मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दिगो विकासका सर्तहरु

दिगो विकासका सर्तहरु

दैनिक आवश्यकतालाई ऐश आराममुखी बनाएर, सामाजिक अस्तित्वमाथी कुल्चिदै विदेशी राफरवाफमा भुल्नु हामी नेपालीको कमजोरी हो । परम्परागत मुल्यमान्यता र जीवनयापनका गतिविधिलाई जरैदेखि निमोठ्दा दिगो विकासले गति पाउँदैन ।


  • माधव चापागाईं
  • जेष्ठ १४ २०८१, सोमबार

संसारका सम्पूर्ण प्राणी जगतको आश्रय स्थल पृथ्वी हो । पृथ्वी बिना कुनै पनि प्राणीको अस्तित्व रहदैन । हाम्रो वरपरको पर्यावरण नै मानव जातिको जीवनरक्षाका लागि महत्वपूर्ण मानिन्छ । मानव जगतले एक्काइसौं शताब्दीमा प्रवेश पाउँदा धर्तीमा रहेका पर्यावरणीय संरचनाहरुले मानिसहरुका आवश्यकता पूरा गर्न असम्भव प्रायः महशुस हुन थालेका छन् । जस्को उपयोगिताका लागि थप स्रोत साधन अत्यावश्यक ठान्न थालिएको छ । आजको मानिसलाई प्राकृतिक रुपमा सिर्जित पुर्वाधारले सन्तुष्टि दिन असम्भव छ । प्राकृतिक स्रोतसाधनको क्षमता सीमित हुने भएकाले दिगो विकास बिना अबको मानवले आफ्ना अपेक्षा पूरा गर्न नसक्ने निचोडमा पुग्न सकिन्छ । त्यसैले भावी दिनहरुमा दीर्घ जीवनसम्म स्थिरता पाउने विकासलाई आत्मसात् गर्नु आवश्यक छ । वर्तमानमा मात्र नभई क्रमिक रूपमा परिवर्तनको भाव झल्किन्छ र त्यस्ले दीर्घकालीन स्वरुप पाउँछ भने त्यो दिगो विकास हो । दिगो विकासको पहिलो सर्त वातावरण संरक्षण र गरिबी निवारण हो ।

जनसंख्या वृद्धि र आधुनिक प्रविधिको विकासका कारण पनि मानवीय आवश्यकताहरू सधैं बढिरहेका छन् । जुन आवस्यकताहरु पुर्ण गर्नका लागि देशमा राजनैतिक स्थिरता, अमनचयन र शान्ति सुव्यवस्था जरुरी हुन्छ । अर्थ व्यवस्थालाई व्यवस्थित गराइ बहुवर्षिय परियोजनालाई अगाडि बढाउनु पर्छ । स्वदेशी उत्पादनलाई बढवा दिंदै रोजगारी सिर्जना गर्नु दिगो विकासको दोस्रो सर्त मान्न सकिन्छ ।

हाम्रा बृहत् आवश्यकताहरूको परिपूर्तिका निम्ति पृथ्वीको बहन क्षमतालाई बढाउन सकिदैन । भावी पुस्ताको आवश्यकताहरूलाई पनि सिमित बनाउन सकिदैन । जुन परिवर्तनका लागि विकासका परियोजनालाई निरन्तरता दिन सक्नुपर्छ । साथै स्रोतसाधनलाई हस्तान्तरणिय बनाउनु पर्दछ । तसर्थ आर्थिक, सामाजिक, वातावरणीय विकास र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै प्राकृतिक स्रोतसाधनको जिम्मेवार तरिकाले उपयोग गर्नु पर्छ ताकि हामी बाँच्न सकौं र भावी पुस्तालाई हस्तान्तरण गर्न पाउँ । अहिलेका मानिसहरुले क्षणिक सुख र सुविधामा भुल्ने प्रवृत्ती अङ्गालेका छन् । जस्ले देशमा दीर्घकालीन असर पु¥याउने पक्का छ । हाम्रा दैनिक आवश्यकतालाई ऐश आराममुखी बनाएर, सामाजिक अस्तित्वमाथी कुल्चिदै विदेशी राफरवाफमा भुल्नु हामी नेपालीहरुको कमजोरी हो । परम्परागत मुल्यमान्यता र जीवनयापनका गतिविधिलाई जरैदेखि निमोठ्दा दिगो विकासले गति पाउँदैन ।

विश्वको इतिहासमा दिगो विकासको अवधारणा २० औं शताब्दीको मध्यतिर प्रकृति विनासको घटनाबाट उत्पन्न भए पनि सर्वप्रथम सन् १९८० को विश्व संरक्षण रणनीतिद्धारा ‘दिगो विकास’ शब्दावलीको प्रयोग भएको पाइन्छ । मानव विकासको उच्चतम मार्ग ठानिएको रणनीतिलाई मान्यता दिंदै संयुक्त राष्ट्रसंघको ४२ औं महासभाको अधिवेशनले थप परिभाषित गरेको पाइन्छ । दिगो विकास त्यस्तो आर्थिक र सामाजिक विकास हो, जसले आफ्ना आवश्यकता पुरा गर्ने भावी पुस्ताको क्षमतालाई समेत ख्याल राखी वर्तमान पुस्ताका आवश्यकतालाई पूरा गर्दछ ।

वर्तमानको क्षणिक आवश्यकताले दिगो विकासको मर्मलाई स्वीकार गर्दैन । यथास्थितिको आवश्यकता पूरा गर्दै भावी सन्ततिहरुलाई पनि परिवर्तित संरचना हस्तान्तरण गर्ने हेतु अनुरुप यो विकास अगाडि बढ्ने बुझिन्छ । अहिले नेपालमा दिगो विकासका मापदण्ड धेरै ठाउँमा लागु भएका पाइदैनन् । आठ दस वर्ष पुराना पुर्वाधारलाई अहिले प्रयोग विहिन बनाइएका छन् । नयाँ बन्ने पुर्वाधार पनि वातावरण प्रतिकुल छन् । जसका कारण बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । वायु प्रदुषणले उच्चता पाएका छन् । जैविक खेतीको पर्याय रासायनिक खेतीलाई मान्दा वातावरण असन्तुलित र अस्वस्थ बन्न पुगेको छ । देश अतिवृष्टी, अनावृष्टी, अल्पवृष्टिको चपेटामा परेको छ । जसका कारण दिगो विकासले खुट्टा टेक्ने अवसर पाएको छैन । विश्वको इतिहासमा नेपाल सरकारले पनि दिगो विकासको सिद्धान्तलाई अवलम्बन भने नगरेको होइन । तथापि सरकारले दिगो विकासको सिद्धान्तलाई विकास प्रक्रियाका रूपमा अगाडि बढाउने नीति लिएको छ । जस्लाई संविधानतः विश्वव्यापी समृद्धता, समानता र सुरक्षाको उद्देश्य अनुरुप राखेर सामाजिक, आर्थिक र वातावरणीय संरक्षण हुन जरुरी ठानेको छ ।

माधव चापागाईं

दिगो विकासका लागि आर्थिक, वातावरणीय, सामाजिक, साँस्कृतिक, प्राविधिक, मानवीय आयामहरु उदाहरणीय छन् । दिगो विकासमा उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गरी रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि, गरिबी निवारण, पहुँच विस्तार तथा समता कायम गर्ने कार्यलाई समेट्नु पर्छ । वातवरणीय साधनस्रोतको क्षमता अभिवृद्धि र उपयोग, संरक्षण र संवर्धन गर्ने कार्य यसमा समावेश हुन्छन् । यसले वातावरणीय संरक्षणका कार्यलाई एकीकृत गरेर सञ्चालन गर्ने नीति लिएको हुन्छ । आर्थिक वृद्धि सँगसँगै जीवनस्तर सुधार, सेवा सुविधाको न्यायोचित वितरण, सामाजिक न्याय र लक्षित वर्गको सशक्तीकरण गराउने गतिविधिहरू पर्दछन् ।

मानव समाजका आदर्श, मूल्यमान्यता तथा सांस्कृतिक सम्पदाको अन्वेषण, संरक्षण र संवर्धन गर्नु पनि महत्वपूर्ण मानिन्छ । यसले सांस्कृतिक विविधताको सम्मान गर्छ । प्रविधिको माध्यमबाट साधनस्रोतको उच्चतम उपयोग गरी विकास हासिल गर्ने र वातावरणीय सन्तुलन कायम गर्ने कार्यलाई जोड दिन्छ । मानवलाई रोजगारी, सेवासुविधा र अमनचैन प्रदान गर्ने कुरालाई समेटेको हुन्छ । दिगो विकास सहभागितामूलक लोकतान्त्रिक प्रणालीमा आधारित हुन्छ । सरकारबाट बैधानिक जनप्रतिनिधिमूलक र विकेन्द्रीकरणमा आधारित शासन व्यवस्था कायम गर्दै, सन्तुलित विकास गर्ने कुरा राजनीतिक आयाममा पर्दछन् । दिगो विकासका लागि सरकारहरूबिच सहकार्यको आवश्यकता पनि पर्दछ । यिनै पक्षलाई दिगो विकासको राजनीतिक वा शासकीय आयाम भन्ने गरिएको छ ।

दिगो विकासले जनसंख्या र वातावरण बिच सन्तुलन कायम गरी स्रोतसाधनको सवल उपयोग गर्न सिकाउँछ । उच्च, स्थिर र प्रभावकारी आर्थिक वृद्धि गर्दछ । सार्वजनिक सहभागितालाई प्रोत्साहन गरी वातावरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै योजनाबद्ध विकासको उद्घोष गराउन सहयोगी भुमिका खेल्दछ । सामाजिक सद्भाव, सुशासन र न्याय कायम गर्नमा मद्दत गर्दछ । उपयोगितावादी संस्कृति नियन्त्रण गर्ने उद्देश्य राख्दछ । वर्तमान आवश्यकतालाई उचित मार्ग प्रदान गर्दै भावी पुस्ताका आवश्यकताहरूको पनि सम्मान गर्नु दिगो विकासको मुल ध्येय हो । स्रोतसाधनको न्यायोचित वितरण गर्दै वातावरणीय दुष्प्रभाव न्यूनीकरणमा सहयोग गर्दछ । नवीकरणीय स्रोतको उपयोगमा वृद्धि गराउने र अन्य स्रोतको उपयोग घटाउने काम दिगो विकासको हो ।

दिगो विकासले अनन्त र नवीकरणीय प्राकृतिक स्रोतहरूको उपयोगमा वृद्धि गर्ने र अनविकरणीय स्रोतको प्रयोगमा नियन्त्रण गर्ने रणनीति लिन्छ । दुवै किसिमका प्राकृतिक स्रोतको उपयोगमा सावधानी अपनाउने र मानवीय आवश्यकताहरूको परिपूर्ति गराउने भएकाले यो महत्वपूर्ण मानिन्छ । मानव र प्रकृतिबिच सन्तुलन कायम गर्दै उपभोक्ताहरूलाई प्रकृतिको महत्व र संवेदनशीलताका विषयमा सचेत गराउने भएकाले आजको युगलाई दिगो विकास आवश्यक छ । दिगो विकासको नारालाई सफल पार्नका लागि आधुनिक विश्व समुदाय वातावरण संरक्षणका लागि एकताबद्ध हुनु आवश्यक छ । वातावरणीय चुनौतीहरू जलवायु परिवर्तन, प्रदुषणलाई नियन्त्रण गर्न मानवीय सहकार्य गर्नुपर्छ । देशको अर्थतन्त्र सुधार गर्न सरकार र निजी क्षेत्र दुवै सचेत रहनुपर्छ । धार्मिक अस्तित्व समेटेका वर, पिपल, स्वामी जस्ता वृक्ष वनस्पति र भु संरक्षण, जल, जमिन र वनजंगलको संरक्षण गरिनु पर्दछ । प्रकृतिको दोहन रोक्नु पर्छ । गरिबी न्यूनीकरण र सरल जीवनशैलीको अनुसरण गर्नुपर्छ । उच्च जनसंख्या वृद्धि नियन्त्रण गर्न प्रतिबद्ध रहनु पर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकार्यमा अभिवृद्धि गर्ने, लोकतन्त्र र सुशासनलाई आत्मसात् गरि योजनावद्ध विकासमा जोड दिने र वैकल्पिक उर्जाको अधिक प्रयोग गरेर दिगो विकासलाई अवलम्बन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->