दाइजो नेपाली समाजमा महिला हिंसासंग जोडिएको विषय हो । पर्याप्त दाइजो नल्याएको भनेर धेरै नेपाली चेलीबेटीहरु घरेलु हिंसाबाट प्रत्याडित छन् । दाइजो इच्छा अनुरुप माइती पक्षले छोरी, चेलीलाई दिइने उपहारको रुपमा परिभाषित गरेता पनि यसलाई केटा पक्षले बाध्यकारी तुल्याउने गरेको पाइन्छ । नेपाली समाज बेहुला र बेहुली बिचको प्रेम सम्बन्धसंग नजोडी दाइजो संग तुलना हुन पुगेको छ । दाइजो कै कारण कतिपय नारीहरुले देह त्याग गर्नु पर्ने अवस्था समेत आइपरेको छ । तर समाजमा दाइजो प्रथाले हिजो भन्दा आज जरो गाडेर बसेको छ । समाजमा कसले कति दाइजो ल्यायो भन्ने होडबाजी चल्दा यस्ता कुरीती मौलाउदै गएको पाइन्छ ।
दाइजोको आकार, भार र दबाब दिन प्रतिदिन बढ्दै छ । तिव्र प्रविधिको विकाससंगै नेपाली समाजको लोकप्रिय बनेका सामाजिक सञ्जालको प्रयोगले देखाउने र देखासिकीले पनि दाइजोलाई प्रोत्साहन गरेको पाइन्छ । प्रत्यक्ष होस वा अप्रत्यक्ष केटा पक्षले दाइजोको मोलमोलाई गरेका हुन्छन् । आजभोली दाइजो हामीलाई चाहिदैन तर विवाहको दिन इज्जत राखिदिए पुग्छ भन्ने भाष्य खडा गरेर घुमाउरो शैलीबाट बेहुली पक्षलाई दबाब दिएको देखिन्छ । त्यो दिनको इज्जत के हो भन्ने स्पष्टता छैन । इज्जत आदर सत्कारलाई भन्छन् की चलअचल सम्पत्ति, महङ्गा धातु वा महङ्गा खाद्यपरिकार हो भन्ने कुरामा समाज विभाजित छ ।
केही महिना अघि बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ४ सिनेमाचोकका उमेश शाह गोढले विवाहमा सिक्रि नदिइएको भन्दै बरमाला भइसकेको विवाह मण्डपबाटै रद्द भएको घोषणा गरे । उक्त विवाहका वेहुला उमेशले विवाह अघि नै १५ लाख २५ हजार रुपैयाँ नगद, त्यस पछि पुन १२ लाख नगद, मोटरसाइकल वापत ३ लाख २५ हजार नगद, एक थान ल्यापटप, एक थान सुनको औंठी, एक थान हनुमानको माला बुझिलिएका थिए । यति धेरै नगद तथा जिन्सी सामग्री ग्रहण गरेका उनलाई एउटा सुनको सिक्रीले अभाव महशुस गरायो । वेहुला उमेश शाह वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत रहेको बुझिन्छ ।
त्यस्तै, एक वर्ष पहिले महोत्तरीकी नेहा चौधरीले पनि दाइजोबाट सृर्जित हिंसा सहनु परेको थियोे । उनले डाक्टर पंकज चौधरी सँगको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेकी थिइनन् । बिवाह गर्दा नेहाका परिवारलाई पंकजका घरपरिवारले डाक्टर पढाउदा लागेको सबै खर्च व्यहोर्नु पर्ने शर्त राखेका थिए । सोही अनुरुप पंकजको परिवारलाई २० तोला सुन, टिभी, दराज, फर्निचर सहित करीब १ करोड २५ लाख रुपैयाँ खर्च भएको नेहाको परिवारले बताएका थिए । बिवाह भएको केही महिना पछि पंकज र उनका परिवारले नेहालाई शारिरिक तथा मानसिक यातना दिएका थिए । पंकज चौधरीले राजधानीको ग्राण्डी हस्पिटलमा काम गर्थे । नेहाले आफू पनि राजधानीमा नै पढ्छु भन्दा उनी माथि गाली बर्षन्थ्यो र काठमाडौंमा उनका माइतिले घर दिए मात्र पढाउन सक्ने भनि तनाव दिन्थे ।
पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बगेको बताएकी थिइन् । उनले आफ्नो पीडा सामाजिक सञ्जालमा सुनाउदै गुहार मागेकी थिइन् । सरकारी कर्मचारी, डाक्टर जस्तो सम्मानित पेशामा संलग्न व्यक्तिबाट नै दाइजोका कारण अमानविय व्यवहार र घटना घट्नु निकै चिन्ताको विषय हो । यी घटना समाजको प्रतिनिधि घटना मात्रै हुन् । समाजमा दबिएर रहेका र बाहिर प्रकाशमा नआएका कैयौं दाइजो सम्बन्धि घटनाहरु रहेका छन् । दाइजो प्रथाले उग्ररुप लिदैजाँदा दाइजो मागेर चेलिवेटीको जीवन तुषारापात तुल्याउने विरुद्ध सामाजिक कारबाही गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । कतिपयले त अहिले कार्यान्वयनमा रहेको ऐन, कानूनले सजाय कम राखेको समेत गुनासो गरेका छन् । दाइजोको नै निउँमा श्रीमती, बालबच्चाको हत्या गर्ने, जीउदै जलाउने, मलमुत्र खुवाउने बोक्सीको आरोप लगाउने, मिथ्या आरोप लगाउने, पेटभरी खाना नदिने, जोखिमयुक्त काम लगाउने जस्ता अमानविय घटनाहरु हाम्रो समाजमा घट्ने गरेका छन् ।
छोरी जन्मिए दाइजो दिनु पर्छ भनेर भु्रण हत्या गर्ने, सानै उमेरमा विवाह गराउने, चेलिवेटीलाई नपढाउने परिपाटी नेपाली समाजमा देखिन्छ । कतिपय स्थानमा दाइजोलाई गौणरुपमा राखिएको देखिएता पनि विवाह भने भड्किलो र खर्चिलो भएको देखिन्छ । विवाहलाई सस्कारको रुपमा नहेरी उत्सवको रुपमा लिदा आज भोली वैवाहिक कार्यक्रम धान्न नसकिने भएका छन् । शिक्षित तथा आधुनिक पुस्ताले समेत अप्रत्यक्षरुपमा दाइजोलाई स्विकार गर्दा दाइजो प्रथा नियन्त्रण गर्न कठिन हुदै गएको छ । दाइजो देखासिकीको कुरुप दृश्य बन्यो । झन् उच्च तहका धनाढ्य परिवारमा दाइजोबाट सृर्जित घटना दबिएर रहेका हुन सक्छन् । दाइजोको बारेमा हाम्रो समाज मौन नै बस्छ । अझ भनौं दाइजोको बारेमा टिकाटिप्पणी, प्रशंसा ज्यादा हुने गर्छ । दाइजो प्रथालाई निरुत्साहित गर्न आफ्नोतर्फबाट प्रभावकारी भुमिका र अभियान भने चालेको पाइदैन ।
नेपालमा दाइजो प्रथालाई निरुत्साहित गर्न मुलुकी अपराध संहिता २०७४ को दफा १७४ मा बिवाहमा लेनदेन गर्न नहुने कुरा उठाइएको छ । जसमा आफ्नो परम्परादेखी चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एक सरो गहना बाहेक बिवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी बिवाह गर्न वा गराउन हुदैन भनी उल्लेख छ । यदी यो कसुर गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । उपदफा ३ मा कसैले विवाह गरी सकेपछि वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानविय वा अपमानजन्य व्यवहार गर्न हुदैन भनिएको छ । उक्त कसूर गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यस संहितालाई आधार मानेर दाइजो प्रथालाई प्रभावकारी नियन्त्रण गर्नु राज्यको दायित्व हुन जान्छ ।
दाइजो प्रथाले समाजमा निरन्तरता पाउनु भनेको समाजमा नागरिक जागरणको अभावले हो । महिला सशक्तिकरण, समानता, समावेशिकरण, शिक्षा तथा चेतनाको स्तर फराकिलो भयो भने मात्र दाइजो प्रथाबाट नेपाली समाज टाढा रहन सक्छ । सञ्चार माध्यामको क्रियाशिलता, विश्वविद्यालय तथा विद्यालयहरुको पाठ्यक्रममा दाइजो कुप्रथाको विषय सम्बन्धि पठनपाठन अनिवार्य गर्नु पर्छ । महिला अधिकारको संरक्षण गर्दै दाइजोबाट पीडित महिलाको पुर्नस्थापना र स्वाबलम्वनका लागी विभिन्न रोजगारीको उपलब्धता एवं सीपमुलक तालिमको व्यवस्था गरिदिनु पर्छ ।
समाजमा रहेका महिला समुह, युवा क्लब, राजनीतिक दल तथा विभिन्न संघसस्थाले दाइजो रोक्न विभिन्न चेतनामुलक अभियान चाल्ने र पीडकलाई खबरदारी गर्ने गर्नुपर्छ । स्थानीय सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न समाजका वैवाहिक गतिविधि निहाल्ने र सकेसम्म दाइजोमुक्त स्थानीय तहको घोषणा गर्न सकेमा दाइजो प्रथालाई केही हदसम्म कम गर्न सकिन्छ । न्यायालयले दाइजो सम्बन्धि मुद्धाहरु चाडै फैसला गरी पीडकलाई कारबाहीको भागिदार बनाउनु पर्छ भने पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था हनु पर्छ । सुन्दर र समन्यायिक समाज निर्माण गर्न दाइजो प्रथालाई सदाको लागी रोक्नु पर्छ । दाइजो प्रथा विरुद्ध सबै मानिस एक जुट हुनु आवश्यक छ ।
९८६१८९८९७९





