सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आयोजक आदर्श, गुराँस र अमर आदर्शको विजयी शुरुवात

आयोजक आदर्श, गुराँस र अमर आदर्शको विजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०८१, आइतबार

बागलुङ/प्रथम आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’, गुराँस विद्या सदन र अमर आदर्श आवासिय माविले विजयी शुरु गरेका छन् ।
विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आइतबारदेखि बागलुङ नगरपालिकाको बाङेचौर खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक आदर्शले गरिमा माविलाई ०–२, दोस्रो खेलमा गुराँस विद्या सदनले धवलागिरि माविलाई ०–१ र तेस्रो खेलमा अमर आदर्श आवासिय माविले कुँडुले माविलाई ०–३ गोलले पराजित गर्दे विजयी यात्रा शुरु गरेका हुन् ।
आदर्श ‘पहेलो’ को जितमा सुमिप शाहीले ५ र सुझाव बानियाँले २१ औं मिनेटमा गोल गरे । उक्तमा उत्कृष्ट प्रदर्शन गरेका आदर्शका सुशिल पुन म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको दोस्रो खेलमा गुँरास विद्या सदन भाग्यमानी सावित भयो । विपक्षी धौलागिरि माविका खेलाडि सुवोधजंग कार्कीले खेलको ३ मिनेटमै आत्मघाती गोल गर्दा त्यसको फाइदा गुराँस विद्या सदनलाई पुगेको हो ।


प्रतियोगिताको तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अमर आदर्शले कुँडुले माविमाथि ०–३ गोलको नतिजा निकाल्यो । अमर आदर्शको जितमा जोयस पुनले खेलको ५ मिनटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै दुई गोलले पछि परेको कुँडुलेले खेलमा फर्कन नसक्दा ५६ औं मिनेटमा तेस्रो गोल खान पुग्यो । अमर आदर्शको लागि दोस्रो गोल विमल खत्री र तेस्रो गोल अंश केसीले गरेका थिए ।


प्रतियोगिताको दोस्रो सोमबार रुद्रेपिपल माविविरुद्व सिद्वार्थ शिक्षा सदन, फ्युचर ब्राइटर आवासिय माविविरुद्व सनराईज, पर्वत माविविरुद्व न्यु एभरेष्ट एकेडेमी, आयोजक आदर्श ‘सेतो’विरुद्व न्यु ओयसिस एकेडेमी भीड्ने छन् । १५ टोली सहभागी प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।


जैमिनी नगरपालिकाका उप–मेयर हरिहर शर्माले रेफ्री दिपक थापालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उप–प्रमुख शर्माले खेलमार्फत संसार जित्न सकिने भन्दै त्यसको आधार तयार भने प्रारम्भिक तहबाटै गर्नुपर्ने बताए । खेलकुद गतिविधिले नवप्रतिभा जन्माउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै शर्माले भने, ‘सामूहिक मनोविज्ञानको विकास गर्न सके हरेक क्षेत्रमा राम्रो नजिता निकाल्न सकिन्छ ।’
आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन शिक्षक युनिस दिन मियाँले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->