स्याङ्जा/डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६ सय १० बहुउपयोगी तथा फलफूलका बिरुवा वितरण गरेको छ ।
वन कार्यालय अन्र्तगतको जिल्लामा रहेका विभिन्न सव–डिभिजन वन कार्यालयहरुबाट बहुउपयोगी तथा डालेघाँसका बिरुवाहरु राइखनियो, निमारो, ईपिलिपि, खयर, फलफुलजन्य कटहर, बडहर, चिउरी, जडीबुटि तथा मसलाजन्य तेजपात, टिमुर, अमला, सित्तलचिनी, कुरिलो लगायतका बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय प्रमुख नवराज बरालले बताए ।
गत असार १६ गतेदेखि अहिलेसम्म कार्यालय तथा मातहतका सव–डिभिजन कार्यालयबाट बिरुवा वितरण गरिएको हो । बाडखोला सव–डिभिजन वन कार्यालयबाट बहुउपयोगी कटहर, बडहर, राईखनियो जातका ६ हजार १ सय २२, जडीबुटिजन्य तेजपात १ हजार ४ सय १६ वितरण गरिएको छ ।
सव–डिभिजन वन कार्यालय पुतलीबजारबाट निमारो, ईपिलिपि, बडहर, राईखनियो १० हजार ७ सय २३, टिमुर, तेजपात, सित्तलचिनि, कुरिलो, अमलाजस्ता बिरुवा ९ हजार ५ सय ७६ विरुवा वितरण गरेको बरालले बताए । त्यस्तै, खयर, इपिलिपि, बडहर, जस्ता विरुवा गल्याङ कालीगण्डकी सव–डिभिजन वन कार्यालयबाट ४ सय ६६ र चिउरी, कुरिलो, टिमुरजस्ता बिरुवा ३ सय ६ वटा बिरुवा वितरण गरेको छ ।
पछिल्लो समय विभिन्न राजमार्ग तथा सडक छेउछाउ हराभरा बनाउन समेत डिभिजन वन कार्यालयबाट बिरुवा लैजाने क्रम बढेको छ । त्यस्तै, विद्यालय परिसर र कार्यालय परिसरमा समेत जडीबुटिजन्य बिरुवा लगाउने क्रम बढेको छ ।
त्यस्तै, विभिन्न कृषक समुह, वडा तथा पालिका, संघसंस्था, आमा समुह÷क्लबहरुले समेत वन कार्यालयबाट बिरुवा लगेका छन् । समुहबाहेक व्यक्तिगत र कृषि तथा पशुपालन गरेका कृषकहरुले पनि घाँसका बिरुवाहरु कार्यालयमा माग गरेर लैजाने गरेका छन् ।




