गर्नु, लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नु, जन्मले न कोही ब्राह्मण हुन्छ र न कोही शूद्र, मानिसको मूल्य उसको जातिबाट होइन । कर्मबाट हुन्छ । कर्मले नै मानिस ब्राह्मण बन्छ र कर्मले नै चण्डाल ।’ भन्ने विचार अनुकरणीय छन् । प्रत्येक मानिसले मन, वचन र कर्मले मिहिनेत ग¥यो भने उस्को जीवन सार्थक बन्छ । यसका लागि कसैको कृपाले होइन । आफ्नै कर्मबाट अमर बन्नुपर्छ । जस्ता उपदेशहरु मनन गर्दा बुद्ध समानतावाद, राष्ट्रप्रेम, विश्वशान्ति र सत् व्यवहारप्रति चिन्तित थिए भन्न सकिन्छ ।

गौतम बुद्घ र अहिंसा एक अर्काका परिपूरक छन् । अहिंसालाई नै उनले आफ्नो उपदेशको मुख्य सार मानेका छन् । हिंसाविरुद्ध महाअभियान सञ्चालन गरेका बुद्धले न्यायका लागि सदाचारपुर्ण व्यवहार आवश्यक ठाने। असल मानवले समतामूलक समाज निर्माण गरि प्राणीमा करुणामय व्यवहार प्रदर्शन गर्नुपर्ने सन्देश दिएका छन् । यसरी बुद्धका विचार समसामयिक र लोक कल्याणकारी बन्दै गएका छन् । तसर्थ उनका विचारलाई व्यवहारमा लागू गर्न सके समाजमा सुख, शान्ति र मैत्रीको भाव सिर्जना हुन्छ । उनले मानिसहरु दुखी, गरिब, असहायहरूको दुःख निवारण गर्न लाग्नु पर्ने भन्दै सामाजिक न्यायको पक्षमा जोड दिएका छन् ।

यसर्थ यस दर्शनको अध्ययन अनुसन्धान र वैज्ञानिकता खोज्न सके विश्व कल्याण र शान्ति हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । आपसी सहयोग, एकताको भावना, पन्चशीलको पालना, योग्य अनुभवी मानवको आदर र उनीहरूका मार्गनिर्देशहरूको पालना ग¥यो भने मानिसले कहिल्यै पछुताउनु नपर्ने सन्देश उनको दर्शनमा पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->