सम्मानित सभाका सभाध्यक्ष ज्यू,
सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, प्रमुख अतिथि, आमन्त्रित समाजसेवी, बुद्धिजिवी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, पत्रकार, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित सम्पूर्ण महानुभावहरु,
विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलन तथा जनयुद्धद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको जनताको इच्छा र अपेक्षा अनुसारको संविधानमा जनताले नै रोजेका जनप्रतिनिधिहरुद्वारा आफ्नै घर आगनमा छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्राप्तिका लागि त्याग र तपस्या सहित आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । यस बजेट तथा कार्यक्रम निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।
गाउँपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित प्रयोग गरी रोजगारी सिर्जनामार्फत् गरिबी निवारण गरी आर्थिक, सामाजिक र भौतिक रुपमा समृद्ध ताराखोलाको निर्माण गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो । जटिल भौगोलिक संरचनाका बीचमा भइरहेका पूर्वाधार निर्माणका कार्यहरूको कारणले वर्षातको समयमा हुने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको सिर्जना भई सार्वजनिक पूर्वाधार क्षेत्रमा गरिएको लगानीको समुचित प्रतिफल प्राप्त हुन नसक्नु, अव्यवस्थित बसाइसराइका कारण सार्वजनिक क्षेत्रमा गरिएको लगानी को लाभ लिने जनसंख्या घट्दै जानु, दक्ष र सीपयुक्त जनशक्तिलाई पालिका क्षेत्रमा रोजगारी उपलब्ध गराउन नसकिनु जस्ता चुनौतीहरू हाम्रा सामु रहेका छन् । यद्यपि कृषि र पशु पालनलाई व्यवसायिक बनाइ, पर्यटन पूर्वाधारको निर्माण गरी, प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै रोजगारी सृजना गरी गरिबी निवारणतर्फ जोड दिइ ‘कृषि, पर्यटन, वन, उद्योग र रोजगारीको सबल पूर्वाधार, गुणस्तरीय स्वास्थ्य र शिक्षासहित आत्मनिर्भर र समृद्ध ताराखोलाको कार्यभार’ भन्ने दीर्घकालीन सोचलाई पुष्ट्याइँ गर्नेतर्फ बजेटलाई केन्द्रित गरेको छु ।
सम्मानित सभाका सभाध्यक्ष एवं सदस्य ज्यूहरु,
चालु आ.व.को बजेट तथा कार्यक्रम कार्यान्वयनमा हालसम्म निम्न बमोजिम वित्तीय प्रगति हासिल गरेको कुरा राख्न चाहन्छु ।
–आर्थिक वर्षमा कुल आय रू. ३६ करोड ६७ लाख ९३ हजार विनियोजन गरिएको थियो । जसमा पूँजीगत खर्च कुल रु. १४ करोड ६३ लाख २९ हजार र चालु खर्च सशर्त अनुदानसहित रु. २२ करोड ३ लाख ६४ हजार रहेको थियो भने हालसम्म जम्मा २४ करोड १५ लाख ८३ हजार २ सय ७८ वित्तीय प्रगति भएको छ ।
–चालु आ.व.मा रू. ६० लाख राजश्व संकलन गर्ने अनुमान गरिएकोमा हालसम्म रू. ५५,७८,९०२.०९।– राजश्व संकलन हुन सकेको छ ।
सम्मानित सभाका सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटको प्रमुख उद्देश्यहरु प्रस्तुत गर्न चाहन्छु ।
१. गाउँपालिकाको गौरवका तथा प्रतिफल दिने आयोजनाहरुमा बजेटलाई प्राथमिकिकरण गर्ने ।
२. ‘अध्यक्ष नवप्रवर्तन साझेदारी कार्यक्रम’मार्फत कृषि, पशु, उद्यमशिलता, सहकारी, रोजगार र पर्यटनलाई विकासको मुख्य केन्द्रमा राख्ने ।
३. शैक्षिक सुधारको लागि प्रयोगात्मक सिकाई तथा अतिरिक्त सिकाईसहित सिकाई उपलब्धि अभिवृद्धि गर्ने ।
४. उत्पादन र बजारीकरणमा अनुदान कार्यक्रम संचालन गरि सहकारीमार्फत स्थानीय उत्पादनको निर्यात प्रवर्द्धन गर्दै बजार अनुगमनलाई थप व्यवस्थित गर्ने ।
५. खेलकुद विकासको लागि खेल महोत्सब संचालन गर्ने ।
६. सामाजिक न्याय र समावेशिकरणको लागि जातीय, क्षत्रिय, लैङ्गिक, भाषिक, सांस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका लागि विशेष कार्यक्रम संचालन गर्ने ।
७. समुदाय, टोलविकास संस्था परिचालन गरि स्वच्छ पिउने पानी र सरसफाईको सुनिश्चितता गर्ने ।
८. सबै उमेर समूहका नागरिकलाई सम्पुर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन सेवामा सुदृढिकरण गर्ने ।
९. शहिद, वेपत्ता, घाईते, अपाङ्गलाई विशेष कार्यक्रममार्फत सम्बोधन गर्ने ।
१०. जनधनको सुरक्षाको लागि विपद् जोखिम न्युनीकरणमा विशेष जोड दिने ।
११. सेवा क्षेत्रमा संचार, सूचना तथा प्रविधिको अधिकतम उपयोग गर्दै सरकारको कार्यशैलीमा पारदर्शिता कायम गर्ने ।
अब म आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित उद्देश्य परिपूर्ति गर्न बजेटका प्रमुख प्राथमिकताहरु प्रस्तुत गर्दछु ।
१. कृषि, पशुपालन, सहकारी, उद्यमशीलता र पर्यटनमार्फत आर्थिक विकास,
२. स्थानीय श्रमशक्तिको उपयोग, रोजगारी, नवप्रवर्तन साझेदारी, उत्पादन र बजारीकरणमा अनुदान,
३. सामाजिक विकास, स्थानीय कला संस्कृति
४. पालिका स्तरका गौरवका आयोजनाको रुपमा सडक, खानेपानी, भवन तथा अन्य पूर्वाधार निर्माण,
५. वन, वातावरण तथा विपद् व्यवस्थापन,
६. सुशासन तथा संस्थागत क्षमता विकास,
सम्मानित सभाका सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको कुल बजेट तथा क्षेत्रगत विनियोजन व्यय अनुमान प्रस्तुत गर्न चाहन्छु,
–आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदान रू. १६ करोड ३८ लाख ५४ हजार, वित्तीय समानीकरण अनुदान रू. ७ करोड २३ लाख, समपुरक अनुदान रु. १ करोड ५० लाख र राजश्व बाँडफाँडबाट रू. ७ करोड प्राप्त हुने भएको छ ।
–त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रू.७९ लाख ४५ हजार, राजश्व बाँडफाँडबाट रू. ४५ लाख ३७ हजार, समपुरक अनुदान रु. ६० लाख, विशेष अनुदान रु. ४० लाख प्राप्त हुने भएको छ भने यस आर्थिक वर्षमा रू. २ करोड ५० लाख मौज्दात रहने अनुमान रहेको छ ।
–आन्तरिक आयलाई आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गरी कर र राजश्वको दायरा बृद्धि गर्ने योजना अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी रू. ६६ लाख हुने अनुमान गरेको छु ।
–उल्लेखित अनुमानको आधारमा आगामी आर्थिक वर्षमा घाटा बजेटसहित चालुतर्फ रु. २२ करोड ८८ लाख ५४ हजार (५५.१%) र पूँजीगततर्फ रु. १७ करोड ८७ लाख (४५.९%) गरी कुल आय रू. ४० करोड ७५ लाख ५४ हजार हुने अनुमान गरेको छु ।
समग्रमा, आर्थिक वर्ष २०८०÷०८१ माभन्दा आर्थिक वर्ष २०८१÷०८२ को बजेट अनुमानमा चालुतर्फ रु. ८४ लाख र पूँजीगततर्फ रु. ३ करोड २३ लाख ७१ हजार बृद्धि हुनेछ । यसै सन्दर्भमा बजेट कार्यान्वयनमा कार्यकुशलता रहेको खण्डमा आर्थिक वर्ष २०८१÷०८२ मा पूँजीगत खर्च बृद्धि भई गाउँपालिकाको विकासमा थप टेवा पुग्ने विश्वास लिएको छु ।
सम्मानित सभाका सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षमा गाउँपालिकाले कार्यान्वयन गर्ने प्रमुख कार्यक्रम तथा क्षेत्रगत व्यय अनुमान प्रस्तुत गर्न चाहन्छु,
१. आर्थिक विकासतर्फ
–गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक उत्पादन र रोजगारी अभिवृद्धिको लागि स्थानीय उत्पादन (आलु, भाँगो, किवि, बाख्रा, कुखुरा, बंगुर, माछा, वन्यजन्तु पालन, लोक्ता, गाँजा, घरेलु मदिरा ब्राण्डिङ्ग आदि), पर्यटनक्षेत्र तथा जैविक विविधतालगायतका प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै उच्च उपयोग गरिनेछ । जसमा स्थानीय उत्पादन र बजारीकरणमा अनुदान कार्यक्रमको लागि रु. २० लाख बजेट विनियोजन गरेको छु ।
–उत्पादन प्रवद्र्धनको लागि कृषक, कृषि समूहमार्फत् विभिन्न विउ, रैथाने बाली र यान्त्रिकीकरणको लागि विभिन्न कार्यक्रममार्फत रु. ३० लाख बजेट विनियोजन गरेको छु ।
–सबै वडामा पशुसेवा प्राबिधिकको व्यवस्था गरी पशुपंक्षि तथा मत्स्य औषधी निशुल्क वितरणको लागि १० लाख बजेट विनियोजन गरेको छु ।
–पशु विकास कार्यक्रमअन्तर्गत कुखुरा, बंगुर, बाख्रा, पाडापाडि, ह्याचरी प्रविधि, घाँसपात, डोर टु डोर सेवासहित ल्याबोटेरी लगायतका सेवा तथा कार्यक्रममा रु. ५४ लाख बजेटको ब्यवस्था गरेको छु ।
–लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय उत्पादनको साना तथा घरेलु उद्योग स्थापना गरि आर्थिक उपार्जनमा बृद्धि गरिनेछ, जसका लागि रु. २९ लाख बजेटको व्यवस्था मिलाएको छु ।
–गाउँपालिकामा पर्यटन विकासको लागि आवश्यक बजेटको ब्यवस्था मिलाएको छु । समग्रमा, आर्थिक विकासतर्फ सशर्त अनुदानसहित कुल रु. ४ करोड १५ लाख ४७ हजार बजेटको ब्यवस्था मिलाएको छु ।
२. सामाजिक विकास
–शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अतिरिक्त र प्रयोगात्मक सिकाइको लागि रु. १५ लाख बजेटसहित थप कार्यक्रममा रु. ४० लाख ४० हजार बजेट विनियोजन गरेको छु ।
–विद्यालय क्षेत्र सुधार योजनाअन्तर्गत रु. २ करोड १७ लाख बजेट विनियोजन गरेको छु ।
–बाल विकास केन्द्रका सहजकर्ता, विद्यालय करार कर्मचारी र कार्यालय सहयोगी हरुको थप पारिश्रमिकका लागि रु. ३९ लाख ५० हजार बजेट बिनियोजन गरेको छु । –गाउँपालिकामा निशुल्क स्वास्थ्य सेवा, नेपाल सरकारले तोके अनुसारका औषधी वितरण र एम्बुलेन्स सेवालाई प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रकम विनियोजन गरेको छु । जोखिमपूर्ण रोगको उपचार र पहिचानमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गरेको छु ।
–महिला स्वास्थ्य स्वंयम्सेविकाहरुलाई मोबाइल रिचार्ज खर्च, जीवन विमा तथा मासिक बैठक भत्तालगायत अन्य सुविधाहरुको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
–स्वास्थ्य सुधारको लागि विभिन्न कार्यक्रममा रु. ३४ लाख ४० हजार बजेट विनियोजन गरेको छु ।
–स्थानीय श्रमशक्तिलाई विकासको हरेक क्षेत्रमा परिचालनको लागि रु. ५० लाख बजेट विनियोजन गरेको छु ।
–गाउँपालिका स्तरीय खेलकुद विकासको लागि ताराखोला बहुउद्देश्यीय कभर्ड हल निर्माणको लागि रु. १ करोड बजेट विनियोजन गरेको छु ।
–गाउँपालिकाभित्र रहेका युवाहरुलाई रोजगारमा आबद्ध गराउन अध्यक्ष रोजगार कार्यक्रममार्फत ५० लाख बजेट विनियोजन गरेको छु ।
–उत्पादन र व्यवसायका नयाँ क्षेत्रको विकासका लागि अध्यक्ष नवप्रर्वतन साझेदारी कार्यक्रमअन्तर्गत रु. ४० लाख बजेट विनियोजन गरेको छु ।
–महिला सशक्तिकरण कार्यक्रम, जेष्ठ नागरिक सम्मान, दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरु तथा बालमैत्री स्थानीय शासन प्रर्वद्धनको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
–लैङ्गिक समानता सामाजिक समावेशीकरणअन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि रु. २२ लाख बजेट विनियोजन गरेको छु ।
–स्थानीय संचारमाध्यम र टि.भि. च्यानल व्यवस्थापनको लागि रु. ९ लाख बजेट विनियोजन गरेको छु ।
समग्रमा, सामाजिक विकासतर्फ सशर्त अनुदान सहित रु. १५ करोड ८७ लाख ५४ हजारको व्यवस्था गरेको छु ।
३. पूर्वाधार विकास
–दलामचौर मोटरेबल पुल निर्माणको लागि रु. १ करोड ५० लाख, प्रशासनिक भवन वडा निर्माणको लागि प्रदेश सरकारको साझेदारी रहने गरी समेत रु.१ करोड बजेट विनियोजन गरेको छु ।
–मुख्य सडक शहिद मार्ग लगायत गाउँपालिकाको अन्य गौरबका आयोजना, प्रतिफल प्राप्त हुने आयोजनाहरुमा रु. ३ करोड ७० लाख बजेट विनियोजन गरेको छु ।
समग्रमा पूर्वाधार विकासतर्फ कुल रु. ११ करोड ७८ लाख ७० हजार बजेटको व्यवस्था गरेको छु ।
४. वन, वातावरण तथा विपद् व्यवस्थापन
–बाह्रै महिना सडक संचालन तथा मर्मतको लागि रु. ५० लाख बजेट विनियोजन गरेको छु ।
–विपद ब्यवस्थापन कोषको लागि रु. २५ लाख गरी वातावरण तथा विपद् व्यवस्थापनतर्फ कुल बजेट रु. ७५ लाख बजेटको ब्यवस्था गरेको छु ।
५. सुशासन तथा संस्थागत क्षमता विकास
–टोल विकास संस्थाहरुलाइ परिचालनको लागि रु. ३ लाख बजेट व्यवस्था गरेको छु ।
–संघ, प्रदेश र अन्तर स्थानीय तहका योजना साझेदारी कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
–स्थानीय श्रमको सम्मान तथा व्यवस्थापनको लागि रु. १५ लाख बजेट र उत्कृष्ट कार्य सम्मान कार्यक्रम लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
–पर्यटन विकासको लागि गाउँपालिकामा होमस्टे सुधार तथा पाहुना घर व्यवस्थापन गर्न रु. २० लाख बजेट विनियोजन गरेको छु ।
–जनप्रतिनिधि र कर्मचारी अध्ययन तालिम तथा गाउँपालिका कार्यालयहरुमा फर्निचर व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
समग्रमा, सुशासन तथा संस्थागत क्षमता विकासको लागि रु. १ करोड ९७ लाख ८३ हजार बजेट विनियोजन गरेको छु । गाउँपालिकाको प्रशासनिक खर्चको लागि रु. ६ करोड ५० लाख रकम विनियोजन गरी आ.व. २०८०÷०८१ कोभन्दा चालु खर्च रु. ४८ लाख बजेट बढि विनियोजन गरेको छु ।
सम्मानित सभाका सभाध्यक्ष ज्यू,
आगामी आर्थिक वर्षमा उल्लेखित वजेटको कार्यान्वयनबाट आर्थिक, सामाजिक, पूर्वाधार, सांस्कृतिक, सुशासन लगायतका क्षेत्रहरुमा उल्लेखनीय रुपमा प्रगति हुने अपेक्षा गरेको छु । विनियोजन विधेयक, आर्थिक विधेयकहरुको मस्यौदा छलफलको लागि सम्मानित सदनमा यसै साथ संलग्न गरेको छु ।
धन्यवाद !





