संविधानले कथित निरंकुश राजतन्त्र मानिने शाह वंशको अन्त्य गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उदय भयो । दलिय व्यवस्थाले (ज्ञानेन्द्र) शाहको विकल्पमा लोकतन्त्रको विगुल फुक्दा जनताले ‘शाह’ नै रोजे । यो पनि नेपाली जनताको ठूलो बलिदानी थियो । अन्ततः बालेन्द्र शाह ‘बालेन’ संघीय राजधानी एवं देशकै ठुलो महानगरपालिकाको मेयर बने ।
अहिले निकै चर्चामा रहेको नाम ‘बालेन’ हो । जे गर्छन् बालेनले गर्छन् । नेपालीहरु पुगेको ठाउँमा उनको पराक्रम, साहस र स्वाभिमानको प्रशंसा छ । केही समय अघि ‘सरर बालेन सहर’ भनेर गाडीका अगाडि पछाडी स्टिकर टास्नेसम्मका काम भए । हरेक सहरका चोक, गल्ली र गाउँका कुनासम्म उनको चर्चा चुलिएको छ । मानिसहरुले अथ्र्याउन थालेका छन्, नेता भनेको यस्तो हुनुपर्छ । देशको माया होस् । कसैको दबाबमा नपरोस् । निस्वार्थ भावनाले काम गरोस् । आखिर वीर गोर्खालीको नाम राख्ने नेपाल आमाको सच्चा सन्तान सदियौंमा एउटा जन्मिन्छ भन्थे हो रहेछ । देशको रक्षार्थ जन्मिएका हुन् बालेन । श्रीमद्भगवत गितामा ‘यदा यदा हि धर्मस्य…सम्भवामि युगे युगे ।।’ अर्थात् जब जब यस धर्तिमा धर्मको नाश अनि अधर्मको वृद्धि हुन्छ, तब तब म यो संसारमा सबैको अगाडि प्रकट हुनेछु । सज्जनहरुको रक्षा र पापीहरुको बिनाशको लागि युग युगसम्म प्रकट हुने छु । भनेर श्रीकृष्णले भन्नुभएको छ । यो उक्तिलाई मनन् गर्दा देशमा बेतिथि, अराजकता, भ्रष्टाचारले उचाइ लिएको बेला बालेनको यो रुप भगवानले भने जस्तै मान्नेहरु पनि छन् ।
बालेन दलिय व्यवस्थाबाट थकित जनतालाई बिसाउने चौतारी बनेका छन् । केही स्थानीयले निहित स्वार्थका लागि उनको विरोध गरे पनि समग्र विकासप्रेमी जनताको केन्द्र बालेन बनिरहेका छन् । उनका रणनीतिलाई टेक्ने लठी बन्यो चुनाव चिह्न, दुख भुलाउने सामाग्री बने सामाजिक समस्या समेटिएका ¥याप गीत, पुरातात्विक विषयवस्तु र काष्ठमण्डपको संस्कृति संरक्षणको बलियो आधार बने उनका सल्लाहकार । राजनीतिकको भ्रष्ट चरित्रमा रुमलिन बाध्य जनताले उनलाई भोट दिएपछि लौरो टेकेर उभिन सफल भए ।
जनताले पारदर्शी र भ्रष्टाचाररहित स्थानीय सरकारको अपेक्षा राख्छन् । जो भाग्यमानी काठमाण्डौंका जनता रहेछन् । युवाको क्षमता र अठोटमाथि विश्वास गरेर भ्रष्ट राजनीतिको विकल्प खोजिरहेका युवा पुस्ताका लागि ‘बालेन’ एक आशा बने । निषेधको राजनीतिबाट देशले निकास पाउँदैन उचित रणनीति र असल शासक चाहिन्छ भनेर स्वतन्त्रको विकल्प खोज्नु जनताको उदारता हो । पुरातनवादी सोचमा बाजेबराजुका पार्टी र चुनाव चिह्नले पछिल्लो समयमा अस्तित्व गुमाइरहेका छन् । केही मानिसहरुले नयाँ नेतृत्व चयनमा दृष्टि लगाउँदै आएका छन् भने केहिले युवा पिँढिलाई आफ्नो रोजाइ मान्ने गरेका छन् ।
नेपालको राजनैतिक इतिहासले वर्तमानमा सोचे जस्तो परिणाम पाउन असमर्थ छ । नेतृत्व जिम्मेवार, सक्षम र दक्ष हुनुपर्छ । असल व्यक्तित्व र उद्देश्य समाज र समय सापेक्षित हुनुपर्ने ठान्न थालिएको छ । चुनावी भाषणकै भरमा भोट पाउने अवस्था लोप भएको छ । आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेश पलायन हुन बाध्य सचेत युवायुवतीहरु ‘हाम्रो होइन राम्रो’ रोज्नुपर्छ भन्ने नारा घन्काउँदै छन् । निर्वाचन आयोगले ती नेपालीलाई मतदान गर्ने अधिकार दिन नसके पनि उनीहरुको इच्छालाई परिवारले स्वीकार गरेका छन् । फलस्वरूप नेपालमा राजनीतिक दल र दलका प्रतिनिधिले अपेक्षाकृत बहुमत पाएका छैनन् । यथास्थितिमा रुमलिएको हाम्रो समाजले ७ दशक माथीको जीवन काटिरहेका नेतालाई विस्थापित गर्न असमर्थ छ । परन्तु केही नयाँ, युवा र स्वतन्त्र उमेदवारको उपस्थिति पनि आशातित क्रममा छ । यस्तै परिवेशमा उदाए ‘बालेन’ । जसको कार्यशैलीले जनतामा नयाँ आशा पलाएको छ भने राजनीतिकर्मीलाई ‘बेचैन’ बनाएको छ । संघीयताको भुधरातलमा टेकेर स्थानीय तहलाई दिइएका काम, कर्तव्य र अधिकारलाई बालेनले काठमाडौंमै लागू गरेका छन् । पुराना चिह्नले जनताको मानसपटलमा वितृष्णा जगाउनु नै उनी सफल बन्नुको पर्याय थियो । उनको काम गर्ने शैली र राजनैतिक व्यवहारबाट वर्षौंदेखि नेपाली राजनीतिलाई हेरेको र राजनैतिक कुसंस्कारबाट थकित भएर विद्रोह गरेको बुझ्न सकिन्छ ।
जनचाहनाको पहिचान गरी प्रतिबद्धता जनाउनु, विश्वासमा लिनु र कार्यान्वयनमा लैजानु नै बालेनको पहिलो चुनौती थियो । आफ्ना प्रतिद्वन्द्वीहरुका आवाजलाई समेटेर काम गर्छु भन्ने उदार नीति पनि जनतालाई प्रभावित तुल्याउने उपयुक्त नीति हो । उनीहरूको सपना आफूले पूरा गरिदिने तर प्रतिद्वन्दीसंग द्वन्द नगर्नु नै सबल पक्ष हो । सक्दो गर्ने, काम गरेपछि मात्रै अभिव्यक्ति दिने, कुनै प्रचारबाजी र निस्वार्थ भावनाबीच प्रकट उनको प्रवृत्ति प्रशंसनीय छ । फोहोर व्यवस्थापनदेखि कार्यालय सञ्चालनका काममा राजनीति गरियो । बालेनले ‘नबिराउनु नडराउनु’ भन्याझै आफ्नो उद्देश्यमा दृढता देखाएपछि सबै किसिमका हस्तक्षेप बन्द भए । अहिले उनी स्वतन्त्र छन् ।
राजनैतिक अस्थिरता नै दिगो विकासको बाधक हो । आजको मन्त्री पद छिनभरमै खोसिन सक्ने शंका पालेका मन्त्रीले कसरी दीर्घकालीन सोच राख्छन् । आफ्नै अघिको गन्तव्य नदेख्ने शासकले देश र जनताको गन्तव्य पहिचान गर्न सक्छ ? बालेनको सोचले उचाइ छुनु र जनताले आशा भरोसा गर्नुमा यहि नीतिले मार्ग प्रसस्त गरेको छ । पाँच वर्षे कार्यकाल, निस्वार्थ भावना, दीर्घकालीन सोच, उचित परामर्श दाता, निरन्तरको लगनशीलता, राष्ट्र प्रेम राजनैतिक हस्तक्षेपरहित स्वतन्त्रता नै उनका मुल मन्त्र हुन् । त्यसो त यो होइन भन्नेहरुका अघि तमाम पालिका प्रमुखको दिनचर्या र उन्नतिको कसि जाँच्नु पर्छ । के उनीहरुले बजेट पाएनन् ? या सिंगो कमिटी छैन ? के जनताले बाधाव्यवधान गरे ? अनि किन जस लिन असमर्थ छन् ती चुनावी अनुहार ? पराजित मुहार कुन दुलोमा पसे ? आखिर प्रतिपक्षको भूमिका किन नखेलेका ? हामीले पुराना दलबाट के पायौँ ? राजनैतिक दलहरूसँग पुस्तौंले चिनारी बनाए तर जनताले उचित निकास पाएनन् । जनताले मध्यमार्गी बाटोको रूपमा पढेको युवालाई बनाए । वैकल्पिक उम्मेदवारको पक्षमा उभिएका जनतालाई बालेनको लठ्ठी सहारा बन्यो । जनतालाई हस्पिटल, स्वास्थ्य परामर्श र निगरानी चाहिएको छ । स्वच्छ पर्यावरण, संस्कृति र सम्पदाको संरक्षण गर्ने संरक्षक चाहिएको छ । ताकी उनीहरुको दैनिकीमा सघाउने मान्छे होइन । उचित नीति नियम बनाउने नेतृत्व चाहिएको छ । भ्रष्ट चरित्र होइन । यसर्थ बालेन वैकल्पिक र योग्य उमेदवार बन्ने । दलहरुले महानगरको शासन सत्ता आफ्नो पोल्टामा पार्ने दाउ खोजीरहँदा बालेनले सबैलाई अत्याएको छ ।
सर्वसाधारणको समर्थन पाउँदैमा प्रशासन सञ्चालन र राजनैतिक हस्तक्षेपको सामना गर्नु सानो चुनौती थिएन । पालिकाको निर्णयमा मेयर मात्र सर्वोपरि हुँदैन । विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधि समाविष्ट समितिमा सहमति गर्नु अन्यथा बहुमत जुटाउनु आवश्यक हुन्छ । दलहरूसँगको द्वन्द्व, असमझदारी र समन्वयको अभावमा दुर्घटना हुन सक्थ्यो । तर बालेनले रचनात्मक काम गरेर नविनताको उद्घोष गरिरहे । पुर्वमेयर र उपमेयरबीच आन्तरिक द्वन्द्व हुँदा भएका निर्णयहरु कार्यान्वयनमा निकै सकस परेको सर्वविदितै छ । पक्षविपक्ष बिच बेतिथीको सामना गरेको महानगरले बालेनलाई स्वीकार गरेको छ ।
प्राचीन कला संस्कृति, सम्पदा, सामाजिक मुल्यमान्यता र परम्परा संरक्षणको विषय उठाएकाले उनलाई सबैले विश्वास गरेका छन् । भाषा, सभ्यता, गुठी, सडक र त्यससँग जोडिएका समस्यालाई जनचाहना अनुसार सम्बोधन गर्नु बालेनको सफलता मान्न सकिन्छ । निर्वाचनमा सामाजिक मुद्दा उठाएका उनले फलतः राजनीतिक मुद्दादेखि मानसिक स्वास्थ्य शुद्ध राख्न नसकेको हाम्रो समाजले परिवर्तनको आभास पाएको छ । स्वतन्त्र भएर पेसागत दक्षता र शैक्षिक पृष्ठभूमिको आधारमा काम गर्न सफल रणनीतिकारका रुपमा बालेनले आफ्ना निकटष्ठ परामर्शदातालाई मान्छन् । उनी आफ्नो समूहमा शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, यातायात, कानुन, प्रशासन, राजनितीज्ञलगायत सबै क्षेत्रका विज्ञहरूलाई समेटेर उनीहरूको सल्लाह, सुझाव र सहयोगलाई शिरोपण गरि अगाडि बढेको पाइन्छ ।
दलीय राजनीतिमार्फत् उम्मेदवार हुँदा पार्टीप्रतिको दायित्व पूरा गर्नुपर्ने, ठूला नेता र पार्टी कार्यकर्ताहरुको दबदबा व्यहोर्नुपर्ने भएकाले दलीय अंकुश परित्याग गरी जनतालाई परिवर्तनको नवीन रुप दिलाउने आश्वासन दिएका उनले तदनुरुप विकास निर्माण र नीति तर्जुमा गर्न सफल भइरहेका छन् । काठमाडौंको निष्पक्षता पुर्ण कार्यशैलीको अभियानलाई देशव्यापी बनाउने प्रयास गर्नुपर्छ भन्ने युवा जमातलाई पाका पुस्ता, सामाजिक अभियानता, राजनैतिक विश्लेषक, कानुनविद, पत्रकार, बुद्धिजीवी र सरोकारवालाहरुको साथ सहयोगको खाँचो छ । ताकी हरेक शहर, गाउँ, टोल र बस्तीहरुमा ‘राष्ट्रभक्त बालेन’हरूको उदय होस् । निस्वार्थ भएर देशको सेवा गर्न सकून्, । राष्ट्र निर्माण र समुन्नतिको आवाज बुलन्द पारुन् । तब मात्र जनतामा निहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको आभास हुनेछ । जनताले शान्ति सुव्यवस्था र अमनचयनको प्रत्याभूत गर्न पाउने छन् । न्याय र अधिकारको पहुँच सर्वसाधारणको घरघरमा पुग्ने छ । परन्तु राष्ट्रप्रेमी जनताका नेता बालेन राजनैतिक सिकार नबनून् ।





