पोखरा / आईसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ। एर्नोस भेले ग्राउन्डमा भएको सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बन्दा डिएलएस नियमको आधारमा २० ओभरको खेल १९ ओभरमा सिमित गर्दै ११४ रनको टार्गेट तय गरिएको थियो। जसमा बङ्गलादेशले १ ओभर १ बल बाँकी छदै अलआउट भएर १०५ रन मात्रै बनाउन सक्यो।
बङ्गलादेशका लागि लिटन दासले सर्वाधिक ५४ रनको पारी खेले पनि त्यो जितका लागि काम लागेन। अफगानी बलका सामने कमजोर बनेका बङ्गलादेशी खेलाडीहरू धेरै बेर टिक्न सकेनन्।

बङ्गलादेशको सेमिफाइनल यात्रा रोक्न्का लागि अफगानिस्तानका कप्तान राशिद खान र नविन उल हकले समान ४र४ विकेट लिए भने गुलबदिन नायब र फजलहक फारुकीले समान १र१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले।
अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए।
बङ्गलादेशका लागि रिसाद होसेनले सर्वाधिक ३ विकेट लिँदा तन्जिम हसन शाकिब र मस्तफिजुर रहमानले समान १र१ विकेट लिए।





