पोखरा/पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा तनहुँले गोरखालाई ३–० गोलको फराकिलो अन्तरले हरायो । खेलको २० औं मिनेटमा तनहुँका शान्ता बहादुर गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको २३ औं मिनेटमा राम थापाले टोलीका लागि दोस्रो गोल गरे । यस्तै खेलको ३१ औं मिनेटमा जिवेश आले मगरले गोल गर्दै अग्रता तेब्बर पारे । पहिलो हाफमै ३–० गोले पछि परेको गोर्खाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि विफल रह्यो । दोस्रो हाफमा सुधारिएको खेल पस्कदैँ गोर्खाले बलियो तनहुँलाई गोल गर्ने अवसर दिएन ।
प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको छ । कास्कीसहित प्रतियोगितामा गोर्खा, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, स्याङजा, म्याग्दी र लम्जुङको सहभागिता रहेको छ । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटसमेत गरिने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।
प्रतियोगितामा मुस्ताङ जिल्लाले सहभागिता जनाउन खोजे पनि समय नभएका भन्दै सहभागिता हुन दिइएको छैन् । एक फुटबलकर्मीका अनुसार खेलकुद परिषद गण्डकीले २२ गते पत्र पठाउँदै २३ गतेभित्र खेलमा सहभागिता हुन भनेपछि भौगौलिक रुपमा टाढा रहेको मुस्ताङले सहभागिता जनाउन नपाएको हो । ‘मुस्ताङले पत्र काटिसकेको थियो तर टिम दर्ता गराउन मानेनन्,’ उनले भने, ‘यो हतारमा गरिएको प्रतियोगिता हो । प्रदेशले प्रतियोगितालाई गम्भीर भएर नसोच्दा समस्या आएको छ ।’
उता प्रदेश परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आधिकारिक रुपमा सहभागिता नहुने बताएका कारण मुस्ताङलाई सहभागिता नगराएको जानकारी दिए । परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आबद्ध रहेका जिल्लाका फुटबल संघलाई नै पत्र काटेको र आबद्ध नरहेका जिल्लाको हकमा भने जिल्ला खेलकुद विकास समितिलाई पत्र काटदै टिम सहभागिताका लागि अनुरोध गर्दा मनाङले सहभागिता नजनाउने जानकारी गराएको र मुस्ताङको समेत सोही कुरा आएको बताए ।
परिषद्ले २३ गते २ बजेसम्मका लागि टिम दर्ताको आह्वान गरेको थियो । २२ गते पत्र काटेका कारण जिल्लाहरुलाई टिम बनाउन सकस भइको थियो । छोटो समयमा टिम बनाउन पर्दा सबै जिल्ला सहभागी हुन असमर्थ भएका हुन् । खेलाडी छनोट समेत रहेको प्रतियोगितामा दुई जिल्ला सहभागि नभए पनि जिल्लामा राम्रा खेलाडी भए खेलाडी छनोटमा सहभागि गराउने प्रतिबद्धता सदस्य सचिवले गरे । उनले जिल्ला छुटेपनि राम्रा खेलाडी भए नछुट्याउने बताए । उनले प्रतियोगिताको टाइसिट बनाइ सार्वजानिक गरेपछि मुस्ताङबाट एक व्यक्तिले आफू प्रशिक्षक भएको बताउँदै टिम दर्ता गराउन अनुरोध गरे पनि जिल्ला खेलकुद विकास समितिसँग जानकारी माग्दा आधिकारिक रुपमा केही नभनिएको जिकिर गरे । उनका अनुसार टाइसिट निस्किसकेपछि मात्रै टिम दर्ताका लागि फोन आएको थियो ।





