हामी सुख र खुशी भनेपछि अत्यन्त पुलकित बन्छौं । सुखमा रमाउछौं र दुखमा विस्मित बन्छौं । भविष्यमा खुशी हुन वर्तमानमा अथाह दुख र संघर्ष गर्न तम्तयार हुन्छौं । कतिले अहिले हजारौं दुखको पर्याय आगतको सुख र खुशी ठान्छन् । कतिले भाग्यको खेल ठानेर सुख, दुख, शान्ति र अशान्तिलाई भोग्य अवधी मान्छन् । मानिस दुई प्रकारका हुन्छन् । ‘सन्तोषम् परमम् सुखम्’ भन्ने महान वाणीलाई आत्मसात गरेर सन्तोष मानिरहने मानिसहरु पनि यो संसारमा छन् । भाग्य र सिद्धान्तलाई धरातलमै छोडेर सुख, शान्ति र ऐश्वर्यको पछाडि दौडिने जमात पनि धर्तीमा छ ।
सकारात्मक सोच र सत् सङ्कल्पबाट सुख र खुशीको अनुभूति गर्नु अनन्त सत्य हो । जस्ले निराधार असत्यको पिछा गर्छ त्यो अवश्य पनि अशान्त र अस्थिर बन्छ । जीवनलाई सफल, प्रेरणादायी र समाजमा अनुकरणीय बन्न सत् कार्यमा ध्यान दिन जरुरी हुन्छ । असत् कार्यबाट प्राप्त उपलब्धि क्षणिक हुन्छ । सदाकालको लागि सुख, इमान र किर्तीको खोजी गर्नु छ भने सत् कर्मको प्रारम्भ गर्नु अनिवार्य रहन्छ । त्यसैले यो कलियुगमा भ्रमित मनहरुका भ्रामक सङ्कल्पबाट टाढा रहनु र सत् व्यवहार प्रदर्शन गरेर निश्चिन्त रहनु बुद्दिमानी हुन सक्छ । ‘पाप धुरीबाट कराउँछ’ भन्याझै धर्ती आकाश सधै एकै रहन सक्दैनन् । आकाशमा बादल लागे धर्तिमा वर्षात् हुन्छ । आकाशले बादलको पर्दा उघारे धर्तीमा सुर्यको किरणले स्पर्श गर्छ । तब धर्तीकै पानीलाई बाफ बनाएर पुर्ववत् आकाश गर्भिलो बन्छ । त्यसैले समाजमा हत्या, हिंसा, अन्याय, अत्याचार, दुराचार, शोषण, दमन र भ्रष्टाचार जस्ता असत् कर्महरु गरेर आर्जित धन सम्पत्ति र सुखले सदाकाल सत् चरित्रको विकास हुन असम्भव प्रायः छ ।
यो संसारमा जन्म लिएका सबै प्राणी जगतको अन्तस्करणमा खुशी र प्रसन्नताले भिन्नै स्थान बनाएको हुन्छ । मानव जातिले खुशीकै लागि अनेक दुख कष्ट गरिरहेको हुन्छ । भविष्यको सुन्दर परिकल्पनामा वर्तमानमा दुख गर्नु मानवको कर्तव्य ठहर्छ । समाजमा कोहि मानिसले निरन्तर संघर्षको अभ्यास गरिरहेको छ भने बुझ्नुस् उस्ले सुन्दर भविष्यको कल्पना गरिरहेको छ । तसर्थ वर्तमानलाई आफू मेटिनु पुर्व नै मेटाएर सुन्दर आगतको प्रतीक्षा मानिसले गरिरहेको हुन्छ । अहिले मानिसहरू आफू खुशी हुन र परिवारलाई प्रसन्न तुल्याउन हरतरह प्रयत्न गर्ने गरेका हुन्छन् । धैर्यशिल हुनु, आफ्नो उद्देश्यमा प्रतिबद्ध रहनु, सकारात्मक सोच लिनु, विपत्तिको सामना गर्न सक्नु उत्तम जीवनको संकेत नै हो । ‘सुखमा नमात्तिनु दुखमा नआत्तिनु’ पनि सुखानुभुतिको एक अंश हो ।
खुशीको पर्यायवाची हर्ष र प्रसन्नतालाई निराश नहुने, सन्तुलित खाना खाने र धैर्यशिल बन्ने जस्ता कार्य फलदायी हुनेछन् । आफ्नो अनुकुल स्थान, वस्तु, कार्य र समयको पहिचान गर्न सक्ने मानिस नै सदासर्वदा खुशी रहन सक्छ । मानिसले समाजमा छुट्टै अस्तित्व प्राप्त गर्न चाहन्छ । अरुभन्दा भिन्न हुनु, सामाजिक प्रतिष्ठा कमाउन खोज्नु स्वभाविक नै ठानिन्छ । जसका लागि मानिसले सामाजिक कार्यमा खुलेर लागि पर्ने गरेको पाइन्छ । आन्तरिक क्षमता र मनोभावनालाई यथास्थितिमा नियन्त्रण गरेर समाजप्रति बफादार र नियन्त्रित हुनु पनि मानव धर्म सावित भएको छ । तसर्थ आफ्नो कीर्ति फैलाउन सत् कार्यमा लाग्नु आवश्यक हुन्छ ।
दुखलाई पनि दूरवर्ती बनाउन सत् कर्मले सामथ्र्य राख्दछ । आफ्नो एकत्व भावलाई यथास्थानमा राखेर परोपकारी कार्यमा उद्वत हुनु सदाशयताको प्रतीक हुन्छ । जस्ले अरुको दुखलाई नजिकबाट नियालेर दुख बोध गर्छ । उस्ले परमार्थ प्राप्तिको लय समाउँछ । अरुको दुखमा दुखी हुनु भनेको दुखको अनुभुती गर्नु हो, जस्ले दुखीलाई दुखको दलदलबाट बाह्य संसारमा झिक्न सफल हुन्छ । ऊ कहिल्यै दुखी बन्नु पर्दैन र एक्लो पनि हुँदैन । तसर्थ हामीले सत् सङ्कल्पद्वारा आफ्नो जीवनलाई विभुषित गराउनु पर्दछ । जहाँ सदासर्वदा खुशी प्राप्त हुन्छ ।
खुशीकै सन्दर्भमा आजको युग दौडिरहेको छ । सन्तानको एक झोक्का खुशीका लागि लाखौं बाबुआमाहरु विदेशिएका छन् । कति युवायुवतीहरुले घर, परिवार, समाज र राष्ट्रको मुहार फेर्ने सपना बुनेका छन् । मानिसले जुनसुकै सन्दर्भ र परिवेशको सामना गरे पनि अन्ततः खुशीको लागि नै सावित भएका छन् । यसर्थ पनि हामी सत् कार्यमा प्रतिबद्ध हुनु आवश्यक हुन्छ । आफूले सच्चा भावका साथ कर्म गर्यौ र अरुको कुभलो चिताएनौं भने सबैको माझ हामी उदाहरणीय बन्छौं । आफ्नो दैनिकीमा परिवर्तन ल्याउन सक्यौं भने पनि हामी खुशी बन्ने उदाहरणहरु यथेष्ट पाइन्छन् । सबै मानिसलाई आफ्नो नाम प्यारो हुन्छ । जस्का लागि हामीले कुनै व्यक्तिसंगको सम्बन्ध विस्तार वा व्यवहारमा उस्को नामबाट सुरु गरौं । आफूभन्दा ठुलाको आदर र सानाको सम्मानपुर्ण मायाका लागि मिठो वाक्यांशबाट कुराकानी प्रारम्भ गर्यौ भने अवश्य पनि अभिव्यक्ति राख्ने र सुन्ने दुवैमा प्रसन्नता छाउने छ ।
बाह्य जीवनका अतिरिक्त घरायसी व्यवहारका यावत् गतिविधिबाट पनि हामीहरु थप सन्तुष्ट, उत्साहित र प्रसन्न बन्ने आधारहरु छन् । जस्मा सुत्ने, उठ्ने र परिवारसंग छलफल गर्ने उचित समयको व्यवस्थापन महत्वपूर्ण रहन्छ । हामीले हाम्रो दैनिकीलाई सकारात्मक कार्यबाट प्रारम्भ गरे सहज र सन्तुलित वातावरणमा दिन बित्ने निश्चित छ । अस्पष्ट, असन्तुलित, अनावश्यक र अमर्यादित क्रियाकलापबाट दैनिकी सुरु गरेमा दिन असहज बन्न पुग्छ । तसर्थ हामीले अनावश्यक र प्रदुषित भावनालाई दिलबाट हटाउने प्रयत्नमा लाग्नुपर्छ । जसरी कोठाभित्रका अनावश्यक वस्तुहरु हटाउने गरिन्छ ।
आफू आत्मनिर्भर बन्ने र अरुको अनुकुल बन्न प्रयत्न गर्ने बानीले हामीमा थप उर्जा प्राप्त हुन्छ । आफ्नो वा पराइ जो कसैको कार्यमा सफलताको भाव जागृत गराउन सके पुर्ण बन्न सकिन्छ । समाजमा हुने कार्य व्यवहारमा परोपकारी र कल्याणकारी सोच राख्ने बानीले समाजमा छुट्टै अस्तित्व प्राप्ति हुन्छ । हामीले निरन्तर सकारात्मक सोचको विकास गर्न सक्यौ भने परिवार, समाज र समुदायमा आश्रीत मनहरु प्रभावित बन्छन् । फलस्वरूप आफू पुर्ण भएको महशुस हुन थाल्छ । र, यत्र तत्र सर्वत्र खुशीको बहार छाउने गर्दछ ।
आफू पुर्ण बन्ने र अरुलाई पनि पुर्ण सम्झिने व्यवहार लागू गर्नु आवश्यक हुन्छ । आफू थोरै बोल्ने तर धेरै सुन्ने बानीले अरुको मन पर्न सकिन्छ । दैनिक कामका अलावा बचेको समयलाई सिर्जनात्मक कार्यमा जोड्ने प्रवृत्तिले निख्खारता ल्याउँछ । आफू जस्तो छ । आफूसंग जे छ । त्यसैमा सन्तुष्ट हुन सके आफैंमा अगाध खुशीका मार्गहरु छन् भन्ने पहिचान हुन्छ । आफ्नो दैनिक कार्यतालिका बनाउने बानीले घरायसी कामलाई सहज रूपमा सम्पन्न गर्न सकिन्छ । आर्थिक कारोबार र सम्बन्धलाई पारदर्शी बनाउनु नै सुव्यवस्थित जीवनको परिचय हो । तसर्थ हामीले कारोबार र व्यवहारमा शुद्धपन ल्याउनु जरुरी हुन्छ ।
घरायसी व्यवहार र दैनिक क्रियाकलापले जीवनमा खुशीको आगमन हुने गर्दछ । जस्तैः समयमा खानु, सात्विक भोजन गर्नु, ६ देखि ८ घण्टाको पुर्ण निद्रालाई समय दिनु, घरायसी सामानहरु अनुकूल स्थानमा राख्ने, पिउने पानीको मात्रा मिलाउने र समान समयमा खाना खाने व्यवस्था मिलाउने कार्य पनि सत् जीवनको परिकल्पनाभित्र पर्ने गर्दछन् । आफन्त, साथीसंगी र अभिभावकहरु संगका सम्बन्ध सुमधुर बनाउने असहज र प्रतिकुल सम्बन्धलाई परित्याग गर्ने, आफ्ना कामहरू यथाशीघ्र सम्पन्न गर्ने, अन्य सामाजिक कामहरुमा सक्रिय रहने, आफुले गर्ने र गरेका कामहरूको मुल्यांकन गर्ने तर दुखी नहुने, प्रविधियुक्त र सामाजिक सञ्जाल एवं यन्त्रहरुको प्रयोगलाई कम समय छुट्याउने ।
फोनको झन्झटबाट टाढा रहने नियमित गर्नुपर्ने कामहरुको व्यवस्थित सूची निर्माण गर्ने र लागू गर्ने गर्नाले हाम्रो समग्र जीवन नै व्यवस्थित हुनेछ । जीवन सुखमय र खुशी हुने छ । परिवारका सदस्यहरुलाई उचित समय दिने र एक पटकमा एउटा मात्रै काममा केन्द्रित हुने गर्नाले पनि हामीलाई सहज हुन्छ । दैनिक भगवानको पुजाआराधना र ध्यान गर्ने बानीले पनि जीवनमा प्रसन्नता ल्याउँछ । मनमा भयलाई स्थान नदिनु, सबल, सरल र सकारात्मक उद्देश्य लिनु अधिक बुद्धिमानी ठहर्छ । निश्चित वस्तुको परित्याग र अनिश्चित वस्तुको अभिलाषी भए दुखैदुखको भुमरीमा पर्नु पर्छ । तसर्थ आफ्नो योग्यता र दक्षता अनुरुप उद्देश्य लिएर अघि बढ्न सके चौतर्फी फाइदा हुन्छ । जीवन खुशी साथ बित्छ ।





