बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट नगरपालिकाको पन्ध्रौ अधिवेशनमा नगर उप–प्रमुख फमलाल निउरेद्वारा प्रस्तुत बजेट कार्यक्रम

गलकोट नगरपालिकाको पन्ध्रौ अधिवेशनमा नगर उप–प्रमुख फमलाल निउरेद्वारा प्रस्तुत बजेट कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

नगरसभाका श्रद्धेय अध्यक्षज्यू,
नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरु,

१. गलकोट नगरपालिकाको नगर उपप्रमुखको हैसियतले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको अनुमान प्रस्तुत गर्न यस सम्मानित नगरसभाको पन्ध्रौं अधिवेशनमा उपस्थित भएको छु ।
२. नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका सबै आन्दोलन तथा संघर्षमा अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा घाइते, बेपत्ता, अपाङ्गता एवं पीडित भएका नागरिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
३. गलकोटका नागरिकको बृहत्तर हितलाई ध्यानमा राखी नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दिगो विकास लक्ष्य, नेपाल सरकारको सोह्रौं पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, गलकोट नगरपालिकाको दोस्रो पञ्चवर्षिय योजना र आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई आधार मानी बजेट तर्जुमा गरेको छु ।
४. गलकोट नगरपालिकाको आवश्यकता, यहाँका नागरिकको विकास प्रतिको चाहना, स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले गरेको प्रतिवद्धता, विभिन्न क्षेत्रबाट प्राप्त रचनात्मक सुझाव, संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजश्व परिचालनको सीमित दायरा जस्ता विषयलाई दृष्टिगत गरी स्रोत साधनको मितव्ययी र न्यायोचित परिचालनमा जोड दिएको छु ।
५. गलकोटका नागरिको सुख र समृद्धिको चाहना, कृषि क्षेत्रको प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धी र सो को दिगोपना, रोजगारी सिर्जना, समावेशीयता, सामाजिक परिचालन र ऐक्यवद्धता, पारदर्शिता, सुशासन र गुणस्तरीय सेवा प्रवाह जस्ता विषयहरुलाई जोड दिएर बजेट तर्जुमा गरेको छु ।

सम्मानित नगरसभाका अध्यक्ष महोदय,
अब म गत आर्थिक वर्ष २०७९/८० को यथार्थ आय–व्यय एवं चालु आर्थिक वर्ष २०८०÷८१ को संशोधित आय–व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।

गत आर्थिक वर्ष २०७९/८० मा यथार्थ आय
६. गत बर्षको संचित कोष मौज्दातसहित आन्तरिक आयतर्फ रु. ५ करोड ५५ लाख ५१ हजार २ सय ९५ रुपैयाँ र पैसा ४३, संघीय सरकार राजश्व बाँडफाँडबाट प्राप्त रु. ८ करोड ६३ लाख ६४ हजार १९ रुपैयाँ र पैसा ६०, प्रदेश सरकार राजश्व बाँडफाँटबाट प्राप्त रु. १ करोड ३३ हजार ८ सय ४२ आम्दानी प्राप्त भएको छ ।
७. संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १२ करोड १० लाख ८२ हजार ५ सय, शशर्त अनुदान रु. ३८ करोड ७० लाख ९५ हजार ३ सय ५२ रुपैयाँ र पैसा १८ र विशेष अनुदान रु. ३९ लाख ६४ हजार ४ सय ४३ गरी जम्मा रु. ५१ करोड २१ लाख ४२ हजार २ सय ९५ रुपैयाँ र पैसा १८ प्राप्त भएको छ ।
८. प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १ करोड ३१ लाख ८५ हजार ३ सय ७५, शशर्त अनुदान रु. ४६ लाख ४० हजार ४ सय १९ र समपुरक अनुदान रु. ४६ लाख ४४ हजार १ सय ९४ गरी जम्मा रु. २ करोड २४ लाख ६९ हजार ९ सय ८८ प्राप्त भएको छ । यसरी समग्रमा रु. ६८ करोड ६५ लाख ६१ हजार ४ सय ४० रुपैयाँ र पैसा २१ यथार्थ आय प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७९÷८० को यथार्थ व्यय
९. क्षेत्रगत विनियोजनका आधारमा चालु खर्च रु. ४७ करोड ८४ लाख १ हजार ३ रुपैयाँ र पैसा ९५ तथा पूँजीगत खर्च रु. १८ करोड ७५ लाख २६ हजार २ सय १४ रुपैयाँ र पैसा ७४ गरी कुल जम्मा रु. ६६ करोड ५९ लाख २७ हजार २ सय १८ रुपैयाँ र पैसा ६९ खर्च भई रु. २ करोड ६ लाख ३४ हजार २ सय २१ रुपैयाँ र पैसा ५२ चालु आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरेको छ ।

श्रद्धेय अध्यक्ष महोदय,
अब म चालु आर्थिक वर्ष २०८०÷८१ को संशोधित आय व्यय विवरण संक्षेपमा प्रस्तुत गर्दछु ।
१०. गत वर्षको मौज्दात समेत गरी आन्तरिक आयतर्फ रु. ४ करोड, संघीय सरकारबाट राजश्व बाँडफाँट रु. ८ करोड ९५ लाख, समानीकरण अनुदान रु. ९ करोड ९० लाख ६ हजार, सशर्त अनुदान रु. ३६ करोड ३८ लाख ४९ हजार, समपुरक अनुदान रु. ६० लाख र विशेष अनुदान रु. १ करोड ५० लाख गरी जम्मा रु. ५७ करोड ३३ लाख ५५ हजार आय प्राप्त हुने संशोधित अनुमान छ ।
११. गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँट रु. १ करोड ८ लाख, समानीकरण अनुदान रु. १ करोड ३१ लाख ५२ हजार ६ सय ६० र सशर्त अनुदान रु. ५० लाख गरी जम्मा रु. २ करोड ८९ लाख ५२ हजार ६ सय ६० आय प्राप्त हुने संशोधित अनुमान छ ।
१२. चालु आर्थिक वर्ष २०८०÷८१ संशोधित आयको ९६.६३ प्रतिशत रकम एवं जम्मा रु. ६२ करोड ६ लाख ४६ हजार ६० खर्च भई सञ्चित कोष मौज्दात जम्मा रु. २ करोड १६ लाख ६१ हजार ६ सय रहने संशोधित अनुमान छ ।

श्रद्धेय अध्यक्ष महोदय,
अब म आर्थिक बर्ष २०८१÷८२ को बजेटका उद्देश्य र प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

बजेटका उद्देश्यहरु देहायबमोजिम रहेका छन् ।
–कृषि पेशामा युवाहरुको आकर्षण बढाई उत्पादन र उत्पादकत्व वृद्धि गर्नु,
–लक्षित समुदायका नागरिकको रोजगारी र आयमा बृद्धि गर्दै आर्थिक असमानता कम गर्नु,
–आम सर्बसाधारण नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँच स्थापित गर्नु,
–दिगो र भरपर्दो भौतिक पूर्वाधार निर्माण गर्नु,
–सहभागितामूलक विकास र प्राप्त लाभको समन्यायिक वितरणमा जोड दिनु,
–सुशासन प्रवर्द्धनमार्फत सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन ।

बजेटका प्राथमिकता देहाय बमोजिम तय गरेको छु ।
–सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा,
–दिगो र उत्थानशील पूर्वाधार निर्माण,
–स्थानीय उत्पादन प्रवर्द्धन र कृषिको व्यवसायीकरण,
–सीप विकास र रोजगारी सिर्जना,
–सामाजिक सूरक्षा र समतामूलक समाजको स्थापना,
–समावेशी, समानुपातिक र सन्तुलित विकास,
–गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन ।

फमलाल निउरे

श्रद्धेय अध्यक्ष महोदय,
चालु आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको राजश्व परिचालनको लक्ष्यमा गिरावट आउँदा संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणको रकम घटेर प्राप्त भएको छ । नगरपालिकाको राजश्वको दायरा फराकिलो बनाउन नसक्दा माथिल्लो तहका सरकारबाट प्राप्त हुने अनुदानमा भर पर्नुपर्ने अवस्था विद्यमान छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई प्रदान गरेको जिम्मेवारी र उपलब्ध सीमित स्रोतको बीचमा तालमेल मिलाई नगरबासी नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नगरपालिका सामु अहम् चुनौति थपिएको छ । यद्दपी, सीमित स्रोतको अधिकतम् परिचालन गर्न नगरपालिका प्रतिबद्ध छ । अब म आगामी आर्थिक वर्ष २०८१/८२ को लागि क्षेत्रगत बजेट तथा कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु ।

आर्थिक विकास
(क) कृषि तथा बागवानी
१३. कृषि क्षेत्रको व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन युवाहरुलाई कृषि पेशामा आकर्षित गरिने छ । कृषि पेशामा लागेर सफल भएका गलकोटका किसानसँगको सीप, अनुभव र उत्साह स्टार्ट–अप (क्तबचत ग्उ) कृषि उद्यमीहरुमा सञ्चार गर्न किसानसँग युवा कार्यक्रम सञ्चालन गरिने छ । गलकोटका किसानलाई अन्य ठाउँका किसानले प्रयोग गरेको कृषि प्रविधिसँग साक्षात्कार गराउन व्यवसायिक किसानलाई सिकाई भ्रमण गर्ने व्यवस्था मिलाएको छु ।
१४. क्षेत्रगत विशिष्टीकरणको माध्यमबाट मात्रै कृषिमा क्रान्ति ल्याउन सकिने विश्वासका साथ कृषिको उत्पादन र उत्पादकत्व बढाई व्यावसायीकरण गर्न फलफूलको नयाँ पाकेट स्थापना गर्ने कार्य अगाडि बढाइने छ । अदुवा, बेसार, कागती र सुन्तला जस्ता बालीको पाकेट विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि रु. ९ लाख बजेट विनियोजन गरेको छु ।
१५. व्यवसायिक कृषि पेशामा आवद्ध हुन चाहने एवं भैरहेको कृषि फर्मलाई विस्तार गर्न इच्छुक युवाहरुको लागि प्रोत्साहन स्वरुप साझेदारीमा पूँजीगत अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु । यसका लागि रु. ७ लाख बजेट विनियोजन गरेको छु ।
१६. मौरी पालनको सम्भाव्यता भएका क्षेत्रमा मौरी विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक रकमको व्यवस्था मिलाएको छु ।
१७. नवप्रवर्तन साझेदारी कोष कार्यक्रमबाट नगरपालिकाको वडा नं. १, ४ र १० मा सञ्चालित व्यवसायिक ओखरखेती परियोजना कार्यक्रमको प्रवर्द्धन र बिरुवा उपचारको लागि रु. ७ लाख बजेट विनियोजन गरेको छु ।
१८. पानीको स्रोतको पहूँच भएका खेतीयोग्य जमिनमा बाह्रै महिना सिंचाईं सुविधा उपलब्ध गराई उत्पादन बढाउन साना सिंचाईं मर्मत तथा संभार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु । यसका लागि रु. ६ लाख बजेट विनियोजन गरेको छु ।
१९. तरकारी बालीमा किसानहरुलाई गौमुखी कृषि सहकारी संस्था लिमिटेड सँगको सहकार्यमा दिईदै आएको उत्पादनमा आधारित अनुदानको कार्यक्रमलाई निरन्तरता दिएको छु । २५ वटा तरकारी वालीको न्यूनतम समर्थन मूल्य लागू गर्न आवश्यक रकमको व्यवस्था मिलाएको छु ।
२०. कृषि तथा बागबानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सशर्त अनुदानबाट रु. २३ लाख १ हजार र नगरपालिकाबाट विनियोजित रु. ६५ लाख गरी जम्मा रु. ८८ लाख १ हजार बजेट विनियोजन गरेको छु ।

(ख) पशुपंक्षी विकास
२१. पशुजन्य रोग एवं महामारी नियन्त्रणको लागि खोप अभियान सञ्चालन गर्न तथा आवश्यक औषधी र खोप खरिद गर्न रु. १३ लाख बजेट विनियोजन गरेको छु । कृत्रिम गर्भाधानबाट पशुमा नश्ल सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छु ।
२२. दुध र दुग्धजन्य पदार्थमा गलकोट नगरपालिकालाई आत्मनिर्भर बनाउने दिशामा चिस्यान केन्द्रहरुको सुदृढीकरण र नयाँ चिस्यान केन्द्रको व्यवस्थापनको लागि आवश्यक रकम विनियोजन गरेको छु । नयाँ गाईभैंसी पकेट विकास कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनाको सहयोगमा रु.२५ लाख बजेट विनियोजन गरेको छु । दुधमा दिइदैं आएको उत्पादनमा आधारित अनुदान कार्यक्रमको निरन्तरताको लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
२३. दरमखोलाको असला माछाको संरक्षण गरी यसबाट यहाँका स्थानीय नागरिक र नगरपालिकाले लाभ प्राप्त गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।
२४. हलगोरु पाल्ने किसानहरुलाई प्रोत्साहन गरी जैविक कृषिको प्रवर्द्धन गर्न रु. ६ लाख बजेट विनियोजन गरेको छु ।
२५. छाडा कुकुरहरुको नियन्त्रण गरी शहरी सौन्दर्य र सूरक्षा अभिवृद्धि गर्न पाल्तु कुकुरहरुको सूचीकरण तथा छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने व्यवस्था मिलाइने छ । बधशालालाई व्यवस्थित गरी मासु पसलहरु मापदण्ड बमोजिम सञ्चालन गर्न आवश्यक रकम व्यवस्था गरेको छु ।
२६. डालेघाँस नर्सरीको स्थापना गरी पशु पालन गर्ने किसानलाई डालेघाँस लगाउन प्रोत्साहन गरिने छ । पशुपंक्षीको व्यवसायिक फर्म विकास र विस्तारमा पूँजीगत अनुदान उपलब्ध गराउनको लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
२७. पशुमा देखिने विभिन्न रोगहरुको परीक्षण तथा सामान्य शल्यक्रिया गर्न नगरपालिकाको पशु सेवा शाखामा ल्याब सहितको डिस्पेन्सरी स्थापना गर्ने कार्यलाई अगाडि वढाउनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२८. पशुपंक्षी विकास क्षेत्रको लागि संघीय सशर्त अनुदानबाट रु. २७ लाख २२ हजार र नगरपालिकाबाट रु. ५३ लाख गरी जम्मा रु. ८० लाख २२ हजार बजेट विनियोजन गरेको छु ।

(ग) सहकारी
२९. नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारीलाई नियमनको दायरामा ल्याइने छ । स्थापित सिद्धान्त र कानून बमोजिम सञ्चालन भएका र आर्थिक वृद्धिमा उल्लेख्य योगदान पुर्याएका सहकारीलाई उचित प्रोत्साहन गरिने छ । सहकारी संस्थाको लागत साझेदारीमा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीलाई क्षमता विकास तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । सबै सहकारीलाई आफ्नो विवरण कोपोमिस प्रणालीमा दर्ता गर्न अनिवार्य गरिने छ । सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धनको लागि रु. ५ लाख ५० हजार विनियोजन गरेको छु ।

(घ) उद्यमशीलता विकास तथा रोजगारी प्रवर्द्धन
३०. सूरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना) लाई निरन्तरता दिंदै बैदेशिक रोजगारीमा गएका परिवारका सदस्य एवं रोजगारीबाट फर्केका युवाहरुलाई वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श सेवा उपलब्ध गराइने छ । यसका लागि संघीय सशर्त अनुदानबाट रु. ९ लाख ६१ हजार र नगरपालिकाबाट रु. ७ लाख गरी जम्मा रु. १६ लाख ६१ हजार विनियोजन गरेको छु ।
३१. उद्यम गर्न चाहने व्यक्तिको रुचीको आधारमा नयाँ लघु उद्यमी सिर्जना तथा पुराना लघु उद्यमीहरुको सीपलाई स्तरोन्नति गरिने छ । लघु उद्यमीद्वारा सञ्चालित उत्पादनको लेवलिङ र बजारीकरणमा सहयोग गरिने छ । लघु उद्यमीको २० प्रतिशत लागत साझेदारीमा उपयुक्त प्रविधि हस्तान्तरण गरिने छ ।
३२. संघ सरकारको सहयोगमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम र बैदेशिक रोजगारीमा जाने युवाहरुको लागि कार्यस्थलमा आधारित सीप लगायतका जीवन उपयोगी सीप विकास तालीम सञ्चालन गरिने छ । यसका लागि संघीय सशर्त अनुदानबाट रु.९ लाख बजेट विनियोजन गरेको छु ।
३३. लघु उद्यम तथा उद्यमशीलता विकासतर्फ संघीय सशर्त अनुदानबाट रु. १३ लाख तथा नगरपालिकाबाट रु. १२ लाख गरी जम्मा रु. २५ लाख विनियोजन गरेको छु ।
३४. संघीय सशर्त अनुदानअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु. ३० लाख, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाबाट रु. ५४ लाख ४० हजार गरी जम्मा रु. ८४ लाख ४० हजार विनियोजन गरेको छ । यसबाट कम्तिमा ७० जना बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्राप्त हुने विश्वास लिएको छु ।
३५. समग्र उद्यमशीलता विकास तथा रोजगारी प्रवर्द्धनको क्षेत्रमा संघीय सशर्त अनुदान रु. १ करोड ७ लाख १ हजार र नगरपालिकाबाट रु. १९ लाख गरी जम्मा रु. १ करोड २६ लाख १ हजार विनियोजन गरेको छु ।

(ङ) पर्यटन
३६. गलकोट नगरको पर्यटन प्रवर्द्धन गर्न मध्यपहाडी लोकमार्गका प्रवेश विन्दु र नगरका मुख्य स्थानहरुमा पर्यटकीय स्थलहरुको जानकारी सहितको सूचनामूलक होडिङ्गबोर्ड राख्ने व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३७. संघ, प्रदेश, स्थानीय सरकार र समूदायले विभिन्न समयमा ठूलो लगानी गरी विकास गरेको टेउवा अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालयमा कम्तिमा सार्वजनिक विदाको दिनमा पर्यटकबाट निश्चित शुल्क लिने कार्यको शुरुवात गरिने छ ।
३८. नगरपालिकास्थित विभिन्न वडामा आयोजना हुने मह शिकार महोत्सबको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोग गरिने छ ।
३९. कोतघर, राम्चेढुङ्गा, चमेरेगुफा लगायतका पर्यटकीय स्थानमा पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छु ।
४०. पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालनको लागि रु. १६ लाख विनियोजन गरेको छु ।

सामाजिक विकास
(क) खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापन
४१. नगर क्षेत्रका खानेपानीको समय समयमा गुणस्तर परीक्षण गरिने छ । खानेपानी योजनाहरुको मर्मत संभार गरी सञ्चालन गरिने छ । खानेपानीका मुहानको संरक्षण र सरसफाइमा स्थानीय उपभोक्ता समूहलाई जिम्मेवार बनाइने छ ।
४२. आवश्यकताको आधारमा विद्यालयहरुमा खानेपानी शुद्धीकरण गर्ने प्रविधि जडान गरी बालबालिकाहरुलाई स्वच्छ खानेपानीको पहूँच पुर्याउन रु. ८ लाख बजेट विनियोजन गरेको छु ।
४३. नगरका सार्वजनिक स्थल र पानीका स्रोतमा फोहोर फाल्न नदिन समूदायको सक्रियता बढाउँदै विद्यमान कानूनको कडाइका साथ कार्यान्वयन गरिने छ ।
४४. नगरपालिकाको फोहोर व्यवस्थापन गरी स्वच्छ नगर निर्माण गर्न रु. २५ लाख विनियोजन गरेको छु ।
४५. आगामी वर्षदेखि फोहोर मैला बापतको शुल्क स्थानीय टोल विकास संस्थामार्फत उठाउने र उठेको रकमको १० प्रतिशत रकम प्रोत्साहन स्वरुप सम्बन्धित टोल विकास संस्थालाई उपलब्ध गराउन आवश्यक तयारी गरिने छ ।
४६. खानेपानी सरसफाई तथा फोहोर व्यवस्थापन तर्फ जम्मा रु. ३९ लाख विनियोजन गरेको छु ।

(ख) युवा तथा खेलकुद
४७. नगरस्तरीय खेलकुद मैदान निर्माण गर्न स्थान पहिचान गरी आवश्यक पूर्वाधार निर्माण कार्य शुरुवात गरिने छ । युवाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउन खेलकुद विकास कार्यक्रम सञ्चालन गरिने छ । वडा नं. ३ हटियास्थित कवर्ड हलको मर्मत संभार गर्ने व्यवस्था गरिने छ ।
४८. युवा लक्षित कार्यक्रम, खेल मैदान निर्माण लगायत युवा तथा खेलकुद क्षेत्रको लागि रु. १६ लाख बजेट विनियोजन गरेको छ ।

(ग) लैंङ्गिक समानता र सामाजिक समावेशीकरण
४९. महिला हिंसा, लैंगिक विभेद, कुरीति, कु–संस्कार न्यूनीकरणका लागि एघार वटै वडामा सञ्चालन हुने गरी उप–प्रमुख महिला विकास कार्यक्रम र नगरबाट सञ्चालन गर्ने गरी महिला लक्षित कार्यक्रमका लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।
५०. अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र वितरण, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामग्रीको उपलब्धता जस्ता कार्यक्रमलाई स्थान दिएको छु । ग वर्गका अपाङ्गता भएका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छु । अपाङ्गता भएका व्यक्तिको लागि स्मार्ट परिचय पत्र वितरण गर्ने कार्यको थालनी गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
५१. जेष्ठ नागरिक सम्बन्धी विशेष कार्यक्रमको अतिरिक्त स्वास्थ्यसँग जोडेर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
५२. बालमैत्री शासनयुक्त नगरको दिगोपनाको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न रु. २५ लाख विनियोजन गरेको छ । नगरस्तरीय बाल उद्यान स्तरोनन्तिको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५३. जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि लक्षित कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको छु ।
५४. लोपोन्मुख कुमाल तथा गन्धर्व जातिको उत्थान कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५५. मुस्लिम समुदायको अन्तिम संस्कार गर्ने कब्रस्थानका लागि स्थानीय समुदायसँगको सहयोगमा जग्गा पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिएको छु ।
५६. जनजातिहरुको स्थानीय कला संस्कृति संरक्षण, स्थानीय न्यायिक कार्यसम्बन्धी विद्यार्थीलाई सचेतना कार्यक्रम, बालबालिकासँग उपप्रमुख कार्यक्रम, महिला, बालबालिका र अपाङ्ग लक्षित रेडियो कार्यक्रम, सहिद र बेपत्ता परिवारसँग नगर उपप्रमुख कार्यक्रम जस्ता कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५७. आनौपचारिक क्षेत्रका काम गर्ने विपन्न श्रमिक र स्वारोजगार व्यक्तिलाई सामाजिक सूरक्षा कोषसँगको सहकार्यमा नगरपालिकाको समेत हिस्सेदारी रहने गरी योगदानमा आधारित सामाजिक सूरक्षा योजनाको सुरुवात गर्न रु. १० लाख विनियोजन गरेको छु ।
५८. लैङ्गिक समानता र सामाजिक समावेशीकरणको लागि रु. १ करोड २ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

(घ) शिक्षा
५९. नगरपालकाको उच्च शिक्षाको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पसको जग्गा खरिदको लागि नगरपालिकाले रु. १ करोड दिने प्रतिवद्धता गरेकोमा आगामी आर्थिक वर्ष २०८१÷८२ मा रु. ४० लाख बजेट विनियोजन गरेको छु ।
६०. विद्यालय भवन निर्माण कार्य अपुरो रहेका सरस्वती मा.वि., जनहित मा.वि., नवविहानी आ.वि., रमुवा आ.वि., छिचिम्रा पोखरी आ.वि. र मनेवा आ. वि.को भवन निर्माणको कार्य स्थानीय समुदायको ३० प्रतिशत लागत साझेदारीमा सम्पन्न गर्ने गरी रु. २५ लाख विनियोजन गरेको छु ।
६१. विद्यालयस्तरबाटै खेल क्षेत्रको विकास गर्न एवं शैक्षिक क्रियाकलापमा सुधार ल्याउन नगरप्रमुख र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा बृहत शैक्षिक प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६२. नगरप्रमुख शैक्षिक छात्रवृत्ति कोषलाई निरन्तरता दिएको छु । समाजमा शैक्षिक चेतना वृद्धि गर्ने कार्यको लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६३. बाल विकास कक्षाको उचित व्यवस्थापन गरी बाल विकास सहजकर्तालाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम प्रस्ताव गरेको छु ।
६४. आधारभूत तहको कक्षा ८ तथा एसईई परीक्षा लक्षित अंग्रेजी, गणित र विज्ञान विषयको नतिजा सुधारको लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ । शिक्षकहरुको लागि आधारभूत तहको सूचना प्रविधि तालिम प्रदान गरिने छ ।
६५. एफ.एम. रेडियोबाट मासिक रुपमा विषयगत हाजिरी जवाफ प्रतियोगिता तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
६६. विभिन्न विद्यालयहरुको भौतिक पूर्वाधार सुधारको लागि आवश्यक रकम विनियोजन गरेको छु । प्रसुति विदामा रहेका शिक्षकको सट्टामा विदा अवधिभर बैकल्पिक शिक्षक राखी पठनपाठन गराउने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
६७. कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई दिइदैं आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यालय समायोजन तथा मर्ज भएको कारणले टाढाको विद्यालयमा जानुपर्ने बाध्यता भएका विद्यार्थीको छात्रावास तथा यातायात खर्च व्यवस्थापनको लागि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
६८. विद्यालयहरुमा रिक्त हुने शिक्षकको पदमा विज्ञापन गरी करारमा पदपूर्ति गर्न लाग्ने खर्च नगरपालिकाबाटै व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाएको छु ।
६९. समग्र शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनको लागि सशर्त अनुदानसहित रु. ३२ करोड ३९ लाख २८ हजार बजेट विनियोजन गरेको छु ।

(ङ) स्वास्थ्य
७०. गलकोट नगर अस्पतालको थप सुदृढीकरण गरी सेवा विस्तारमा जोड दिएको छु । ऋभ्इल्ऋ सेवा, नगर उपप्रमुखसँग थ्रोम्बोलाईसिस सेवा, विशिष्टिकृत प्रयोगशालाको सेवा लगायत आवश्यक सेवाको व्यवस्थापनको लागि रु. २५ लाख बजेट विनियोजन गरेको छु ।
७१. नगर अस्पतालको पूर्वाधार विस्तार गर्न स्थानीय नागरिक समेतको सहयोगमा नगर अस्पतालसँगै जोडिएको जग्गा खरिद गर्ने कार्यलाई प्राथमिकता दिएको छु । जग्गा खरिदको लागि नगरपालिकाबाट रु. १५ लाख बजेट विनियोजन गरेको छु ।
७२. सबै स्वास्थ्य संस्थाहरुमा कागजविहिन (एबउभचभिकक) अभिलेख र प्रतिवेदन प्रणाली लागू गर्न, घर घरमा जेष्ठ नागरिक कार्यक्रम, नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम, क्षयरोग मुक्त अभियान गलकोट कार्यक्रम, विभिन्न स्वास्थ्य शिविर सञ्चालन जस्ता कार्यक्रमलाई निरन्तरता दिन, स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्डको सुदृढीकरण गर्न तथा स्वास्थ्य सम्बन्धी विभिन्न दिवस र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
७३. विपन्न नागरिकलाई गलकोट नगर अस्पतालमा उपचार सुविधा उपलब्ध गराउन विपन्न नागरिक उपचार कोषको स्थापनाको लागि आवश्यक व्यवस्था गरेको छु ।
७४. टाढाबाट सुत्केरी गराउन स्वास्थ्य संस्थामा आउने गर्भवती महिलाहरुको लागि बस्ने प्रयोजनको लागि आवश्यक व्यवस्था सहितको प्रसुति प्रतिक्षा घरको व्यवस्थापन गर्न बजेट विनियोजन गरेको छु ।
७५. नगरका विभिन्न वडाहरुमा ४० वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकहरुमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन गर्न आवश्यक रकमको प्रबन्ध गरेको छु ।
७६. मल्म स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्न रु. ५० लाख बजेट विनियोजन गरेको छु ।
७७. स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न सशर्त अनुदान र विशेष अनुदानसहित एकमुष्ठ रु. ९ करोड २५ लाख ६९ हजार ६ सय विनियोजन गरेको छु ।

(च) कला, संस्कृति र साहित्य
७८. स्थानीय स्तरका कला, संस्कृति, साहित्य, पर्व, मेला, जात्रा, नाच आदिको संरक्षण र प्रवर्द्धन गरी पर्यटनसँग जोड्न आवश्यक व्यवस्था गरेको छु ।
७९. वडा नं. ५ हरिचौरस्थित सिमलबोट क्षेत्रको कला र संस्कृति संरक्षण गर्न तथा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
८०. समग्र कला, संस्कृति र साहित्य तर्फका कार्यक्रमको लागि रु. ९ लाख बजेट विनियोजन गरेको छु ।

पूर्वाधार विकास
८१. नगरपालिकास्थित वडा नं. ३ मा स्थानीय नागरिकको रु. १७ लाख र नगरपालिकाको रु. ४० लाखको साझेदारीमा कार्यान्वयन गर्ने गरी नगर गौरबको योजनाको रुपमा बेसीफाँट–लमईफाँट सडक निर्माण गर्नको लागि जम्मा रु. ५७ लाख विनियोजन गरेको छु ।
८२. नगर गौरवका अन्य योजनाको रुपमा वडा नं. ५ मा हरिचौर लिफ्टिङ खानेपानी योजना, वडा नं. ७ मा वडा कार्यालय भवन निर्माण, वडा नं. ८ मा गल्याङ– चालिसे टोल–झाँक्रीथान–थालेपोखरा सडक स्तरोन्नति, वडा नं १० मा सिद्धथानदेखि सुनपानी सम्मको सडक स्तरोन्नति र वडा नं. ११ मा रहगैरा–मनेवा–फलाटे–खिरदी–खिम्लेहुँदै वडा कार्यालय जाने सडक स्तरोन्नति गरी कुल पाँच वटा योजनालाई यस वर्ष कार्यान्वयन गर्न प्रत्येक योजनाको लागि रु. ४०÷४० लाख गरी जम्मा रु. २ करोड र वडा नं. ३ स्थित लागत साझेदारीको योजनासहित जम्मा रु. २ करोड ५७ लाख बजेट विनियोजन गरेको छु । यस वर्ष नगर गौरवको योजना कार्यान्वयनमा विनियोजन हुन नसकेका वडाहरुमा अगामी वर्ष बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु ।
८३. वडा नं. १, २, ४, ६ र ९ मा रु. १०÷१० लाख लागतका एक–एक वटा नगरस्तरीय योजना कार्यान्वयनको लागि रु. ५० लाख बजेट विनियोजन गरेको छु ।
८४. नगरपालिकाको निर्माणाधिन प्रशासकीय भवन निर्माण कार्यको लागि रु. २ करोड ५० लाख विनियोजन गरेको छु । प्रशासकीय भवनको सतहमा निस्किएको पानीको उचित व्यवस्थापन गर्न एवं भवन निर्माणको क्रममा भत्किएका जग्गाहरुको उकास गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
८५. वडा भित्रका सडकहरुको सरसफाई तथा मर्मत गरी नियमित सञ्चालन गर्न एकमुष्ठ रु. २० लाख विनियोजन गरेको छु ।
८६. संघ र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक योजना कार्यान्वयनको लागि समपुरक कोषमा रु. ६० लाख विनियोजन गरेको छु ।
८७. बजेट तर्जुमाको समयमा पूर्वानुमान गर्न नसकिने तर वर्षभरी आत्यावश्यक देखिने योजना कार्यान्वयन र मर्मत संभार गर्न कार्यविधि बमोजिम नगर प्रमुखको निर्देशनबाट खर्च गर्ने गरी व्यवस्था गरिएको विशेष विकास कार्यक्रममा रु. १ करोड विनियोजन गरेको छु ।
८८. आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माण कार्यको गुणस्तर जाँच गर्ने व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
८९. भौतिक पूर्वाधारतर्फका योजना कार्यान्वयन गर्न समपुरकसहित जम्मा रु. ८ करोड ९२ लाख विनियोजन गरेको छु ।

सुशासन तथा अन्तरसम्बन्धित विषय
९०. उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनको कार्यलाई व्यवस्थित बनाउन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
९१. सरकारी काम कारवाहीमा पारदर्शिता कायम गरी सूचनाको हकको प्रवर्द्धन गरिने छ । यसका लागि सार्वजनिक सुनुवाई तथा जनप्रतिनिधि र कर्मचारीलाई अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक वजेट विनियोजन गरेको छु ।
९२. स्थानीय सरकारले गर्ने सेवा प्रवाहमा नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गरिने छ । भौतिक सेवा प्रवाहलाई क्रमशः अनलाईन माध्यममा रुपान्तरण गर्दै लगिने छ । कर्मचारीमा क्षमता विकास तालिमको माध्यमबाट दक्षता अभिवृद्धि गरिने छ ।
९३. कर्मचारी र जनप्रतिनिधिमा सदाचार संस्कृतिको विकास गरिने छ । यसका लागि सरकारी चालु खर्चमा मितव्ययिता कायम गर्ने उपायहरुको अबलम्बन गरिने छ । नागरिकको गुनासो सम्बोधन गर्न गुनासो व्यवस्थापन कार्यलाई व्यवस्थित बनाइने छ ।
९४. न्यायिक समितिको सक्रियता बढाइने छ । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कानूनी सहजकर्ताको व्यवस्था गरी मेलमिलापको कार्यलाई थप व्यवस्थित गरिने छ ।
९५. सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि रु. ८४ लाख ५० हजार विनियोजन गरेको छु ।

वन वातावरण तथा विपद् व्यवस्थापन
९६. सामुदायिक वन उपभोक्ता समिति परिचालन गरी वनजन्य उत्पादनको उपयोग गरिने छ । वातावरणीय स्वच्छता कायम गर्न साझेदारीमा विपन्न परिवार लक्षित धुवाँरहित चुलो वितरण कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९७. आगामी आर्थिक वर्षमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिने छ । विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरी प्रत्येक वडामा १०÷१० जना स्वयंसेवक उत्पादन गरिने छ । विद्यालय र समूदायमा समेत विपद् प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिने छ ।
९८. आपतकालीन कार्यसञ्चालन केन्द्रलाई थप व्यवस्थित गरिने छ । केन्द्रको लागि आवश्यक सामग्री खरिद गरी भण्डारण गरिने छ । विपद् व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्थापन गरिने छ ।
९९. वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको लागि जम्मा रु. ३३ लाख विनियोजन गरेको छु ।

श्रद्धेय नगरसभाका अध्यक्ष महोदय,
१००. अब म माथि उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न विनियोजित बजेट र स्रोतको अनुमान प्रस्तुत गर्दछ ।
१०१. आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६९ करोड ११ लाख ४२ हजार ६ सय विनियोजन गरेको छु । जसमध्ये चालुतर्फ रु. ५२ करोड ४२ हजार ६ सय अर्थात् कुल विनियोजनको ७५.२४ प्रतिशत र पूँजीगततर्फ रु. १७ करोड ११ लाख अर्थात कुल विनियोजनको २४.७६ प्रतिशत रकम विनियोजन गरेको छु ।
१०२. आगामी आर्थिक वर्ष २०८१/८२ को लागि खर्च वेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ११ करोड ४७ लाख, राजश्व बाँडफाँटबाट रु.११ करोड ६३ लाख, सशर्त अनुदानबाट ३५ करोड ८६ लाख, विशेष अनुदानबाट १ करोड ७५ लाख प्राप्त हुने अनुमान गरेको छु । गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. १ करोड ५० लाख २९ हजार, राजश्व बाँडफाँटबाट रु. १ करोड ११ लाख ५२ हजार, विशेष अनुदानबाट रु.
४० लाख, समपुरक अनुदानबाट रु. ६० लाख प्राप्त हुने अनुमान गरेको छु । स्थानीय राजश्व परिचालनबाट आन्तरिक राजश्व रु. २ करोड ४५ लाख प्राप्त हुने अनुमान गरेको छु । साथै, चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन पश्चात् रु. २ करोड १६ लाख ६१ हजार ६ सय बचत हुने अनुमान गरेको छु । यसको विस्तृत विवरण अनुसूची १ मा उल्लेख गरेको छु ।

श्रद्धेय नगरसभाका अध्यक्ष महोदय,
१०३. वर्तमान राजश्व परिचालनको अवस्थालाई दृष्टिगत गर्दा राजश्वको लक्ष्य प्राप्ति गर्न केही चुनौतिपूर्ण अवस्था देखिन्छ । राजश्व शाखाको सुदृढीकरण गर्दै नागरिकलाई कर तथा शुल्क तिर्न प्रोत्साहन गर्ने नीति लिएको छ । कार्यविधि तर्जुमा गरी नगरपालिका भित्रका घरहरुको अभिलेखीकरण गर्ने कार्यलाई व्यवस्थित बनाई अभिलेखीकरण शुल्क र घर बहाल कर असुलीमा उल्लेख्य प्रगति हुने अनुमान गरेको छु ।
१०४. गलकोट नगरपालकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधयेक, २०८१ र नगरपालिकाको सेवा तथा कार्यका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विनियोजन विधयेक, २०८१ यसै साथ प्रस्तुत गरेको छु ।
१०५. प्रस्तुत बजेटको कार्यान्वयनबाट उत्पादन र उत्पादकत्व वृद्धि भई स्थानीय अत्यावश्यक पूर्वाधारको निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छु । स्थानीय सेवा प्रवाहमा नागरिकको पहूँच अभिवृद्धि भई सुशासनको माध्यमबाट समृद्धि तर्फको यात्रामा समानुपातिक समावेशी विकासको जग बस्ने विश्वास लिएको छु ।
अन्त्यमा, बजेट निर्माणको लागि मार्गदर्शन प्रदान गर्नुहुने श्रद्धेय नगर प्रमुख, नगर कार्यपालिकाका सदस्यहरु, विषयगत समितिका सदस्यहरु, नगरसभाका सदस्यहरु, राजश्व परामर्श समिति, राजनीतिक दलका नेतागण, कर्मचारी, शिक्षक, पत्रकार, निजी क्षेत्र, नागरिक समाज, स्थानीय आम नागरिक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । यो बजेट कार्यान्वयन गर्नको लागि सबै पक्षको इमान्दार प्रयास र पर्याप्त सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।
धन्यबाद !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->