प्राचिन समयमा सम्बन्ध विच्छेदलाई पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजीमा म्ष्खयचअभ भनिन्छ । नेपाली कानूनी शब्दकोश अनुसार सम्बन्ध विच्छेद भन्नाले पारपाचुके अर्थात् तलाक भन्ने शब्द प्रयोग गरिएको छ । सम्बन्ध विच्छेदको कानूनी संरचना बृहत भएता पनि यस सम्बन्धी छुट्टै कानून भने बनेको छैन ।
कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ । सोही आधारमा पुरुष र महिला बीचको सम्बन्ध पति पत्नीको रुपमा नाता सम्बन्ध जोडिन्छ । त्यसैगरी सम्बन्ध विच्छेदबाट सोही पति, पत्नी बीचको नाता सम्बन्ध तोडिन्छ । स्पष्ट रुपमा भन्ने हो भने पतिपत्नी बीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरुप पति पत्नी बीचको नाता सम्बन्धको छोडपत्र नै सम्बन्ध विच्छेद हो । अर्थात् वैवाहिक कानूनअन्तर्गत कानूनको रित पुरयाई विवाहित दम्पतिले आफूहरुलाई सो दाम्पत्य जीवनबाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नु नै सम्बन्ध विच्छेद हो । सम्बन्ध विच्छेदपछि श्रीमान, श्रीमतीको अस्तित्व कानूनी रुपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्राप्तिको लागि चालिने कानूनी हक नै सम्बन्ध विच्छेद हो ।
नेपालको कानुनी ब्यवस्थालाई नियाल्दा महिला र पुरुषले स्वतन्त्रताको अधिकारको अभ्यास गर्न पाएको भन्ने तथ्य सजिलै अनुमान गर्न सकिन्छ, किनकी सम्बन्ध बिच्छेद गर्नु भनेको आफ्नो स्वतन्त्रताको अभ्यास गर्नु पनि हो । नेपालको संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ मा समानताको हक, धारा २९ मा शोषण विरुद्धको हक, धारा ३८ मा महिला हक सम्बन्धी व्यवस्थाहरु ग्यारेन्टी गरेको छ ।
नेपालमा सम्बन्ध विच्छेदको प्रावधान प्राचीन समयदेखि नै रहेको पाईन्छ । औपचारिक रूपमा भने वि.सं. १९१० को मुलुकी ऐनमा यस सम्बन्धी व्यवस्था रहेको थियो । उक्त व्यवस्था मुलुकी ऐन २०२० मा पनि जारी गरिएको मुलुकी ऐनमा ‘लोग्ने स्वास्नीको महल’अन्तर्गत राखिएको थियो । नेपालमा आर्थिक, सामाजिक, धार्मिक कारणले तथा विदेशी संस्कृतिको देखासिकीका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ ।
वि.सं. २०७४ सालसम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउँने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता २०७४ मा लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउँछन् । मुलुकी ऐनमा भएको पत्नीलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा पतिले त्यस्ती पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने व्यवस्थालाई हटाएको छ । चिकित्सा विज्ञानमा प्राप्त भएका नयाँ नयाँ सफलतासँगै निको नहुने रोग हुँदैन भन्ने अनुमान गरी विधायिकाले यस्तो व्यवस्था हटाएको अनुमान गर्न सकिन्छ । त्यसैगरी पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरेमा पतिले त्यस्ती पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउँछ भन्ने व्यवस्थालाई थप गरेको छ ।
मुलुकी देवानी संहितामा पतिले सम्बन्ध विच्छेद गर्न पाउने आधारमा ‘पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरेमा’ भन्ने व्यवस्था थप भएको अनुमान गर्न सकिन्छ । त्यस्तै मुलुकी देवानी संहितामा ‘पति नपुंसक हुन गएमा’ र ‘पतिलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा’ भन्ने दुई आधारमा सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था झिकिएको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ७०६ ले विदेशमा भएको सम्बन्ध विच्छेदलाई मान्यता दिएको छ । नेपाली नागरिकहरू बीच वा नेपाली नागरिक र विदेशी बीच विदेशमा सम्बन्ध विच्छेद भएकोमा सम्बन्ध विच्छेद भएको मुलुकको कानून बमोजिम त्यस्तो सम्बन्ध विच्छेद भएको रहेछ भने त्यस्तो सम्बन्ध विच्छेदले नेपालको कानून बमोजिम मान्यता पाउनेछ र त्यस्तो कार्यान्वयन हुन सक्ने छ ।
पुरानो मुलुकी ऐनलाई विस्तावित गरी हाल मुलुकी देवानी संहिता २०७४ लागू भएको छ । उक्त संहिताको खण्ड–एकः मुलुकी देवानी संहिता, २०७४ को भाग–३, परिच्छेद–३ मा सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थालाई हेर्दा दफा ९३ देखि दफा १०४ सम्म उल्लेख गरिएको छ । जसमा सम्बन्ध विच्छेद गर्न चाहने दुवै पक्षको मन्जुरीमा सम्बन्ध विच्छेद हुनेछ भने पति पत्नी (लोग्ने स्वास्नी) दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्ध विच्छेद गर्न सक्ने छन् पाउने छ ।
यदि पति (लोग्ने वा श्रीमान) ले पत्नी (स्वास्नी वा श्रीमती) सँग सम्बन्ध विच्छेद गर्न चाहेमा पत्नी (स्वास्नी वा श्रीमती) मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने कानूनी आधारहरुः कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
त्यस्तै पत्नी (स्वास्नी वा श्रीमती) ले पति (लोग्ने वा श्रीमान) सँग सम्बन्ध विच्छेद गर्न चाहेमा पति (लोग्ने वा श्रीमान) मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्ने सक्ने कानूनी आधारहरुः कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
माथि उल्लेख भए अनुसार पति (लोग्ने वा श्रीमान) र पत्नी (स्वास्नी वा श्रीमती) बीचमा सम्बन्ध विच्छेद गर्न सकिने कानूनी आधारहरु दुवै पक्षले अर्थात् पतिपत्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा सम्बन्धित जिल्ला अदालतमा निबेदन गर्नु पर्नेछ । यस सम्बन्धमा जिल्ला अदालतबाहेक अन्य अर्धनिकायलाई यस सम्बन्ध निबेदन लिने निर्णय गर्ने अधिकार छैन । सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्ने छ । निवेदन परेमा सम्बन्धित जिल्ला अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
दुवै पक्षलाई सम्झाउँदा बुझाउँदा मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरि दिनु पर्नेछ । साथै पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन सक्नेछ भने पतिको कारणबाट पति पत्नीबीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पतिपत्नीबीच अंशबण्डा गर्न लगाउनु पर्नेछ । पत्नीले सम्बन्ध विच्छेद गर्न पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ । सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नी मध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ ।
सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फाँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ । अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पतिपत्नीबीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भरार्ई दिन सक्नेछ । तर त्यसरी अंशबण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन ।
पतिले खान लगाउन नदिई घरबाट निकाला गरेमा, अङ्गभङ्ग वा कुनै ठुलो शारिरिक वा मानसिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।
सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्ई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ । तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनुपर्ने छैन ।
अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भरार्ई दिन सक्नेछ । तर, त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनुपर्ने छैन । पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनुपर्ने छैन । पतिपत्नीबीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पतिपत्नीबीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ । तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन । सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइती पट्टिका हकवालाले पाउने छ ।
सम्बन्ध विच्छेद सम्बन्धी हदम्याद सम्बन्धमा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस वा उजुर गर्न सक्नेछ । अन्यथा हदम्याद नाधेमा कहिंकतै उजुर बाजुर लाग्ने समेत छैन ।





